धादिङ- धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–२, सेउलीबजारकी पूर्णमायाँ गुरुङले २५ वर्षअघि श्रीमान् गुमाइन् । श्रीमानको साथ छुटेपछि ज्याला मजदुरी गरेर, खाइनखाई छोराछोरी हुर्काइन् । दुःख गरेर कमाएको पैसाले ओत लाग्ने छानो बनाइन् । छोराछोरी हुर्किए, घर पनि बन्यो । अब त दुःखका दिन सकिएलान्, जीवनले केही सहज मोड लेला भन्ने आशा थियो । तर, बुढीगण्डकीमा आएको बाढीले उनको त्यो आशा र सपना पनि बगाइदियो ।


वर्षौंको पसिना र संघर्षले जोडेको घर आफ्नै आँखाअगाडि छिनभरमै बाढीले बगायो । ज्यान जोगाउन भागेकी पूर्णमायाँ अहिले घरविहीन छिन् । न श्रीमान् छन्, न आफूले दुःख गरेर बनाएको घर । बाँकी छ त केवल विगतको संघर्षको सम्झना र भविष्यको अनिश्चितता । उनी भक्कानिँदै भन्छिन्, ‘भागेर ज्यान बचाएँ, तर बाँकी केही रहेन। दुई मुठ्ठी सास जोगाउन अब कहाँ जाऊँ?’

गाउँपालिकाले चुलीदेवी माध्यमिक विद्यालयमा बनाएको अस्थायी होल्डिङ सेन्टरको एउटा कुनामा बसेकी पूर्णमायाँको आँखाबाट आँसु थामिएको छैन । बाढीले घर बगाएपछि उनी फेरि जीवनको त्यही कठिन मोडमा आइपुगेकी छन्, जहाँबाट २५ वर्षअघि श्रीमान् गुमाएपछि एक्लै संघर्ष सुरु गरेकी थिइन् । भित्तामा अडेस लाग्दै उनले विगत सम्झिइन्, ‘विवाह गर्दा श्रीमानले घर पोखरा भन्नुहुन्थ्यो । तर, घरै नचिनाइ २५ वर्षअघि सामान्य पेट दुखेको समस्याले श्रीमानको मृत्यु भयो । त्यसपछि ज्याला मजदुरी गरेर, खाइनखाई छोराछोरी हुर्काएँ ।’ आँसु पुछ्दै उनले थपिन्, ‘दुःख गरेर कमाएको पैसाले ओत लाग्ने छानो फेरेकी थिएँ । छोराछोरी पनि हुर्किए। अब सुखका दिन आउलान् भन्ने सपना थियो । तर, बुढीगण्डकीको बाढीले ज्यानबाहेक घरसँगै सबै बनायो ।’
बुढीगण्डकी नदीमा आएको बाढीले धादिङ र गोरखा जोड्ने पक्की पुलसहित सेउलीबजारको ५८ घरपरिवारलाई विस्थापित बगायो । गाउँपालिकाले सञ्चालन गरेको होल्डिङ सेन्टरमा आश्रय लिएकाहरु विभिन्न संघसंस्थाको खाद्यान्न, कम्बल, त्रिपाल, म्याट, झुललगायतका राहत सामग्रीको सहरामा दैनिकी चलाइरहेका छन् । तर, राहतले उनीहरुको तत्कालको भोक मेटिएपनि भविष्यको चिन्ता मेटिएको छैन । उनीहरुलाई भोलिको गाँस, बास र कपासकै ठूलो चिन्ता छ ।

नारायणबहादुर नगरकोटीको देब्रे हातखुट्टा चल्दैन । उनलाई उच्च रक्तचापको पनि समस्या छ । उनकी श्रीमती पनि कान नसुन्ने समस्याबाट पीडित छिन् । बाढी आउँदा उनीहरूका लागि सुरक्षित ठाउँसम्म पुग्नु नै ठूलो चुनौती बन्यो । जसोतसो भागेर ज्यान जोगाए पनि घरभित्रका सामान निकाल्ने अवसर पाएनन् ।
‘चारपाउ टेकेर बल्लतल्ल ज्यान जोगायौं । घरसँगै सबै बगायो । पकाउने भाँडा, चलाउने सामान, पशुचौपाय केही बाँकी रहेन,’ उनले भने,– ‘घरमा कमाउने पनि कोही छैन । न म काम गर्न सक्छु, न श्रीमतीले कमाउन सक्छिन् । सधैं राहत त आउदैन अब कसरी बाँच्ने ? ठूलो विचल्ली भयो ।

सेते परियारका लागि पनि अहिले अरूकै भरमा छाक टार्नुपर्ने अवस्था छ । बाढीले बस्दै आएको छाप्रो बगाएपछि उनीसँग सुरक्षित आश्रय छैन । बाढी आउँदा भागाभाग भएको क्षण सम्झिँदा उनलाई अहिले पनि आङ सिरिङ्ग हुन्छ । ‘सबैले भागभाग भनेपछि ज्यान जोगाउन दौडियौं । आँखैअगाडि घर बग्यो । होसै हराएको जस्तो गरी भागेर बाँचियो,’ उनले भने,– ‘पछि आएर हेर्दा घर भएको ठाउँमा घरभन्दा अग्लो लेदो थुप्रिएको थियो । अब त्यहाँ के बाँकी रह्यो र अब खर्च कसरी जुटाउने ? न खानेकुरा छ, न बस्ने घर, न लगाउने कपडा । अब हामीलाई कसले सुरक्षित ठाउँमा सारिदेला?’
दशैंपछि विस्थापित परिवारलाई दीर्घकालिन व्यवस्थापन हुन्छः अध्यक्ष उप्रेती
त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष राजु उप्रेतीले दशैंपछि विस्थापित परिवारको दीर्घकालीन व्यवस्थापन गरिने बताए । ‘५८ घर परिवार मध्ये ७ घर परिवार मात्रै धादिङको रहेछ । ५१ परिवार गोरखा मान्खुको रहेछ’ उनले भने,– ‘बाढीबाट विस्थापित ५८ परिवारलाई होल्डिङ सेन्टरमा तत्कालका लागि खान र बस्न व्यवस्था गरिएको छ । ५१ परिवार गोरखा नै जान्छन् । ७ परिवारलाई दशैपछि दीर्घकालिन व्यवस्थापन गर्छौं ।’
‘हामी निरन्तर छलफलमा छौं । विभिन्न संघसंस्थाले घर बनाइदिन सहयोग गर्ने भनेको छ । दशैं लगत्तै काम थालेर सकभर चाँडै सुरक्षित ठाउँमा पुर्नस्थापना गर्छौं’ उनले भने ।

