काठमाडौं– नेपालीहरुको महान् पर्व बडादशैंको आज मूख्य दिन विजया दशमी मनाइँदै छ । आज मान्यजनबाट देवीको प्रसादका रूपमा टीका, जमरा र आशीर्वाद ग्रहण गरिँदै छ ।


नेपाल पञ्चांग निर्णायक विकास समितिका अनुसार यस वर्ष दशैंको टीकाको उत्तम साइत बिहान १० बजेर २६ मिनेटमा रहेको छ । विजया दशमीका दिन दिनभर टीका लगाउन सकिने भए पनि साइतमै टीका लगाउन चाहनेहरूका लागि बिहान १०ः२६ बजेको समय तोकिएको हो । समितिले देवी विसर्जनको साइत बिहान ८ बजेर ४९ मिनेटमा निर्धारण गरेको छ ।
साइतमा टीका लगाउँदा टीका लगाइदिने मान्यजन पूर्वतर्फ र टीका थाप्ने व्यक्ति पश्चिमतर्फ फर्कनुपर्ने छ । दशैंमा नवदुर्गा भवानीको पूजा–आराधना गरी देवीको प्रसादका रूपमा टीका र जमरा ग्रहण गर्ने परम्परा छ । यस अवसरमा परिवारका सदस्य तथा आफन्तजन एकै ठाउँमा भेला भई मान्यजनबाट आशीर्वाद लिने गर्छन् ।
नेपालीहरूको महान् पर्व बडादसैँ धार्मिक, सांस्कृतिक तथा सामाजिक महत्व बोकेको पर्व हो । असत्यमाथि सत्य र अन्यायमाथि न्यायको विजयको प्रतीकका रूपमा मनाइने यस पर्वले पारिवारिक एकता, आपसी सद्भाव र मेलमिलापको सन्देश दिन्छ ।
घटस्थापनादेखि सुरु हुने दसैँको मुख्य दिन विजयादशमीमा मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गरिन्छ । रोजगारी, अध्ययन तथा विभिन्न पेसा–व्यवसायका सिलसिलामा घरबाट टाढा रहेका नेपालीहरू आफ्नो थातथलो फर्किने भएकाले दसैँलाई पारिवारिक पुनर्मिलनको पर्वका रूपमा समेत लिइन्छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप
