अलपत्र मजदुरलाई नीलकण्ठ नगरपालिकाको दशैं राहत

अलपत्र मजदुरलाई नीलकण्ठ नगरपालिकाको दशैं राहत

धादिङ- ज्याला नपाउँदा दशैंमा घर जान नपाएर निर्माणस्थलमै अलपत्र परेका १२ जना मजदुरलाई नीलकण्ठ नगरपालिकाले खाद्यान्न सहयोग गरेको छ । नगरपालिकाले मजदुरलाई दाल, चामल, तरकारी र मासुलगायत खाद्य सामग्री वितरण गरेको हो ।

Advertisement

नीलकण्ठ नगरपालिका–३ र १२ जोड्ने थोपल खोला पक्की पुल निर्माणमा खटिएका मजदुर ५/६ महिनादेखि ज्याला नपाएपछि घर फर्कन सकेका छैनन् । हातमा पैसा नहुँदा घर जाने भाडासमेत जुटाउन नसकेका उनीहरू स्थानीय बासिन्दाको सहयोगमा गुजारा चलाइरहेका थिए । नगरपालिकाबाट खाद्यान्न पाएपछि मजदुरले राहत महसुस गरेका छन् ।

नेपालपथ डटकममा ‘ज्याला नपाउँदा दशैंमा कामस्थलमै रोकिए थोपल पुलका मजदुर’ शीर्षकमा समाचार प्रकाशित भएपछि नगरपालिकाले उनीहरूको अवस्थाबारे चासो दिँदै खाद्यान्न वितरण गरेको हो । लामो समयदेखि ज्याला नपाएर दैनिक गुजारा चलाउनसमेत कठिनाइ भोगिरहेका मजदुरलाई खाद्यान्न सहयोगले तत्कालका लागि छाक टार्ने चिन्ता कम भएको छ ।

पुल निर्माणमा खटिएका ३६ जना मजदुरमध्ये २४ जना सरसापट गरेर वा घरबाट पैसा मगाएर दशैं मनाउन फर्किएका थिए । घर जाने खर्चसमेत जुटाउन नसकेपछि बाँकी १२ जना भने धादिङमै रोकिएका हुन् । उनीहरूमा सल्यानका सात, बाँकेका दुई, सुर्खेतका दुई र गोरखाका एक जना छन् ।

दशैंमा घर जान नपाएर अलपत्र परेका मजदुरलाई राहत सामाग्री वितरण गरिएको नीलकण्ठ नगरपालिकाका नगर प्रमुख भीमप्रसाद ढुंगानाले बताए । ‘उहाँहरु नगरपालिका भित्रै काम गरिरहनु भएको छ । दशैंमा घर जान नपाएर कार्यस्थलमै अलपत्र परेका छन् भन्ने थाहा पायौं । उनीहरुले परिवारसँग दशैं मनाउन पाएनन् । काम गरेकै ठाउँमा भएपनि दशैं मनाउन सकुन् भनेर खाद्यान्न सामाग्री वितरण गरिएको हो’ उनले भने ।

दशैंका बेला घरपरिवारसँग हुनुपर्ने मजदुर खाद्यान्न अभावमा स्थानीयको भरमा बस्नुपरेको थियो । नगरपालिकाको सहयोगले तत्कालको खाद्य संकट टरे पनि उनीहरूले काम गरेको ज्याला भने पाउन बाँकी छ । मजदुरले रोकिएको ज्याला भुक्तानीका लागि सम्बन्धित निकायले पहल गर्नुपर्ने बताएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

खोजी गर्नुहोस

ताजा अपडेट