काठमाडौं- बाक्लो भिड, लामो लाइन । कोही उभिएका छन् त कोही कुर्सीमा बसेका छन् । कतिपय उपचारका लागि रोगसँग लड्दै हतारमा देखिन्छन् । तर विरामीहरु पालो कुरिरहेका छन् । उस्तै काम र सेवामा तल्लिन स्वाथ्यकर्मीहरु । विशेषज्ञसहितको सेवा विस्तारपछि व्यस्त देखिने यो दृश्य धादिङ अस्पतालको हो ।
धादिङ अस्पतालको इमर्जेन्सी बेडमा कुकुर सुत्नेदेखि कार्यालय सहयोगीले एक्सरे गर्नेसम्म । निःशुल्क औषधि र विमाको औषधिको चलखेलदेखि रेफरल अस्पतालको रुपमा स्थापितसम्म रहेको अस्पताल अहिले विशेषज्ञसहितको सेवा प्रवाह गर्ने बनेको छ । तर अस्पतालले मारेको फड्को र अस्पतालको सुधार भन्दा नेतृत्व पंक्तिको राजनिति बहसले चर्चा बटुलेको छ ।
स्वास्थ्य क्षेत्रमा दलगत समीकरण, पदको दाबी र आरोप–प्रत्यारोपले ठूलो ठाउँ पाएको छ । सुधारका प्रयासहरू ओझेलमा परेका छन्, सत्तासाझेदार दलहरूबीचको अविश्वास र आरोप मंगलबार बिहान बसेको धादिङ अस्पताल संचालन तथा व्यवस्थापन समितिको बैठकले छर्लङ्ग देखिएको छ ।
मंगलबार बसेको बैठकमा नीलकण्ठ नगरपालिका– ८ का वडाध्यक्ष एवम् प्रवक्ता प्रकाश कुमार श्रेष्ठले अस्पतालको बैठकमा भाग लिने क्रममा आफूलाई ‘आधिकारिक सदस्य नभएको’ भनी अपमान गरिएको गुनासो गर्दै उनी बैठकबाट बाहिरिए । बैठकबाट बाहिरिएका श्रेष्ठले सामाजिक सञ्जालमा फेसबुकमा लामो स्टाटस लेखेपछि विषयले उग्र रुप लिएको हो ।
धादिङ अस्पताललाई नगरपालिकाले पत्र नपठाएको भएपनि विधि विधान र कानुनबाटै आफु सदस्य रहेको श्रेष्ठको दावी छ । ‘स्वास्थ्य ऐनबाट उहाँ अध्यक्ष म सदस्य भएको हो । तर अध्यक्षले पदेन सदस्य हो आएपनि न आएपनि केही फरक पर्देन भनेको भएर मैले वास्तविकता के हो जानकारी चाहियो भनेको थिए’ उनले भने– ‘उहाँले मैले भनेको हो । अस्पतालमा के गरेको छ । आधिकारिक सदस्य पनि होइन भनेपछि म किन मिटिङमा बस्ने भनेर म निस्केको हो । मैले स्टाटस लेखेँ तर स्टाटसलाई आधार बनाएर कसले के ग¥यो मलाई थाहा छैन ।’
ऐन परिवर्तन र अस्पताल संचालन तथा व्यवस्थापन समितिको अध्यक्ष परिवर्तनपछि नीलकण्ठ नगरपालिकाबाट श्रेष्ठ प्रतिनिधि हो भनेर लिखित रुपमा अस्पताललाई कुनै जानकारी वा पत्र नआएको अध्यक्ष राधिका सापकोटा बताउँछिन् । अस्पताललाई सुधार गर्ने एजेण्डा भन्दा राजनीति प्रतिशोध राखेर श्रेष्ठ उत्रिने गरेको सापकोटाको भनाई छ । ‘संस्थागत कुरा लिखित नै हुन्छ । म आएपछि नगरपालिकालाई पत्र पठाएको हो । तर नीलकण्ठ नगरपालिकाका नगर प्रमुख भीमप्रसाद ढुंगानाले मौखिक रुपमा प्रकाश श्रेष्ठ आउँछ भनेका भरमा प्रकाश जी बैठकमा आइ रहनु भएको हो । नगरपालिकाले कुनै लिखित पत्र पठाएको छैन’, उनी भन्छिन्– ‘नगरपालिकाले अस्पताललाई व्यवस्थित गर्न सहकार्यका लागि प्रतिनिधि पठाएको हो । तर संधै फरक दलको हिसावले विवाद मात्रै गर्नुभयो । स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्रमा उहाँको राजनीति कदापी स्वीकार्य छैन ।’
धादिङ अस्पतालमा वेथिति रहेको श्रेष्ठले दावी गरेका छन् । तर वर्षाैसम्म अस्पतालको सदस्य भइ रहेका श्रेष्ठ अस्पतालमा आवद्ध हुदासम्म सबै ठिक थितिमै थियो । तर अस्पतालको मिटिङबाट बाहिरिए लगत्तै सबै खत्तम बेथिति कसरी भयो ? सापकोटाले प्रश्न तेर्याइन । ‘नेकपा एमालेको नेतृत्व असफल बनाउने कांग्रेसको रणनीति हो । अस्पतालमा एमालेको नेतृत्व सफल भयो भने सदरमुकाममा एमालेको पकड बलियो हुने डरले यस्तो रणनीति अपनाएको हो’ उनले भनिन् ।
अध्यक्ष सापकोटा नेकपा एमाले धादिङको सचिव हुन् । श्रेष्ठ पनि स्वतन्त्रबाट उम्मेदवार बनेपनि कांग्रेस नेताको भरले वडा अध्यक्ष बनेका हुन् । हाल नेकपा एमाले र नेपाली कांग्रेस दुवै दल सरकारमा छन् । यो समयमा अस्पताललाई व्यवस्थित र सुधार गर्ने विषयको चर्चा हुनु पर्ने हो । तर व्यवस्थापन समिति र एउटा सदस्यको स्टाटसले सेवा सुधारका पक्ष छायाँमा परेको छ ।
नागरिकहरु पनि समर्थन र आलोचना गर्न व्यस्त देखिन्छन् । आफ्नो नैतिकता र ओहदा नै भुलेर स्टाटस र कमेन्ट लेख्नेहरुको पनि कमी छैन । तर साँच्चै अस्पताललाई मायाँ गर्नेहरु भने चिन्तामा परेका छन् । आफ्नै दलभित्रको गुटलाई सकाउन मरिमेटेर लाग्ने कांग्रेस र पार्टी नै फुटाउनसम्मपछि नपर्ने एमालेको राजनिति फरक दलमा प्रष्ट देखिएको सेवाग्राहीहरुको भनाई छ । उनीहरुले राजनितिको खेलले अस्पतालको सेवा प्रवाहमा प्रभाव पार्न सक्ने चिन्ता व्यक्त गरेका छन् ।
अस्पतालमा कार्यरत करार कर्मचारीहरूको म्याद सकिएपछि नयाँ कार्यसम्पादन मूल्यांकनका आधारमा मात्रै करार नवीकरण गर्ने प्रस्ताव पनि विवादको अर्को बुँदा बनेको छ ।अस्पतालले काम नगर्ने कर्मचारीलाई हटाएर दक्ष जनशक्ति भित्र्याउने योजना बनाएको छ । जसले पूर्ववर्ती कांग्रेस र माओवादी समर्थक कर्मचारीहरूको स्थान गुम्ने डर उनीहरुमा देखिएको सापकोटाको दावी छ ।
सापकोटाले अस्पताल व्यवस्थापनको अध्यक्ष हुँदा पटक–पटक धम्की र दबाबको सामना गर्नुपरेको बताउँछिन् । “२०८२ जेठ १२ गते, एक जना कर्मचारीको विषयमा विवाद हुँदा एउटा गाउँपालिकाका अध्यक्षले मेसुकै कार्यकक्षमा आएर हातपात गर्ने प्रयास भएको थियो,” उनले भनिन्– ‘एउटा कर्मचारीलाई अल्कोहल खाएर हातपात गर्न आउने गाउँपालिकाका अध्यक्ष समेत रहेका नेपाली कांग्रेसको कार्यकर्ताको त्यो दुव्र्यवहारलाई अस्पतालले कसरी हेर्ने ? उनले गरेको दुव्र्यवहार हामीसँग सिसिटिभि फुटेज छ । सत्ता साझेदार हो भनेर सधैं सही राख्नुपर्ने ? कांग्रेसको कार्यकर्ताको क्षमता विनाको भर्तीकेन्द्र बनाइ दिनुपर्ने । कदापी त्यो हुन सक्दैन, म सामाजिक काम गर्न आएको हुँ । अस्पतालको हित र सुधारको क्षेत्रमा मात्र निर्णय र काम हुन्छ ।’
राजनीतिक रस्साकस्सीको बीचमा अस्पतालले थुप्रै सेवा सुधार भएको अध्यक्ष सापकोटा बताउँछिन् । ‘किड्नीका बिरामीका लागि सुरु गरेको हेमोडायलाइसिस सेवा धादिङका सबै विरामीले पाएका छन् । २५ भन्दा बढी विरामी डायलाइसिस गर्न कुरेका थिए । मेसिन थप गरि सबैलाई सेवा दिएका छौं । अन्य थुप्रै विशेषज्ञसहितका सेवा विस्तार गरिएका छन् । इण्डोस्कोपी सेवा सञ्चालन प्रक्रिया अगाडि बढिरहेको छ । बीमा काउण्टरलाई अलग राखेर सेवामा सहजता ल्याइएको छ । देशका ख्यातिप्राप्त चिकित्सकहरूमार्फत विशेषज्ञ सेवा प्रदान गरिएको छ’ उनले भनिन्– ‘पहिले भन्दा धेरै राम्रो र अस्पतालले निकै फड्को मारेको छ । विवादका लागि विवाद र राजनिति प्रतिशोध राखेर अस्पतालको भ्रम फैलाइएको हो । म आएपछि पहिलो भन्दा काम नराम्रो भयो भनेर एउटा मात्र काम र प्रमाण ल्याए अध्यक्षबाटै राजिनामा दिन तयार छु ।’
के चाहन्छ कांग्रेस ?
नेपाली कांग्रेसले धादिङ अस्पताललाई नराम्रो देखाएर नीजि स्तरमा संचालित अस्पतालको प्रोत्साहन गर्न खोजेको अस्पताल संचालन तथा व्यवस्थापन समितिका अध्यक्ष राधिका सापकोटाले बताइन् । ‘अर्काे कुरा नेपाली कांग्रेस काम नगर्ने तर तलब खाने कर्मचारीको नविकरण गर्न चाहन्छ । तर हामी अस्पताललाई दलको भर्ती केन्द्र बनाउँदैनौं, किनकी स्वास्थ्य संस्था संवेदनशिल क्षेत्र हो । अस्पताल हाम्रो जीवनसँग प्रत्यक्ष जोडिएको छ’ उनले भनिन् ।
त्यस्तै, एमाले नेतृत्वको धादिङ अस्पताललाई असफल बनाउने रणनितिमा नेपाली कांग्रेस रहेको उनले दावी गरे । ‘सत्ता साझेदारको हिसावले सहयोग पाइएको छैन । अस्पताल सुधारका योजना भन्दा पनि राजनिति गर्छन् । अस्पताल नराम्रो हो भनि भ्रम छरिरहेका छन् । आफु भए सबै ठिक अरु सबै बेठिक भन्ने मानसिकताले संस्था र सामाजिक कार्य अघि बढ्न सक्दैन’ उनले भनिन्– ‘अस्पतालमा सहज र सबै प्रकारका सेवा प्रवाह भइ रहेको छ भनेर अस्पतालको ढोका ढक्ढकाउनेहरुलाई निराश पारेर फर्काउदैनौं । राजनिति र समाजसेवा फरक चिज हो सबैले बुझ्न आवश्यक छ ।’
धादिङ अस्पताल राजनीतिक प्रतिस्पर्धा देखाउने अखडा बन्नुुहुन्न । अस्पतालमा भइरहेको सुधार र सेवाको स्तर उकास्नेतर्फ ध्यान जानुपर्ने बेला, नेताहरुको व्यक्तिगत अहं र दलगत स्वार्थको घेरामा संस्था पर्नु दुःखद छ । सत्तासाझेदारीको नाममा गरिने हस्तक्षेप र नेपाली कांग्रेसको राजनितिक स्वार्थ प्राथमिकता पर्नु आफैमा लज्जास्पद छ । स्वास्थ्य संस्थामा सुधारको मूल्यांकन सेवा लिने बिरामीले गर्छन्, न कि फेसबुक स्टाटस र कमेन्टको बहसले हुनसक्छ ।
राजनीतिक दलहरुले वास्तवमै सामाजिक उत्तरदायित्व निभाउन चाहन्छन् भने, उनीहरुले अस्पताललाई राजनीति–रहित बनाएर दक्ष व्यवस्थापन, प्रभावकारी सेवा र जनहितमुखी संरचनातर्फ केन्द्रित हुन आवश्यक छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप