धादिङ– पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–५ गलौंदी नजिक सडक भासिएपछि रोकिएका सवारीसाधनलाई भित्री सडकबाट पास गराउन थालिएको छ ।


गलौंदीमा सडक खुलाउन ब्याक कटिङको काम भइरहे पनि राजमार्ग सञ्चालनमा आउन साँझसम्म लाग्ने नागढुंगा–नौबिसे–मुग्लिन सडक आयोजना (पूर्वी खण्ड) का प्रमुख गुरु प्रसाद अधिकारीले बताएका छन् ।
गलौंदीदेखि घाटबेँसी निस्कने भित्री सडकबाट रोकिएका सवारीसाधनलाई पास गराइएको छ । तर गलौंदीतर्फको उकालो र घाटबेँसीतर्फको हिलो सडकका कारण मालवाहक सवारीसाधनलाई आवतजावत गर्न कठिनाइ भइरहेको छ ।
दसैंको मुखैमा राजमार्ग अवरुद्ध हुँदा घर फर्किने यात्रु तथा चालक समस्यामा परेका छन् । वैकल्पिक सडकसमेत सहज नहुँदा यात्रा थप कष्टकर बनेको छ ।
धादिङकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डे (गौतम)ले अति आवश्यक कामबाहेक यात्रा नगर्न सबैमा अनुरोध गरेकी छन् । सडकको अवस्था र वैकल्पिक मार्गमा देखिएको कठिनाइलाई ध्यानमा राखेर मात्रै यात्रा गर्न प्रशासनले आग्रह गरेको छ ।

