काठमाडौं- नेपाल शिक्षक महासंघले सरकारसँगको वार्तासँगै आन्दोलनलाई पनि निरन्तरता दिएको छ । शनिबार सरकारसँग भएको वार्ता निष्कर्षविहीन भएपछि महासंघले आन्दोलनलाई निरन्तरता दिएको हो ।
विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने माग राख्दै महासंघले शनिबार २५औँ दिन पनि आन्दोलन जारी राखेको छ । आफूहरूको माग पूरा हुने अवस्था नबनेसम्म आन्दोलन जारी रहने महासंघले बताउदै आएको छ ।
शनिबार काठमाडौंमा आन्दोलनरत शिक्षकहरूले शिक्षकको माग पूरा गर, विद्यालय शिक्षा ऐन जारी गर लगायतका नारा लगाएका थिए । आज बिहान सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा मन्त्री रघुजी पन्तसँग बसेको नेपाल शिक्षक महासंघको वार्ता निष्कर्षविहीन भएको थियो ।
विद्यालय शिक्षा ऐन कार्यान्वयनको माग गर्दै करिब एक महिनादेखि सामुदायक विद्यालयका शिक्षकहरूले काठमाडौं केन्द्रित आन्दोलन जारी राखेका छन् । वार्ता र सहमति गर्ने तर कार्यान्वयन नभएको आन्दोलनरत शिक्षकहरुले गुनासो गर्दै आएका छन् । त्यस्तै, सर्वोच्च अदालतले काठमाडौंमा आन्दोलनरत शिक्षकहरूलाई तीन दिनभित्र विद्यालय फर्कने वातावरण बनाउन सरकारका नाममा आदेश जारी गरेको छ । सर्वोच्चका न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले सो आदेश जारी गरेको हो ।
‘आन्दोलनरत शिक्षकहरूका जायज र संविधानसम्मत मागहरू तत्काल सम्बोधन गर्ने सम्बन्धमा विपक्षी निकायहरूले उचित र आवश्यक निर्णय गरी यो आदेश प्राप्त भएका मितिले ३ दिनभित्र आन्दोलनरत शिक्षकहरू विद्यालयमा फर्कि नियमित पठन पाठन गर्ने वातावरण सुनिश्चित गर्नू,’ आदेशमा भनिएको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप