





























काठमाडौं– पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–५ भैसीगौडामा यात्रुबस त्रिशुली किनारमा खस्दा १९ जनाको ज्यान गएको छ । दुर्घटनामा परि २५ जना घाइते भएका छन् ।


पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको ग२ख १४२१ नम्बरको यात्रुबस सोमबार विहान करिव सवाँ एक वजे त्रिशुली किनारमा खस्दा घटनास्थलमै १७ जनाको ज्यान गएको हो । दुर्घटनामा परि घाइते भएकाहरुको काठमाडौंस्थित ट्रमा सेन्टरमा उपचारका क्रममा दुई जनाको मृत्य भएसँगै मृतकको संख्या १९ पुगेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक प्रकाश दाहालले बताए ।
प्रहरी नायव उपरीक्षक दाहालका अनुसार दुर्घटनामा परि मृत्यु हुनेहरुमा त्रिपुरासुन्दरी गाउँपालिका–४ धादिङका ३० वर्षिय ईन्जिनियर ठकुरी, पोखरा महानगरपालिकाका–३ कास्कीका ४० वर्षिय विवेक बास्तोला, वालिङ– १४ स्याङ्जाका ६३ वर्षिय चन्द्र बहादुर कुँवर, व्यास गाउँपालिका– ४ तनँहुका ४० वर्षिय ओम कुमार मल्ल, शुक्ला गण्डकी गाउँपालिका–७ तनहुँका ५५ वर्षिय विष्णु माया ढकाल, काठमाडौं महानगरपालिका– ६ बौद्ध टुसालका ४२ वर्षिय लोप्साङ गोले, भिमान नगरपालिका– ६ तनहुँका ४५ वर्षिय हरि प्रसाद सिग्देल, तानसेन नगरपालिका– २ पाल्पाका ५५ वर्षिय नविन्द्र श्रेष्ठ रहेका छन् ।
त्यसैगरी, शुक्लागण्डकी गाउँपालिका– ७ तनहुँका ६३ वर्षिय रुद्र प्रसाद ढकाल, शुक्लागण्डकी गाउँपालिका–२ का २० वर्षिय अर्चना पौडेल, पोखरा महानगरपालिका– १४ कास्कीका २१ वर्षिय अञ्जली क्षेत्री, माछापुछ्रे गाउँपालिका–३ कास्कीका २१ वर्षिय रोहित नेपाली, पुतलिबजार नगरपालिका–६ स्याङ्जाका ४५ वर्षिय धनश्याम सुवेदी, काठमाडौं महानगरपालिका– ३२ बुद्धनगरकी ३३ वर्षिय अनिशा महर्जन, उर्लाबारी–१ मोरङका २७ वर्षिय हिरा चौधरी, पोखरा महानगरपालिका–१९ का २६ वर्षिय सुजित नेपाली रहेका छन् ।
त्यसगरी, दुर्घटनामा परि तीन जना विदेशी नागरिकको ज्यान गएको छ । मृत्यु हुनेहरुमा २४ वर्षिय ब्रिटिस नागरिक Stewart Dominic Ethan, उत्तर प्रदेश प्रान्त भारतका ३२ वर्षिय मनिष सुक्ला र चिनियाँ नागरिक ४० वर्षिय ZHANG, CHUNCHUN रहेको प्रहरी नायव उपरीक्षक दाहालले जानकारी दिए ।
दुर्घटनामा परी घाइते भएका २७ जनाको घटनास्थलबाट उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक सुमित खड्काले बताए । ‘बसमा ४४ जना सवार रहेका थिए । घटनास्थलमै १७ जनाको ज्यान गयो । तर रातको समय भएपनि तत्काल उद्धारमा लाग्दा धेरै घाइतेहरुलाई उद्धार गर्न सफल भएको हो’ उनले भने ।
‘सवाँ एक वजे खवर पाएपछि उद्धारमा खटिएको हो । सडकबाट खसेको बस नदी किनार नजिकै थियो । अप्ठ्यारो ठाउँमा रहेकोले उद्धारमा समस्या रह्यो’ उनले भने– ‘दुर्घटना भएको जानकारी पाउने वित्तिकै तिन वटै सुरक्षा निकाय, स्थानीय सरकार र स्थानीयको सहयोगमा उद्धारमा खटियौं । घटनास्थलबाट घाइतेहरुलाई सडकसम्म ल्याउन सिधै माथि सम्भव थिएन । अप्ठ्यारो ठाउँमा रहेकाले ३ वटा बोटको सहायताले उद्धार गरियो । सडक छेउमा रहेको बारलाई तोडेर बस त्रिशुली किनारमा खसेको छ । ओभार स्पिड पनि देखिएको छ । दुर्घटनाको कारण बारे थप अनुसन्धान भइरहेको छ ।’
५ घण्टापछि घाइतेको उद्धार
राती दुर्घटनामा च्यापिएका ललितपुर इमाडोलका २७ वर्षीय कृष्णराज मानन्धरको ५ घण्टापछि जिवितै उद्धार गरिएको छ । मानन्धरलाई दुर्घटनाग्रस्त गाडीले चेपिएको अवस्थामा उद्धार गरिएको उद्धारकर्ता अरुण थपलियाले बताए ।
थपलियाका अनुसार मानन्धरलाई गाडीले चेपिएको थियो । शरिरका अन्य भागहरु सकुसल रहेपनि खुट्टा चेपिएकाले फलामहरु काटेर मात्र निकाल्न सकिएको हो । उद्धारका सामाग्री नहुदाँ निकै सास्ती खेप्नु प¥यो । उद्धारकर्ता र घाइते सबैलाई सास्ती नै भयो । राती सवाँ एक वजेदेखि चेपिएकै अवस्थामा रहेका मानन्धरलाई ६ वजे विहान मात्रै उद्धार गरिएको उनले बताए ।
देशकै लाइफलाइन मानिने पृथ्वी राजमार्ग ६८ भन्दा बढी जिल्लालाई संघीय राजधानीसँग जोड्ने मूख्य मार्ग हो । हरेक वर्ष ठूला दुर्घटनाहरु व्यहोरिरहेका छन् । तर पूर्व तयारी र अति आवश्यक उद्धार सामाग्री समेत अभावका कारण यस्ता दुर्घटनामा धेरैले ज्यान गुमाउनु परेको उनले बताए ।
उद्धार सामाग्री अभावले धेरैको ज्यान गयोः उद्धारकर्ता थपलिया
बस भताभुङ्ग थियो, पार्टपुर्जाहरु यत्रतत्र छरिएका थिए । यात्रुहरु कोहि त्रिशुलीमा, कोही किनारमा त कतिपय भिरमा लडीरहेका थिए । कसैको टाउको थिएन, कसैको ज्यानै थिएन । कतिपयको हातखुट्टा थिएन । मर्नेहरु त मरेर गए तर दर्दनाक अवस्था रहेकाहरुले सहयोग माग्दा समेत उद्धार गर्नेहरु पनि कोही थिएनन् । भिरमा रातीको समय न माथिबाट झर्ने ठाउँ न यता र उताबाट घटनास्थल पुग्ने ठाउँ । निकै अप्ठ्यारोमा उद्धार गरेका उद्धार कर्ता अरुण थपलिया भन्छन्– ‘सिमित उद्धार सामाग्रीबाट पनि धेरै घाइतेहरुको उद्धार गरियो । धेरैको ज्यान त बच्यो । तैपनि, पर्याप्त उद्धार सामाग्री भएको भए धेरैलाई बचाउन सकिन्थ्यो जस्तो लाग्छ ।’
अरुण ¥याफ्टिङ व्यवसायी तथा गाइड हुन् । उनी सुतिरहेका थिए । छिमेकीहरुले त्रिशुलीमा बस खस्यो भनेर उद्धार गर्न बोलाए । तर फोर्स लाइट, हाइड्रोलिक कटर, चेन पुल्ली लगायत उद्धारका सामग्री नहुँदा घटनास्थल पुग्न समय लागेको उनले बताए ।
राती बोट बोकेर भिरभिरै बस झरेको सडक छेउबाट दुर्घटनास्थल झरेको थपलिया बताउँछन् । ‘दुर्घटनास्थल पुग्दा निकै दर्दनाक अवस्था थियो । सबैलाई बचाउने चाहना भएर पनि सकिएन । ३÷४ घण्टाको निरन्तर प्रयासपछि उद्धारको काम सक्यौं’ उनले भने– ‘१७ जनाको घटनास्थलमै ज्यान गयो । तर यदि हामीसँग आवश्यक सबै खालका उद्धार सामाग्री थियो भने अन्य १० जनालाई बचाउन सक्ने अवस्थामा पनि हुन सक्थ्यो । ति १० जना छट्पटाइ रहेका थिए, बोलिरहेका थिए । उद्धारका सामाग्री र ज्ञान पूर्ण थिएन । करिव एक घण्टा कुर्दा आफ्नै अगाडी धेरैले संसार छाडे ।’
दुर्घटना भएको सूचना पाउने वित्तिकै उद्धारमा पुगेकाहरु मध्ये कुमार बस्नेत पनि एक हुन् । उनी घटनास्थल पुग्दा घाइतेहरु उपचारको पर्खार्ईमा छट्पटाइ रहेका थिए । कोही घिरिघिरी, केही बोल्दै त केही छट्पटाई रहेका थिए । अप्ठ्यारो ठाउँ रातको समय सकस हुँदा चाहे जसरी उद्धार गर्न नसकिएको उनले बताए ।
‘घाइते छट्पटाइ रहेका थिए । हामीले डुङ्गा लगायत अन्य उद्धारकर्मीहरुलाई बोलायौं । उहाँहरुलाई आउन करिव पौने एक घण्टा लाग्यो । त्यतिबेलासम्म आफ्नै आँखा अगाडी धेरैको ज्यान गई सकेको थियो । केही गर्नै सकिएन । उद्धार त चाँडै भएकै हो, धेरैलाई उद्धार पनि गरियो तर भन्ने वित्तिकै उद्धार सामाग्री र उद्धार गर्नेहरु भएको भए अझै धेरैलाई बचाउन सकिन्थ्यो कि भन्ने कुरा खड्की रहेको छ’ उनले भने ।
उद्धार सामाग्री पर्याप्त नभएकै होः प्रमुख जिल्ला अधिकारी सुवेदी
सोमबार जिल्लाका सबै सुरक्षा निकायका प्रमुखसहित सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेना, निर्वाचन प्रहरी र स्थानीय उद्धारकर्ताहरु उद्धारमा निकै खटिए । घटनास्थलमा पुगेका उद्धारकर्ताहरुले ज्यानकै बाजी दिएर उद्धार गरे ।
घटनास्थलमै भेटिएका प्रमुख जिल्ला अधिकारी उद्धार सामाग्री पर्याप्त नभएको स्वीकार्छन् । ‘उद्धारका क्रममा पर्याप्त फोर्स लाइट, भिरमा भएकोले त्यहि अनुसारको डोरी, क्रेन लगायतका अन्य सामाग्री भएको भए थप सहज हुन्थ्यो । ¥याफ्टिङ व्यवसायी, स्थानीय तथा सुरक्षा निकायहरुबाट गरिएको पहलले उद्धार गरियोे’ उनले भने– ‘राष्ट्रिय जोखिम न्युनिकरण तथा विपद व्यवस्थापन प्राधिकरणमा उद्धारका सामाग्री आवश्यक सामाग्री माग गरेका छौं । ति सामाग्री आयो भने सहज बन्छ । यो दुर्घटनाबाट हामीले अर्काे पाठ पनि सिकेका छौं । ¥याफ्टिङ व्यवसायी तथा स्थानीय युवाहरुलाई उद्धार सम्बन्धि तालिम दिनुपर्ने छ । त्यो योजनामा छौं ।’
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप
