रेडियो बाजेको रेडियो प्रेम

रेडियो बाजेको रेडियो प्रेम

काठमाडौं– जस्ताको छानो, बासले बेरिएको गाइगोठ । गोठको आडैमा चुलो । कहिले एक हल गोरुसँगै डाँडा पाखा घुम्छन्, त कहिले डोको थुन्से बुनेर दैनिकी गुजारिरहेका छन् । तर गाउँ पुगोस् या बेशी अनि भन्ञ्याङ चौतारी । थुन्चे बुन्दै गर्दा होस् या गोठालो जादा धुनीबेशी नगरपालिका–७ का कृष्ण बहादुर तामाङको साथमा सधै रेडियो गुञ्जिरहेको हुन्छ ।

गाउँमा रेडियो बाजेको उपनामले चिनिने तामाङ भन्छन्– ‘जग्गा किन्न छाडेर रेडियो किनेँ । रेडियो मेरो साथी बनेको छ । अहिले म रेडियोसँगै हाँस्छु, रेडियोसँगै रुन्छु ।’
पैसा कमाउने कहरले शहर छिरेका उनी रहरले रेडियो किनेर गाउँ फर्केको बताउँछन् । अरुको घर तथा होटलमा रेडियो बजेको देख्दा रेडियो किन्ने उग्र चाहना जाग्यो । उनले भने– ‘२०२८ सालमा पहिलो पटक २ सय २५ रुपियाँ तिरेर रेडियो किनेँ । त्यतिखेर ज्याला मजदुरी गर्दा प्रतिदिन ५ रुपियाँ कमाए हुन्थ्यो । रेडियो किन्न मैले लामो समय खर्चिएको छु । रेडियो किनेको पैसाले गाउँठाउँमा धेरैनै जग्गा जमिन आउथ्यो । जग्गा किनेको भए अहिले करोडपति हुने रहेछु । रेडियो किनेँ, देश विदेशको खवर जान्न पाएको छु । रेडियो मेरो सुखदुखको साथी बनेको छ ।’

रोजी रोटीका लागि काठमाडौमा पाँच वर्ष मात्र होइन । उनी काँकडभित्ता, धरान, जनकपुर, मिर्चे लगायतका ठाउँहरु पुगे । तर ३० वर्षदेखि उनी गाउँमै छन् । जहाँ पुगेपनि उनको साथमा रेडियो छुटेको छैन । उनी भन्छन्– ‘अहिलेसम्म दर्जन भन्दा बढी रेडियो किनेँ होला । पछिल्लो समय धार्केमा सात सयमा किनेको रेडियो यहि हो ।’ रेडियो देखाउदै उनले भने ।’

‘विहान उठेदेखि नसुतुन्जेल रेडियो सुन्छु । हिउँदमा प्रति महिना एकजोर व्याट्रीले पुग्छ । तर वर्खामा अलि बढी लाग्छ । एक जोरकै ८० रुपियाँ पर्छ । डोको धुन्से बेचेको पैसाले व्याट्रीको जोहो गर्ने गरेको छु’ उनले भने ।

६४ वर्षिय तामाङको घरमा श्रीमती, छोरा बुहारीहरु पनि छन् । तर उनी प्रायः घर भन्दा अलि तल गोठमा एक्लै बस्छन् । जाँगर चलेको बेला घर पनि जान्छन् । उनी भन्छन् –‘एक्लै हुदा बोल्ने साथी हुदैन । रेडियो सधै मैसँग हुन्छ । रेडियो कार्यक्रम र समाचारले आफ्नै कुरा बोले जस्तै लाग्छ । धेरैले आफ्ना पिडाहरु सुनाउँछन् । उनीहरुले रेडियोमा रुदै आफ्नो पिडा भनिरहदा कति खेर आँखाबाट आँसु खस्छ पत्तै हुदैन । खुव चित्त दुख्छ । मान्छेहरुलाई कति दुःख पिडा छ । आफुलाई त आनन्दै छ जस्तो लाग्छ । फेरी कतिले खुषी सुनाउँछन् । गित गाउँछन्, रमाइलो गर्छन् । अनि रेडियोसँगै म आफु पनि रमाइरहेको हुन्छु । म त रेडियोसँगै हाँस्छु, रुन्छु अनि रेडियोसँगै बाँचेको छु ।’

‘प्रविधिले फड्को मारेपनि दुर्गम बस्तिको छाप्रोमा सुचना दिने रेडियो नै हो । रेडियो सुचना लिने सहज र सुलभ माध्यम हो । मैले २०४६ सालको जनआन्दोलन, माओवादी शसस्त्र द्धन्द्ध, दरवार हत्याकाण्ड, देशमा विभिन्न समयमा भैरहेका निर्वाचन जस्ता महत्वपूर्ण सुचना रेडियोबाटै जानकारी पाए’ उनले भने ।
‘गाउँलेले पहिले त यो बुढा कति रेडियो सुन्छ भन्थे । के गर्नु पत्रपत्रिका गाउँसम्म आइ पुग्दैन । गाउँमा टेलिभिजनको पहुँच छैन । महंगो मोवाइल किन्ने हाम्रो क्षमता छैन’ उनले भने– ‘मेरो सूचनाको श्रोत रेडियो नै हो । रेडियो नेपाल हुदै रेडियो धादिङ लगायत थुप्रै रेडियोहरु सुन्छु । अहिले त कति हो कति रेडियो पनि भनिसाध्य छैन । जे भएपनि हामी जस्तो गाउँलेहरुले सुचना पाएका छौं ।’

कृष्ण बहादुर तामाङ त एउटा उदाहरणको प्रतिविम्व मात्र हुन् । यस्ता लाखौं श्रोताहरु छन् जसले रेडियो सुनेरै जीन्दगी विताए । रेडियोलाई हिजो पनि माया गरे, आज पनि उत्तिकै प्यारो मानेका छन् । जीवनमा धेरै उतारचढावहरु आए होलान् । तर उनीहरुको जीवनमा रेडियोप्रतिको प्रेम सदावहार उस्तै दम्दारिलो बनिरह्यो । आज विश्व रेडियो दिवस । कुना कन्दरामा बसेर जीन्दगीभर रेडियोलाई मायाँ गर्ने यस्ता अनगिन्ति श्रोताहरुले रेडियो दिवसको महत्व बुझेर मनाउन सकुन् । रेडियो र रेडियोकर्मीहरुले गहनारुपी श्रोताहरुलाई सम्झिरहन सकुन् । विश्व रेडियो दिवसको शुभकामना …… ।।

 

लेखकको बारेमा

  • ,

    स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    खोजी गर्नुहोस

    ताजा अपडेट