काठमाडौं— कृत्रिम बुद्धिमत्ता (एआई) को जिम्मेवार र समावेशी प्रयोगबारे ललितपुरमा एआई साक्षरता कार्यक्रम गरिएको छ । नागरिक तथा स्थानीय सरकारका सरोकारवालाको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो ।


‘पहुँचदेखि सशक्तीकरणसम्म, नेपालमा असमानता न्यूनीकरणका लागि एआई साक्षरता’ नामक पाइलट कार्यक्रम ललितपुर महानगरपालिका–२ सँगको सहकार्यमा सञ्चालन गरिएको हो । कार्यक्रममा सहभागी स्थानीय सरकारका प्रतिनिधि, नागरिक समाजका साझेदार, स्वयंसेवक तथा सहयोगीहरूले एआईसम्बन्धी तालिमबाट प्राप्त सिकाइ, अनुभव र चुनौतीबारे छलफल गरेका थिए ।
सन् २०२६ को जुन महिनामा सञ्चालन गरिएको तालिमपछि सहभागीहरूले एआई उपकरणलाई आफ्नो काम, सिकाइ, सञ्चार तथा सामुदायिक गतिविधिमा कसरी प्रयोग गरिरहेका छन् । तिनै अनुभव आदानप्रदान गरिएको हो । प्रस्तुति, व्यावहारिक प्रदर्शन, व्यक्तिगत अनुभव तथा सामूहिक छलफलमार्फत एआईको उपयोगिता, सीमा र जिम्मेवार प्रयोगका विषयमा चर्चा गरिएको थियो ।
कार्यक्रमले प्रविधिमा पहुँच विस्तारसँगै त्यसको सही प्रयोग, आलोचनात्मक सोच र डिजिटल समावेशिताको महत्वमा जोड दिएको थियो । एआईको प्रयोगबाट प्राप्त हुन सक्ने अवसरसँगै यसले निम्त्याउन सक्ने चुनौती तथा नैतिक प्रश्नबारे पनि छलफल गरिएको आयोजकले जनाएको छ ।
कार्यक्रमका क्रममा नीति निर्माता, शिक्षक, विकासकर्मी तथा अन्य सरोकारवालाका लागि सुझाव तयार गर्न सामूहिक छलफलस मेत गरिएको थियो । छलफलबाट प्राप्त सुझावले डिजिटल समावेशिता, एआई प्रयोगका लागि आवश्यक तयारी र स्थानीय आवश्यकताअनुसार क्षमता विकासका कार्यक्रम निर्माण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
परियोजनाले समुदायका सदस्य तथा स्थानीय सरकारका सरोकारवालालाई एआई प्रविधिबारे व्यावहारिक, जिम्मेवार र समावेशी सिकाइको अवसर प्रदान गर्ने लक्ष्य राखेको थियो । प्रविधिको पहुँचलाई सशक्तीकरणमा रूपान्तरण गर्दै सूचित निर्णय क्षमता र सामुदायिक सहभागिता बढाउनु कार्यक्रमको उद्देश्य रहेको जनाइएको छ ।
यो पहल लन्डन स्कुल अफ इकोनोमिक्सको इन्टरनेसनल इनइक्वालिटिज इन्स्टिच्युटअन्तर्गतको एट्लान्टिक फेलोसिप फर सोसल एन्ड इकोनोमिक इक्विटीको सहयोगमा सञ्चालन गरिएको हो। आयोजकले कार्यक्रम सफल बनाउन सहयोग गर्ने ललितपुर महानगरपालिका–२, सहभागी समुदायका सदस्य, पत्रकार, परियोजना सहजकर्ता तथा संयुक्त राष्ट्रसंघीय स्वयंसेवक कार्यक्रम (यूएनभी) अन्तर्गतका अनलाइन स्वयंसेवकप्रति आभार व्यक्त गरेका छन् ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप
