धादिङमा आसन्न निर्वाचनको तयारी तिव्र

  • २०८२ फागुन १०, आईतबार (५४ मिनेट अघि)
  • १६ पटक पढिएको
धादिङमा आसन्न निर्वाचनको तयारी तिव्र

धादिङ– धादिङमा प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को तयारीका विषयमा अन्तरक्रिया तथा छलफल कार्यक्रम गरिएको छ । जिल्ला निर्वाचन कार्यालय धादिङको आयोजनामा जिल्लास्थित सञ्चारकर्मीसँग आसन्न निर्वाचनको तयारीका विषयमा छलफल गरिएको हो ।

Advertisement

निर्वाचनको तयारी तिव्र रुपमा भई रहेको धादिङका प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीले बताएका छन् । कार्यक्रममा निर्वाचन तयारी, निर्वाचन प्रक्रियाका महत्वपूर्ण पक्ष, मतदाता नामावली अद्यावधिक, मतदान केन्द्र व्यवस्थापन तथा आचारसंहिता कार्यान्वयनलगायत विषयमा छलफल गरिएको हो । धादिङमा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न प्रशासन प्रतिबद्ध रहेको उनले बताए ।

प्रमुख जिल्ला अधिकारी सुवेदीले रुवीभ्याली गाउँपालिकाका पाँच मतदान स्थलमा सडक सञ्जाल नपुगेको भन्दै मतपेटिका ल्याउन समस्या र चुनौति रहेको बताए । वैकल्पिक मार्गबाट मतपेटिका ल्याउने तयारी भइरहेको उनको भनाई छ ।
दुई निर्वाचन क्षेत्र रहेको धादिङ उत्तरी क्षेत्रमा थुप्रै खालका चुनौति रहेको उनले बताए । जिल्लामा ११४ मतदान स्थल र ३१० मतदान केन्द्र निर्धारण गरिएको छ । जिल्लाको कुल मतदाता संख्या २ लाख ७५ हजार २८० रहेको छ । जसमा १ लाख ४१ हजार १९ महिला, १ लाख ३४ हजार २५९ पुरुष र २ जना अन्य मतदाता रहेका छन् ।

जिल्ला निर्वाचन कार्यालय धादिङका प्रमुख शिव गुरुङले अहिले गाउँ गाउँमा मतदाता शिक्षा सञ्चालन भइ रहेको बताए । जिल्लाका १३ वटै पालिकामा १३ जना अनुगमनकर्ता तथा निर्वाचन सम्पर्क व्यक्ति र १०४ जना स्वयंसेवक परिचालन गरिएको छ । निर्वाचनमा खटिने कर्मचारीहरूको विवरण संकलन गरी मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पठाइसकिएको र खटनपटन प्रक्रिया पनि सम्पन्न भइसकेको उनले बताए ।

गुरुङका अनुसार उम्मेदवारहरूले बैंक खाता खोलि रहेका छन् । हालसम्म १४ जना उम्मेदवारले खाता खोल्न सिफारिस प्राप्त गरिसकेका छन्। अस्थायी मतदाताको संख्या २ हजार ८१८ निर्धारण गरिएको छ भने एक अस्थायी मतदान केन्द्र तोकिएको छ।

निर्वाचनका लागि आवश्यक सामग्री प्राप्त भई व्यवस्थापन भइसकेको, मतदाता विशेष शिक्षा कार्यक्रम वडा तहमा कार्यान्वयन भइरहेको तथा आचारसंहितासम्बन्धी विषयमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको उनले बताए । नमूना मतदान कार्यक्रमहरु र मतदान अधिकृत तथा सहायक मतदान अधिकृतलाई अभिमुखीकरण दिने जस्ता कामहरु भइ रहेको उनले बताए ।

कार्यक्रममा सहभागी पत्रकारहरुले मतदान स्थलमा रिपोर्टिङ, निर्वाचनलाई शान्तिपूर्ण बनाउन गरिएको तयारी, मतपत्र लैजाने र मतपेटिका ल्याउने तयारी, सुरक्षा संयन्त्र, निर्वाचनलाई निष्पक्ष, पारदर्शी र शान्तिपूर्ण बनाउने तयारी लगायतका विषयमा छलफलका क्रममा प्रश्नोत्तर गरेका थिए ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    खोजी गर्नुहोस

    ताजा अपडेट