धादिङ– धादिङ क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद बोध नारायण श्रेष्ठले प्रयोग गर्ने सवारीसाधन धादिङबेसीको विचबजार चोकमा रहेको जेब्रा क्रसिङमै पार्किङ गरिएको पाइएको छ ।


बागमती प्रदेश विएवि १३९३ नम्बरको सांसद श्रेष्ठले प्रयोग गर्ने सवारी साधन मंगलबार बिहान जेब्रा क्रसिङमा पार्किङ गरिएको हो । पैदलयात्रुले बाटो काट्न प्रयोग गर्ने जेब्रा क्रसिङमै सांसदको सवारी पार्किङ गरिएपछि स्थानीयले व्यङ्ग्य गरेका छन् ।
सांसदकै सवारीसाधनले ट्राफिक नियम उल्लङ्घन गरेपछि स्थानीयले ‘नियम र कानुन सर्वसाधारणका लागि मात्रै रहेछन्, कानुन बनाउने र ठूला नेताहरूलाई भने लागू नहुने रहेछ’ भन्दै टिप्पणी गरेका हुन् ।
सोमबार बिहान झिगु नेवाः समाज धादिङले आयोजना गरेको नेपाल संवत् तथा दीपावलीको शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी हुन सांसद श्रेष्ठ धादिङ आएका थिए । सोही क्रममा उनको सवारीसाधन बजार चोकको जेब्रा क्रसिङमा पार्किङ गरिएको थियो ।
श्रेष्ठ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचित धादिङ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य हुन्।

