धादिङका ५८ विस्थापित परिवारलाई होल्डिङ सेन्टरमा व्यवस्थापन

धादिङका ५८ विस्थापित परिवारलाई होल्डिङ सेन्टरमा व्यवस्थापन

धादिङ- बुढीगण्डकी नदीमा आएको बाढीले धादिङ र गोरखा जोड्ने पक्की पुल बगाउनुका साथै धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–२ आरुघाटस्थित स्याउलीबजारको सुकुम्बासी बस्ती नै बगाएको छ । बस्तीका ५८ परिवारका घरटहरा बगाएपछि उनीहरू विस्थापित भएका छन् ।

Advertisement

बाढीले बस्तीको नामनिसान नै नरहने गरी घरटहरा बगाएको त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष राजु उप्रेतीले बताए । ‘विस्थापित परिवारलाई चुलीदेवी माध्यमिक विद्यालयमा होल्डिङ सेन्टर बनाएर राखिएको छ’ उनले भने– ‘गाउँपालिकाले विहानैदेखि होल्डिङ सेन्टरमा खानाखाजाको व्यवस्था गरेको छ । छिमेकीले खाना पकाउन र खुवाउन सहयोग गरेका छन् । विभिन्न संघसंस्थाको सहयोगमा खाद्यान्न तथा लत्ताकपडाको व्यवस्थापन भइरहेको छ ।’

तत्कालका लागि प्रभावित परिवारको खानपिन र बसोबासको व्यवस्था मिलाइएपनि बस्ती नै बगाएकाले दीर्घकालीन पुनःस्थापनाका लागि छलफल गरेर विकल्प खोजिने उनले बताए । ‘बाढीले बस्तीसँगै त्रिपुरासुन्दरी गाउँपालिकास्थित नृसिंहधाममा समेत क्षति पु¥याएको छ । गत जेठमा निर्माण गरिएको हवनकुण्ड बगाएको छ भने मन्दिर आसपास कटान गरेको छ । बाढीले ल्याएको लेदो जमेको र अर्को क्षेत्रमा पहिरो गएपछि आश्रमस्थलसमेत जोखिममा परेको छ’ उनले भने ।

कम्मल, त्रिपाल, म्याट, झुल, हाइजिन किट, डोरी, बाल्टी, मग लगायत गैर खाद्य सामाग्रीहरु वितरण गरिएको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा धादिङका सभापति दुर्लभकुमार तामाङले बताए । ‘तत्कालका लागि गैर खाद्य सामाग्री वितरण गरिएको छ । आवश्यकताको आधारमा थप सामाग्री वितरण गर्छौं’ उनले भने ।

बाढी प्रभावित परिवारको तत्कालीन व्यवस्थापन भएपनि दीर्घकालीन पुर्नस्थापना तथा व्यवस्थापनका लागि अध्ययन र छलफल गरेर आवश्यक कदम चालिने धादिङकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय (गौतम)ले बताएकी छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

खोजी गर्नुहोस

ताजा अपडेट