धादिङ – पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–५ गलौंदी नजिक सडक भासिएको क्षेत्रमा आइतबार बिहान साढे ८ बजेदेखि राजमार्गमा सवारी आवागमन रोकेर पुनः काम थालिएको छ ।


सडकको कटान गरिएको माटो पन्छाउने, ट्रयाकलाई दुईतर्फी सवारी चल्न मिल्ने गरी चौडा गर्ने र ग्राभेल गर्ने कामका लागि यातायात रोकेर काम अघि बढाइएको नागढुंगा–नौबिसे–मुग्लिन सडक आयोजना (पूर्वी खण्ड) का प्रमुख गुरुप्रसाद अधिकारीले बताए । ‘अहिले ब्याक कटिङ गरेर निकालिएको माटो पन्छाउने, सडकलाई दुईतर्फी चौडा बनाउने र ग्राभेल गरेपछि साँझसम्ममा यातायात सञ्चालनमा ल्याउँछौं,’ अधिकारीले भने ।
गलौंदी नजिक सडक भासिएपछि शुक्रबारदेखि अवरुद्ध राजमार्गमा शनिबार मध्यराति नयाँ ट्रयाकबाट रोकिएका सवारीसाधन पास गराइएको थियो। अहिले भने सडकलाई व्यवस्थित गरी नियमित आवागमन सञ्चालन गर्ने उद्देश्यले काम अघि बढाइएको हो।
अधिकारीका अनुसार सडक खुलाउन बिहानैदेखि ६ वटा एक्साभेटर, दुईवटा लोडर र दुईवटा ब्याकहो लोडर परिचालन गरिएका छन्। भासिएको सडकको कुनातर्फको भित्ता काटेर नयाँ ट्र्याक निर्माण भइरहेको छ। राजमार्ग सञ्चालनमा ल्याउन १५७ मिटर लम्बाइ, ६ मिटर चौडाइ र १२ मिटरसम्म उचाइको भित्ता काट्ने, सडकको कटान गरिएको माटो पन्छाउने, ट्रयाकलाई दुईतर्फी सवारी चल्न मिल्ने गरी चौडा गर्ने काम भइरहेको उनले बताए ।

