





























काठमाडौं– जिल्लाको आर्थिक, सामाजिक, पर्यटकीय तथा सांस्कृतिक क्षेत्रको विकास र प्रवद्र्धनमार्फत स्थानीय अर्थतन्त्रलाई गतिशील बनाउने उद्देश्यले दशौँ धादिङ महोत्सव २०८२ आयोजना हुने भएको छ । महोत्सव माघ १५ गतेदेखि २५ गतेसम्म नीलकण्ठ नगरपालिका–३ धादिङबेसीस्थित खुला मञ्चमा सञ्चालन हुने भएको छ ।



धादिङ उद्योग वाणिज्य संघको आयोजना तथा नीलकण्ठ नगरपालिकाको संरक्षण तथा नेपाल उद्योग वाणिज्य महासंघ काठमाडौँको प्रवद्र्धनमा दशौं धादिङ महोत्वस हुन लागेको हो । महोत्सवमा एक लाख भन्दा बढी दर्शकले अवलोकन गर्ने र करिब तीन करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।
बुधबार पत्रकार सम्मेलन गरि महोत्सवका बारेमा जानकारी दिएको हो । महोत्सवमा धादिङको नीलकण्ठ नगरपालिका–६ मा रहेको भैरवी मन्दिरको प्रचार प्रसार गरिने बताइएको छ । त्यस्तै, एक सय व्यावसायिक स्टल, २० घरेलु तथा साना उद्योगका स्टल र ४० कृषि तथा अन्य उत्पादन स्टल रहने छन् । यसले जिल्लामा उत्पादित कृषि, घरेलु तथा औद्योगिक वस्तुको बजारीकरणमा टेवा पुग्ने विश्वास रहेको धादिङ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष रोहित भण्डारीले बताए ।

त्यसैगरी, महोत्सवमा राष्ट्रिय तथा स्थानीय ख्यातिप्राप्त कलाकारहरूको दैनिक सांस्कृतिक प्रस्तुति रहने छ । महोत्सव अवधिभर विभिन्न विषय विज्ञ र सरोकारवालाबीच प्रत्यक्ष अन्तरसंवाद, कृषि तथा घरेलु उत्पादनको प्रदर्शनी तथा प्रतिस्पर्धा, सांस्कृतिक झाँकी प्रदर्शन, स्थानीय कला–संस्कृतिको प्रवद्र्धन, भैरवी मन्दिर केन्द्रित पर्यटन प्रवद्र्धन कार्यक्रम, साथै बाल उद्यान र मनोरञ्जनात्मक मेला सञ्चालन गरिने उनले बताए ।
यसअघि सम्पन्न धादिङ महोत्सवहरूले पर्यटन प्रवद्र्धन, रोजगारी सिर्जना र स्थानीय व्यवसायिक वातावरण सुदृढ गर्न सकारात्मक योगदान दिएको धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष रामकुमार डल्लाकोटीले बताए ।
पत्रकारहरुले राखेका जिज्ञासाको सम्बोधन गर्दै अध्यक्ष डल्लाकोटीले भने– ‘यो महोत्सवले पनि धादिङको पहिचान स्थापित गर्न ठूलो सहयोग गर्नेछ । जिल्लालाई औद्योगिक तथा व्यापारिक केन्द्रका रूपमा स्थापित गर्दै स्थानीय उत्पादनको बजार विस्तार, घरेलु तथा साना उद्योगको प्रवद्र्धन, कृषिको व्यवसायीकरण, पर्यटकीय क्षेत्रको विकास तथा रोजगारीका अवसर सिर्जना गर्ने विश्वास छ ।’
महोत्सव सफल बनाउन १५१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ भने विभिन्न उपसमिति तथा विषयगत समितिहरू क्रियाशील रहेका छन् । आयोजकले दशौँ धादिङ महोत्सवलाई भव्य, व्यवस्थित र सफल बनाउन सबै सरोकारवाला निकाय, सञ्चारकर्मी तथा सर्वसाधारणको उत्तिकै महत्वपूर्ण भूमिका रहेको धादिङ उद्योग वाणिज्य संघका महासचिव तिलक सिंखडाले बताए । उनले भने– ‘विगतका वर्षहरुमा भन्दा यो वर्ष गरिने महोत्सव फरक रहनेछ । स्थानीय उत्पादनले स्थान पाउनेछन् । जिल्लामा हुने उत्पादनको बजारीकरणमा ठूलो टेवा पुग्नेछ ।’
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप
