धादिङको बेनीघाटका दुई विद्यालयका बालबालिकालाई नेपाल टेलिकमद्वारा झोला वितरण 

धादिङको बेनीघाटका दुई विद्यालयका बालबालिकालाई नेपाल टेलिकमद्वारा झोला वितरण 

धादिङ– धादिङको बेनीघाट रोराङ गाउँपालिकाका दुई विद्यालयका बालबालिकाहरूलाई शैक्षिक सामग्री वितरण गरिएको छ। नेपाल टेलिकमले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत धादिङका दुई विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक सामग्री स्वरूप विद्यालय झोला वितरण गरेको हो।

बेनीघाट रोराङ गाउँपालिका- ३ मा अवस्थित ओरबाङ आधारभूत विद्यालयका ७२ जना विद्यार्थीहरू र वडा नम्बर ५ मा अवस्थित चन्द्रोदय माध्यमिक विद्यालयका ४८ जना विद्यार्थीहरुलाई विद्यालय झोला वितरण गरिएको हो।

विद्यार्थीहरूलाई शैक्षिक सामग्री स्वरूप झोला वितरण गरिएपछि दुवै विद्यालयका प्रधानाध्यापकहरूले खुसी व्यक्त गरेका छन् । ओरबाङ आधारभूत विद्यालयका प्रधानाध्यापक राममाया थापा र चन्द्रोदय माध्यमिक विद्यालयका प्रधानाध्यापक सत्यधर कँडेलले यो सहयोगले विद्यार्थीहरूको पठनपाठन र शैक्षिक सुधारमा सहयोग पुग्ने बताएका छन्।

त्यसैगरी, नेपाल टेलिकमका प्रबन्धक सुरेन्द्रप्रसाद शाहले झोला वितरण गर्दै विद्यार्थीहरूको सुनौलो भविष्यको शुभकामना दिएका छन्। नेपाल टेलिकम सरकारी स्वामित्वको संस्था भएकोले नाफा कमाउन मात्र नभएर सामाजिक सेवामा पनि टेलिकम सधैं प्रतिबद्ध रहेको बताए । ‘दूरदराजमा रहेका विद्यालयहरूमा अध्ययनरत बालबालिकाहरूका लागि शैक्षिक सामग्री वितरण गर्न पाउँदा खुसी लागेको छ। ग्रामीण क्षेत्रमा शिक्षाको पहुँच र गुणस्तर सुधारमा सहयोग पुग्ने अपेक्षा छ’ उनले भने ।

नेपाल टेलिकमले यसअघि पनि देशका विभिन्न भागमा स्वास्थ्य, शिक्षा र वातावरण संरक्षणका क्षेत्रमा सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। धादिङमा पनि विभिन्न खालका कार्यक्रम गर्दै आएको नेपाल टेलिकम धादिङका प्रमुख विकास महर्जनले बताए । दक्षिणी धादिङको बेनीघाटका विभिन्न बस्तीहरुमा सीमान्तकृत समुदायको बसोबास रहेको र उहाँहरूको लागि यो सानो सहयोगले ठूलो अर्थ राख्ने हुँदा बेनीघाटका बालबालिकाहरुलाई सहयोग गरिएको उनले बताए।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

खोजी गर्नुहोस

ताजा अपडेट