निजी क्षेत्रलाई आन्दोलनको निशाना बनाइयो: अध्यक्ष ढकाल 

  • २०८२ कार्तिक २७, बिहिबार (२ दिन अघि)
  • ९ पटक पढिएको
निजी क्षेत्रलाई आन्दोलनको निशाना बनाइयो: अध्यक्ष ढकाल 

धादिङ– निजी क्षेत्र देशमा हुने ठूला तथा साना आन्दोलनहरूको चपेटामा पर्ने गरेको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले बताएका छन्।

युवालाई रोजगारी दिने र राजस्व सङ्कलन गरेर राज्यलाई योगदान दिने तथा पूर्वाधार बनाउने नै निजी क्षेत्र हो । तरजेन्जी आन्दोलनका क्रममा पनि निजी क्षेत्रलाई टार्गेट बनाइएको धादिङ उद्योग वाणिज्य सङ्घको ३२ औँ साधारण सभा तथा ३४ औँ स्थापना दिवसको उद्घाटन समारोहको सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

‘निजी क्षेत्र सरकारलाई कर तिर्ने, पूर्वाधार बनाउने, रोजगारी दिने क्षेत्र हो। कल्पना गरौँ त निजी क्षेत्र नभएको भए के हुन्थ्यो होला । आन्दोलनहरूमा निजी क्षेत्र चाहिँ टार्गेट पर्दै आएका छन्’ उनले भने- ‘प्रधानमन्त्रीलाई हामीले भनेका थियौँ, आगामी दिनमा निजी क्षेत्रमाथि हुने यस्ता खालका गतिविधिहरु रोकिनुपर्छ । प्रधानमन्त्री सकारात्मक हुनुहुन्छ । आगामी दिनमा निजी क्षेत्रमाथि हुने आक्रमण रोकिनेछ।’

‘हामी भ्रष्टाचार अन्त्य गर्ने भन्छौं भ्रष्टाचार अनुसन्धान आयोग जलाउँछौँ। सिंह दरबार जलाउँछौँ, न्यायका कुरा गर्छौं सर्वोच्च अदालत जलाउँछौँ। व्यवसायिक रोजगारीका कुरा गर्छौं उद्योग प्रतिष्ठान जसले हजारौंलाई रोजगारी दिइरहेको छ । उद्योग धन्धा कल कारखाना जलाउँछौँ’ उनले भने- ‘ यी र यस्ता कारणले पनि जेन्जी आन्दोलनमा घुसपेठ भएको हो भन्ने बलियो प्रमाण हुन् । आगामी दिनमा निजी क्षेत्रको सुरक्षामा सरकार गम्भीर हुन जरुरी छ।’

त्यस्तै जेन्जी आन्दोलनको क्रममा धादिङमा निजी क्षेत्र सुरक्षित रहेकोमा उनले खुसी व्यक्त गरे। जिल्ला प्रशासन कार्यालय धादिङ र सुरक्षाका निकायहरूलाई उनले धन्यवाद ज्ञापन गरे। त्यस्तै धादिङ उद्योग वाणिज्य सङ्घलाई १ लाख रुपैयाँ सहयोग गर्दै सिङ्गो धादिङको विकास र व्यवसायीहरूको हक हितमा काम गर्ने प्रतिवद्धता समेत व्यक्त गरे।

त्यस्तै धादिङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष रामकुमार डल्लाकोटीले संघीय राजधानी काठमाडौँसँग जोडिएको धादिङ अवसर र सम्भावना रहे पनि उपलब्धि हुन नसकेको भन्दै आगामी दिनमा विशेष पहल गरेर लाग्न जरुरी रहेको बताए। ‘उद्योग धन्धा कलकारखाना पर्यटन लगायत हरेक क्षेत्रमा उत्तिकै सम्भावना छ। तर सरकारले ठोस योजना ल्याउन नसक्दा छायामा परेको छ। आगामी दिनमा सरकारले विशेष योजना बनाएर लाग्नुपर्छ’ उनले भने ।

त्यस्तै व्यवसायीहरूलाई पर्नसक्ने सम्भावित समस्या र जोखिममा सहयोग पुग्ने उद्देश्यले राहतको स्थापना गरेको छ । संघका अध्यक्ष डल्लाकोटीले राहत कोषमा ५० हजार सहयोग गरेका छन्।

त्यस्तै धादिङ उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष रोहित भण्डारीले धादिङभित्र रहेका गौरवशाली योजनाहरू समयमै सम्पन्न गराउन महासंघले पहल गरिदिन केन्द्रीय अध्यक्ष ढकाललाई अनुरोध गरे। बुढी गण्डकी जलविद्युत आयोजना समयमै बन्न सके धादिङको मात्र नभएर देशकै आर्थिक उन्नति हुने उनले बताए।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट