दुई दिनपछि सञ्चालनमा आयो पृथ्वी राजमार्ग

दुई दिनपछि सञ्चालनमा आयो पृथ्वी राजमार्ग

धादिङ– शुक्रबारदेखि अवरुद्ध पृथ्वी राजमार्ग दुई दिनपछि पूर्ण रूपमा सञ्चालनमा आएको छ । धादिङको गजुरी गाउँपालिका–५ गलौँदीमा त्रिशूली नदीको कटानका कारण सडक भासिएपछि अवरुद्ध बनेको पृथ्वी राजमार्ग नयाँ ट्रयाक निर्माण गरी पुनः सञ्चालनमा ल्याइएको हो ।

Advertisement

सडक भासिएपछि शुक्रबार साँझदेखि अवरुद्ध राजमार्गमा शनिबार विहानैदेखि नागढुंगा–नौबिसे–मुग्लिन सडक आयोजना (पूर्वी खण्ड) का प्रमुख गुरु प्रसाद अधिकारीले बताए । ‘शनिबार मध्यराति पनि नयाँ ट्रयाकबाट रोकिएका सवारीसाधन पास गराइएको थियो । लामो जाम र यात्रुहरुका प्रेसरका कारण राजमार्ग सुचारु गरिएको हो । काम अझै बाँकी छन् । यातायात चल्दै गर्छ काम पनि गर्दै गर्छौं । आइतबार दिनभर सडक चौडा बनाउने, कटान गरिएको माटो पन्छाउने काम गरेपछि राजमार्ग सूचारु गरिएको हो’ उनले भने ।

‘सडक खुलाउन ६ वटा एक्साभेटर, दुईवटा लोडर र दुईवटा ब्याकहो लोडर परिचालन गरिएको थियो । काम छिटो सम्पन्न गर्न रातको समयमा समेत बत्ती बालेर कटान गरिएको हो’ उनले भने– ‘भासिएको सडकको कुनातर्फको भित्ता काटेर नयाँ ट्रयाक निर्माण गरिएको हो । राजमार्ग सञ्चालनमा ल्याउन १५७ मिटर लम्बाइ, ६ मिटर चौडाइ र १२ मिटरसम्म उचाइको भित्ता काट्ने, सडकको कटान गरिएको माटो पन्छाउने, ट्रयाकलाई दुईतर्फी सवारी चल्न मिल्ने गरी चौडा गराइएको छ । थुपारिएका केही माटो र ग्रावेलको काम भने गर्न बाँकी छ । अर्काे ठूलो समस्या नआए यातायात सञ्चालन गर्दै काम गर्छौं ।’

राजमार्ग सञ्चालनमा आए पनि गलौँदी क्षेत्रमा सवारीसाधनको चाप भने अत्यधिक छ । लामो समय रोकिएका सवारीसाधन एकैपटक गन्तव्यतर्फ लाग्दा सवारी व्यवस्थापनमा चुनौती देखिएको छ । राजमार्ग खुल्दा यात्रुलाई राहत मिले पनि सवारी चापका कारण यात्रा सहज हुन सकेको छैन ।

त्रिशूली नदीको कटानका कारण गलौँदी क्षेत्रमा सडकको करिब ६० मिटर भागमा चिरा परेको थियो । त्यसमध्ये करिब ३५ मिटर सडक भासिएर तल खसेको थियो । सडक थप भासिने र पहिरो जाने जोखिम बढेपछि प्रहरीले शुक्रबारदेखि नै दुवैतर्फको सवारी आवागमन बन्द गराएको थियो ।

पृथ्वी राजमार्ग राजधानी काठमाडौंलाई देशका विभिन्न जिल्लासँग जोड्ने प्रमुख सडक हो । दैनिक १३ हजार भन्दा बढी सवारीसाधन आवतजावत गर्ने यस राजमार्गमा चाडपर्वको समयमा भने तेब्बर चाप हुने गरेको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

खोजी गर्नुहोस

ताजा अपडेट