धादिङ- दशैंमा सबैलाई घर फर्किने हतारो छ । तर, धादिङका बाढी प्रभावितको फर्किने घर नै रहेन । बुढीगण्डकीको बाढीले घर मात्रै बगाएन, वर्षौंको दुःख, पसिना र जीवनभरको कमाइसमेत बगायो । न ओत लाग्ने छानो बाँकी रह्यो, न भोलिको भर । बाढीमा भागेर ज्यान बचाएका उनीहरु गाउँपालिकाले सञ्चालन गरेको होल्डिङ सेन्टरमा छन् । दशैंको मुखमा उनीहरूको मनमा एउटै प्रश्न छ—दशैंमा बुढीगण्डकी बाढी दशा बनेर आयो । अब गाँस, बास र कपाससँगै जीवन धान्ने चिन्ता छ?


गते बुढीगण्डकी नदीमा आएको बाढीले धादिङ र गोरखा जोड्ने पक्की पुल बगाउनुका साथै त्रिपुरासुन्दरी गाउँपालिका–२ सेउलीबजारका ५८ परिवारलाई विस्थापित भए । अरूका घरमा दशैंको रौनक छाइरहँदा यी परिवारको भने आफ्नै उजाडिएको संसारले आँसु थामिएका छैनन् । उनीहरूका लागि यसपालि दशैं खुसीको पर्व होइन, घरबार गुमाएको पीडा र अनिश्चित भविष्य दशा बनेर आयो ।
बाढीबाट प्रभावित ५८ परिवारलाई धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाले होल्डिङ सेन्टरमा व्यवस्थापन गरेको छ । तर घर विनाको दशैं रङ उडेको कपडा जस्तै बनेको छ । धनमायाँ घले भन्छिन्,– ‘विगतका दशैं सम्झिँदा अहिले झन् पीडा हुन्छ । पहिले आफन्त र परिवारका सदस्य भेला भएर रमाइलो गरिन्थ्यो । घरमा चाडपर्वको रौनक हुन्थ्यो । यसपालि भने बाढीले घरसँगै दशैंको खुसी पनि बगायो ।’
‘ठ्याक्कै दशैंको बेला बाढी आयो । भोटेकोशीको बाढी बिर्सन सकेकी थिइनँ, अहिले आफैंले भोग्नुप¥यो । दशैं दशा बनेर आयो,’ उनले भनिन्, ‘पकाउने भाँडादेखि ओड्ने–ओछ्याउने र लगाउने कपडासम्म केही बाँकी रहेन । जीवनभरको कमाइ बगायो । सम्झिँदा पनि भक्कानिएर रुन मन लाग्छ ।’
घले समुदायमा दशैंको छुट्टै रौनक हुने गरेको उनी सम्झिन्छिन् । आफन्त भेला हुने, टीकाटाला गर्ने र रमाइलो गर्ने दिन अब विगतको सम्झनामा सीमित भएका छन् । ‘हामी घले हौं । पहिले भेडा ल्याउँथ्यौं, दशैंमा बेस्सरी रमाइलो गरिन्थ्यो । यसपालि न घर छ, न दशैंको रौनक,’ उनले भनिन्, ‘एक पेट खान र टाउको लुकाउने ठाउँ पाए त्यही नै दशैंभन्दा ठूलो कुरा हुन्थ्यो ।’
मायाँ गुरुङको पीडा पनि फरक छैन । बाढीले घरसँगै खसीबोका, बुङ्गुर र घरभित्रका सबै सामग्री बगाएको उनी बताउँछिन् । विस्थापित भएपछि कहाँ जाने र कसरी जीवन चलाउने भन्ने अन्योल छ । ‘जानीजानी मर्न त भएन, तर बाँच्ने बाटो पनि देखिएन,’ उनले भनिन्, ‘पहिले दशैंमा सबै भेटघाट हुन्थ्यो, टीकाटाला लगाएर रमाइलो गरिन्थ्यो । अहिले कहाँ बस्ने, कहाँ सुत्ने भन्ने ठेगान छैन । अब त दशैंभन्दा पनि बस्ने र खानेकै चिन्ता छ।’
मायाँका लागि पुरानो बस्तीमा फर्किनु पनि सहज छैन । बाढीले बस्तीमा थुपारेको लेदो मात्रै छ । वर्षौंदेखि बस्दै आएको ठाउँमा फेरि घर बनाएर बस्न सकिने अवस्था नरहेको उनी बताउँछिन् ।

बेगबहादुर घले साथीहरूले फोन गरेर बाढी आउँदै गरेको सूचना पाएपछि भागेर ज्यान जोगाएको बताउँछन् । तर, घरभित्रका सामान निकाल्ने समय पाएनन् । शरीरमा लगाएको एक जोर कपडाबाहेक उनीसँग केही बाँकी रहेन । ‘एउटा चम्चासमेत झिक्न पाइएन । ज्यान जोगियो, त्यही ठूलो कुरा हो । दशैं आयो, तर न मनमा उज्यालो छ, न बस्तीमा रौनक । भोलि कहाँ बस्ने भन्ने ठेगान छैन । त्यहि ठूलो चिन्ता छ ।
सेउलीबजारमा घर नभएका तर भाडामा बसेर सानोतिनो काम गरी गुजारा चलाउँदै आएका परिवार पनि बाढीबाट प्रभावित भएका छन् । सारुमायाँ गुरुङ त्यस्तै मध्येकी एक हुन् । उनको आफ्नै घर थिएन। भाडामा बसेर काम गर्दै जीवन चलाइरहेकी थिइन् । अहिले शरीरमा लगाएको कपडाबाहेक उनीसँग केही बाँकी छैन । ‘श्रीमानले पनि छोडपत्र गरेर जानुभयो । विदेशमा धेरै दुःख गरेर नेपाल फर्किएकी थिएँ । आफ्नै देशमा केही गर्छु भनेर आएकी थिएँ,’ उनले भनिन्, ‘अहिले बाढीले म बाहेक केही बाँकी राखेन । चाडपर्वको बेला रमाउने समय सबै चिज गुमाएर उराठलाग्दो जीवन विताउन बाध्य छौं । सरकारले पनि हाम्रो अवस्था देखेकै छ । सुरक्षित ठाउँमा कतै सारिदिए बाँच्ने आधार हुन्थ्यो कि !’

