धादिङ- धादिङको खनियाबास गाउँपालिकामा विहीबारदेखि सुरक्षा र शिक्षा परियोजना सुरु गरिएको छ । विद्यालय तथा समुदाय स्तरमा मानव बेचबिखन, लैङ्गिक हिंसा र बाल विवाहविरुद्ध सामुदायिक सचेतना तथा पैरवी गर्ने उद्देश्यले परियोजना सुरु गरिएको हो ।


विहीबार एक कार्यक्रमको आयोजना गरि सरोकारवालाहरूसँग समन्वय, परिचयात्मक तथा अन्तरक्रिया गरिएको छ । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत नारी संरक्षण केन्द्रको आयोजना, फ्रेन्ड्स अफ डब्लु.पी.सी. नेपालको सहयोग तथा सामाजिक विकास मन्त्रालय र खनियाबास गाउँपालिकाको समन्वयमा अन्तरक्रिया कार्यक्रम गरिएको हो ।
राष्ट्रिय नारा ‘लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यबद्धताः पीडितको संरक्षण, दण्डहीनताको अन्त्य र न्यायको सुनिश्चितता’ र अन्तर्राष्ट्रिय नारा ‘UNITE to End Violence Against Women and GirlsM Ensure justice, protect survivors, end impunity’ सहित मानव बेचबिखन र हिंसामुक्त मर्यादित समाजको परिकल्पनालाई अगाडि सारेको छ ।
कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत, वडाअध्यक्षहरू, सामाजिक विकास शाखाका अधिकृत, प्रहरी चौकीका प्रतिनिधि, विद्यालयका प्रधानाध्यापकहरू, महिला सदस्य, स्वास्थ्य संस्था, न्यायिक सहजकर्ता तथा युवा समाजका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । सहभागी सरोकारवालाहरूले खनियाबास गाउँपालिकाभित्रका विद्यालय र समुदाय स्तरमा मानव बेचबिखन, लैङ्गिक हिंसा तथा बाल विवाह न्यूनीकरणका लागि आगामी दिनमा समन्वय र सहकार्य गरी सचेतनामूलक कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाउने विषयमा छलफल गरेका थिए ।
सुरक्षा र शिक्षा परियोजनाले खनियाबास गाउँपालिकाभित्र रहेका महिला, बालबालिकाहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने छन् । सामुदायिक सचेतना तथा पैरवी अन्तर्गत विद्यालय तथा समुदाय स्तरमा मानव बेचबिखन, लैङ्गिक हिंसा र बाल विवाहविरुद्ध कार्यक्रमहरु सञ्चालन हुने नारी संरक्षण केन्द्रका कार्यकारी निर्देशक जेरोम घलेले बताए । ‘हामीले खनियाबास गाउँपालिकामा बेस लाइन सर्वे गर्यौं । आवश्यकताको आधारमा परियोजना सञ्चालन गरिएको हो । पालिकाभित्रका सवालहरु उठ्ठान तथा समाधानमा सहयोग पुग्ने अपेक्षा गरिएको छ’ उनले भने ।
महिला बालबालिका क्षेत्रमा काम गर्ने यो परियोजना प्रभावकारी बन्ने अपेक्षा गरिएको खनियाबास गाउँपालिकाका उपाध्यक्ष सेक्केमान तामाङले बताए । ‘ हिंसामुक्त खनियाँबास बनाउन अभियान सञ्चालन गर्दैछौं । यो परियोजनाले खनियाबास गाउँपालिकाको विकास, समृद्धि तथा सामाजिक सवाल उठ्ठान तथा समाधानमा सहयोग पुग्नेछ । गाउँपालिका सकरात्मक छ’ उनले भने ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप
