धादिङ- धादिङका बाढी प्रभावितलाई दसैँ विशेष सामाग्री वितरण गरिएको छ । श्री नेपाल सेन्ट जोसेफ क्लुनी सोसाइटीको सहयोग तथा प्रयास नेपाल, धादिङको सहकार्यमा रातमाटे र गलौंदी होल्डिङ सेन्टरमा रहेका ८३ परिवारलाई दसैँ विशेष सामाग्री वितरण गरिएको हो ।


दसैँ पर्वलाई खुसी र आत्मीयताका साथ मनाउन सहयोग पुगोस् भन्ने उद्देश्यले प्रति परिवार करिब १० हजार रुपैयाँ बराबरको खसीको मासु, तेल, मसला, प्याज, सागसब्जी र चिउरा लगायत खाद्य सामग्री उपलब्ध गराइएको प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्यालले बताए ।
विपद्का कारण प्रभावित भएका परिवारले पनि दसैँजस्तो महान् चाडमा खुसी, सम्मान र आत्मीयताको अनुभूति गर्न सकून् भन्ने उद्देश्यले सहयोग प्रदान गरिएको प्रयास नेपाल,फिल्ड संयोजक ईश्वरी काईरालाले जानकारी दिइन् । वडा अध्यक्ष गोविन्द लामिछानेको रोहबरमा श्री नेपाल सेन्ट जोसेफ क्लुनी सोसाइटीका सिस्टरहरू, प्रयास नेपाल, धादिङका कार्यकारी निर्देशक दामोदर अर्याल तथा अध्यक्ष वीरबहादुर श्रेष्ठले यस्ता सहयोगले प्रभावितलाई दशैंमा सहजता हुने बताएका छन् ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप
