धादिङ- गत भदौ १० गतेको भोटेकोसी बाढीमा आफन्त गुमाएका परिवारलाई दिपा फाउन्डेसन नेदरल्यान्ड्सले घरमै पुगेर आर्थिक सहयोग गरेको छ । धादिङको नीलकण्ठ नगरपालिकाभित्रका बाढी प्रभावित परिवारलाई भेटेरै फाउन्डेसनको टोलीले परिवार सहायता कोष (रिलिफ फन्ड) मार्फत सहयोग रकम हस्तान्तरण गरेको हो ।


नीलकण्ठ नगरपालिका–८ का कृष्ण लम्सालले बाढीमा बुबाआमा गुमाएका चार जना बालबालिकाको अभिभावकीय जिम्मेवारी सम्हाल्दै आएका छन् । बाढीमा रामशरण लम्साल, जानुका लम्साल, प्रकाश लम्साल र इन्दिरा लम्सालको ज्यान गुमेपछि उनीहरुको छोराछोरीको हेरचाह तथा पालनपोषणको जिम्मेवारी उनको काँधमा छ ।
‘बुबाआमा बाढीमा ज्यान गुमाएपछि मेरो काँधमा जिम्मेवारी आयो । बालबालिकाको लालनपालन र शिक्षादीक्षामा अभाव नहोस् भनेर त्यहीअनुसार काम गरिरहेको छु,’ उनले भने– ‘अहिले डेढ लाख रुपैयाँ सहयोग प्राप्त भएको छ । सहयोगी मनहरूको साथले यी बालबालिकाको भविष्य उज्ज्वल बनाउन मद्दत पुग्नेछ ।’
त्यस्तै, नीलकण्ठ नगरपालिका–४ का सुरेश राना मगरले पनि भोटेकोसी बाढीमा ज्यान गुमाए । हाल उनकी श्रीमती सजिना राना मगरले तीन जना छोराछोरीको लालनपालन, शिक्षा र घरपरिवारको जिम्मेवारी सम्हालिरहेकी छन् । आर्थिक कठिनाइका बीच बालबालिकाको भविष्य कसरी सुरक्षित गर्ने भन्ने चिन्तामा रहेकी सजिनाले एक लाख रुपैयाँ सहयोग प्राप्त गरेपछि राहत महसुस गरेकी छन् ।
‘यो विपद्मा सम्झेर मलाई एक लाख रुपैयाँ दिनुभयो । दिपा फाउन्डेसनलाई धन्यवाद । आगामी दिनमा पनि छोराछोरीको पढाइका लागि सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ,’ उनले भनिन्, ‘दुःखमा मलम लगाएजस्तै भएको छ ।’
नीलकण्ठ नगरपालिका–१३ का कर्णबहादुर गुरुङले पनि भोटेकोसी बाढीमा आफन्त गुमाएका छन् । उनकी श्रीमती शान्ता माया घलेले बालबालिकाको पालनपोषण र परिवार सञ्चालनमा कठिनाइ भइरहेको बताइन् । फाउन्डेसनबाट एक लाख रुपैयाँ सहयोग पाएपछि भने बालबालिकाको भविष्यप्रति केही आशा पलाएको उनको भनाइ छ । ‘बालबच्चाको लालनपालन र शिक्षामा खर्च गर्छु । निकै समस्यामा रहेका बेला यो सहयोगले ठूलो काम गर्नेछ,’ उनले भनिन् ।
दस वर्षदेखि निरन्तर सामाजिक क्षेत्रमा काम गर्दै आएको दिपा फाउन्डेसनको टोलीले बाढीबाट प्रभावित आफन्तका परिवारलाई भेटेर तत्कालीन राहतसँगै बालबालिकाको शिक्षामा सहयोग गर्ने उद्देश्यले रकम वितरण गरेको हो । टोलीमा फाउन्डेसनका प्रमुख कार्यकारी अधिकृत एर्विन होभेन्स, बोर्ड सदस्य जोलान्डा होभेन्स ग्लाभिमान्स, सचिव रोबर्ट स्टिग र स्वयंसेवक लुक स्टिग सहभागी छन् ।
बाढीमा बुबाआमा गुमाएका बालबालिकाको संरक्षण र शिक्षामा सहयोग पु¥याउने उद्देश्यले फाउन्डेसनले प्रभावित परिवारलाई प्रत्यक्ष भेटेर सहयोग गरेको फाउन्डेसनका प्रमुख कार्यकारी अधिकृत एर्विन होभेन्सले बताए । ‘विपन्न, अपाङ्गता भएका तथा विपद्बाट प्रभावित समुदायलाई लक्षित गरी नेपालमा विभिन्न सामाजिक काम तथा शिक्षा, स्वास्थ्य र जीविकोपार्जनका क्षेत्रमा सहयोग गर्दै आएका छौँ । आगामी दिनमा पनि नेपालमा सामाजिक कामलाई निरन्तरता दिनेछौं’ उनले भने– ‘हामीले शिक्षा, स्वास्थ्य र आयआर्जनका स्रोत वृद्धि गर्ने क्षेत्रमा काम गरिरहेका छौँ । घर निर्माण तथा मर्मत, विद्युत् सुविधा नपुगेका ठाउँमा बत्तीको व्यवस्था गर्नेलगायतका काम पनि गर्दै आएका छौँ ।’
नीलकण्ठ नगरपालिकाको समन्वयमा नगरपालिका–१२ का वडाध्यक्ष एवं नेपाली कांग्रेसका नगर सभापति धर्मराज भण्डारी (राजकुमार), वडा सदस्य, नगरपालिकाको न्यायिक समिति सदस्य तथा पूर्वपर्यटन व्यवसायी गोविन्द सापकोटाको पहलमा प्रभावित परिवारको घरमै पुगेर सहयोग हस्तान्तरण गरिएको हो ।
विपद्मा परेर आफन्त गुमाएकाहरुलाई थोरै भएपनि राहत मिल्ने उद्देश्ले सहयोगका लागि पहल गरिएको नीलकण्ठ नगरपालिका–१२ का वडाध्यक्ष एवं नेपाली कांग्रेसका नगर सभापति धर्मराज भण्डारी (राजकुमार)ले बताए । ‘हामी जनताकै सेवक हौं । कतिपय कामहरु नगरपालिका र आफ्नै श्रोत तथा क्षमताले गर्न सकिदैन । समन्वय र सहकार्यबाट रिलिफ फण्ड वितरण गरिएको छ । प्रभावितहरुको पिडा र दुःखमा थोरै भएपनि सहयोग मिलेको अपेक्षा गरेका छौं’ उनले भने ।
बाढीमा अभिभावक गुमाएका बालबालिकालाई राहत पुग्ने उद्देश्यले घरमै पुगेर आवश्यकताको आधारमा राहत रकम वितरण गरिएको वडा सदस्य, नगरपालिकाको न्यायिक समिति सदस्य तथा पूर्वपर्यटन व्यवसायी गोविन्द सापकोटाले बताए । ‘नगरपालिका भित्र नगरपालिकाको समन्वयमा लामो समयदेखि सामाजिक क्षेत्रमा काम गरिरहेका छौं । यस्तै कामहरु निरन्तर रुपमा गर्नेछौं’ उनले भने ।
दिपा फाउन्डेसन नेदरल्यान्ड्सको टोलीले भोटेकोसी बाढीमा आफन्त गुमाएका परिवारलाई मंगलबारदेखि घरमै पुगेर भेट्न थालेको हो । प्रभावित परिवारको वास्तविक अवस्था बुझेर आवश्यकता पहिचान गर्ने र बालबालिकाको शिक्षा तथा पालनपोषणमा सहयोग पु¥याउने उद्देश्यले घरदैलोमै पुगेर आर्थिक सहायता उपलब्ध गराइएको फाउन्डेसनले जनाएको छ ।

