





























काठमाडौं– धादिङ जिल्लाबाट पत्रकारिता सुरु गर्ने पाँच जना संस्थापक पत्रकारहरु सम्मानित भएका छन् । नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङले संस्थापक पदाधिकारी तथा सदस्यहरुलाई २४औं साधारणसभाको अवसर पारेर सम्मान गरेको हो ।

सम्मानित हुनेहरुमा तत्कालिन उपसभापति बासु तिमल्सिना, कोषाध्यक्ष लक्ष्मी कट्टेल, सदस्यहरु मोहन कुमार श्रेष्ठ, नबिनबन्धु पहाडी र उत्तम कँडेल रहेका छन् ।

२०५३ साल पुषदेखि धादिङ जिल्लामा पत्रकारहरु संगठित भई पत्रकार संघ गठन भएको थियो । जिल्लामा व्यावसायिक पत्रकारिताको जग बसाल्न र श्रमजीवी पत्रकारहरूको हकहितका लागि सुरुवाती दिनमा संघर्ष गर्ने अग्रजहरूको योगदानलाई कदर गर्दै सम्मान गरिएको महासंघ धादिङका अध्यक्ष सीताराम अधिकारीले बताए ।

विगतमा अग्रजहरूले गरेको त्याग र समर्पणको संस्मरण गर्दै पुराना पुस्ताको अनुभव र योगदानलाई सम्मान गर्दा नयाँ पुस्तामा आफ्नो पेशा र महासंघप्रति थप गौरवबोध हुने विश्वास रहेको उनले बताए । सम्मानित भएका संस्थापक उपसभापति बासु तिमल्सिनाले स्रोत र साधनको अभावका बीच विगतका कठिन दिनहरूमा पनि जिल्लामा पत्रकारिताको जग बसाल्न आफूहरूले गरेको संघर्षको स्मरण गर्दै पत्रकारिता आचारसंहिता, मूल्य मान्यतामा आधारित पत्रकारिता गर्न अनुरोध गरे।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष नितु पण्डितले अग्रजहरुको सम्मानले धादिङको पत्रकारिता इतिहासमा नयाँ आयाम ल्याएको बताइन् । ‘लोकतन्त्र र पत्रकारिता एक अर्काविच अनुन्याश्रित सम्बन्ध छ । निजी र सरकारी भन्दा पनि स्वतन्त्र पत्रकारिता हुनु पर्छ ।

सरकारले मिडिया मैत्री नीति ल्याउन आवश्यक छ । हामी खुल्ला नितिको पक्षमा छौं’ उनले भनिन् । त्यस्तै, कोषाध्यष रामकृष्ण अधिकारी पत्रकार आचारसंहिताको पूर्ण पालना गरी पत्रकारिता गरे । स्वर्गीय पत्रकार शाहको शालिक अनावरण महासंघले साधारणसभाकै अवसरमा धादिङका अग्रज स्वर्गीय पत्रकार राजेन्द्रप्रताप शाहको शालिक अनावरण गरेको छ । नेपाल पत्रकार महासंघ धादिङले महासंघका संस्थापक सचिव एवं पूर्व अध्यक्ष समेत रहेका शाहको अर्धकद शालिक अनावरण गरेको हो ।

विक्रम सम्बत २०१८ बैशाखमा धादिङको ज्वालामुखी गाउँपालिका–३, साविकको मैदीमा जन्मिएका शाहले गोरखापत्र, कान्तिपुर दैनिक, हिमालय टाइम्स लगाएतका विभिन्न छापामा काम गरेका थिए । धादिङकै पहिलो फोटो पत्रकारको रुपमा समेत चिनिने पत्रकार शाह पछिल्लो समय पिजन खबर डटकमको प्रवन्ध निर्देशकको रुपममा कार्यरत थिए । पत्रकार राजेन्द्रप्रताप शाहको २०७८ चैत २ गते राती निधन भएको थियो ।
शालिक अनावरणपछि भएको कार्यक्रमलाई सम्बोधन गर्दै धादिङ क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद बोध नारायण श्रेष्ठले स्वर्गीय पत्रकार शाहको विगतबारे स्मरण गर्दै पत्रकारिता क्षेत्रमा पुर्याएको योगदानको चर्चा गरे ।

यस अघि महासंघका संस्थापक अध्यक्ष स्वर्गीय सीताराम प्रसाद वर्माको शालिक अनावरण गरि सकिएको थियो । वर्माकै शालिक भएको स्थानमा शाहको शालिक थप गरिएको हो ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप
