रित्तिदै गाउँ, बाध्यता र विकल्पमा शहर

  • २०८२ श्रावण १९, सोमबार (१६ घण्टा अघि)
  • ८६ पटक पढिएको
रित्तिदै गाउँ, बाध्यता र विकल्पमा शहर

✍भुवन भण्डारी/जापान

Advertisement

नेपालमा विदेश जाने प्रवृत्ति नयाँ होइन । तर पछिल्लो दशकमा यो ‘प्रवृत्ति’ होइन, ‘लहर’ बनिसकेको छ । विदेश नगएको परिवार सायदै भेटिएलान् । गाउँहरू सुनसान छन्, ढोकाहरू थुनिएका छन्, आँगनमा खेल्ने बालबालिका छैनन्, केवल वृद्ध बाआमा र मायाँसँगै सम्झनाले भरिएका उज्यालो आशका सपनाहरु छन् ।
विदेशिने रहर कि बाध्यता?

देशमा अवसर छैन भन्ने बुझाइले गर्दा युवा पुस्ता विदेशिन बाध्य भएको जस्तो देखिए पनि प्रश्न उठ्छ—के साँच्चै अवसर छैन त? कि हामीले प्रयास नै गर्न छाडेका हौं? लाखौं रुपैयाँ ऋण उठाएर विदेश जाने सपना देख्छौं, तर त्यही लगानी देशमै गरेर व्यवसाय गर्ने सोचलाई हामी किन गम्भीरतापूर्वक लिंदैनौं?
विदेश जान गाउँको जग्गाजमिन धितो राखेर ऋण पाइन्छ । आफन्तले पनि ऋण पत्याउँछन् । तर देशमा व्यवसाय गर्ने हो भने बैंकले ऋण पत्याउदैन, आफन्त मुख फर्काउँछन् । कुनै पनि विचार वा योजनाभन्दा पहिला गोजीको मोटाइ हेर्ने परिपाटीले उत्साही युवालाई निरुत्साहित बनाएको यथार्थ नै हो ।

गाउँ छोड्ने सोच, शहरमुखी प्रवृत्ति

गाउँमा अब बालबालिका देखिन्नन् । पढ्ने उमेरका बालबालिकालाई शहरतिर बोर्डिङ स्कुलमा पठाइन्छन् । सरकारी स्कुलमा पढाइ राम्रो हुदैन । सरकारी स्कुलमा पढेर केही हुदैन भन्ने सोच यत्रतत्र मौलाएको छ । अचम्म त के छ भने, जनप्रतिनिधि र त्यही सरकारी विद्यालयमा पढाउने शिक्षकहरू समेत आफ्ना सन्तानलाई निजी विद्यालयमा पढाउँछन् । आफूले बनाएको नीति र पढाएको शिक्षामाथि पनि विश्वास नगर्ने अवस्था बनिसकेको छ । अनि कसलाई दोष दिनु ।
सरकारी विद्यालयहरूमा विद्यार्थीको संख्या घट्दै जाँदा कतिपय विद्यालय मर्ज भए, कतिपय तह घटाइए । लाखौं खर्च गरेर बनाइएका विद्यालय भवनहरू सुनसान छन्, जिर्ण हुँदैछन् । झ्याल ढोका झुण्डिएका छन् । गाउँको बासिन्दा शहरमुखी बनेका छन्, खेत बाँझिएका छन् । विकास गाउँ पुग्यो, नागरिक शहर । गाउँले मुहार फेर्दा मुुस्कुराउदै हेर्ने कोही भेटिन्नन् ।

विदेशको चमक र यथार्थको खाडल

विदेशमा गएका सबैले सफलता पाउँदैनन् । केहीले राम्रो कमाए होलान्, तर एजेन्टको झुटा प्रलोभनमा परी छिट्टै धनी बन्ने सपनाले पुर्खाको थलो धितोमा राख्दा त्यो समेत गुमाएका छन् । टन्न पैसा कमाउने सपना देखेकाहरुले सपना देख्ने गरि सुत्न नपाएका थुप्रै उदाहरणहरु तपाई हाम्रै सामु छन् । अध्ययन, रोजगारी वा भविष्यको सपना बोकेर गएका हजारौं युवा आज मानसिक तनाव, बेरोजगारी र कानुनी समस्यामा परेका तीतो यथार्थ हामीसँगै छ ।

अचम्म त के छ भने, नेपालमा मान–अपमानको डरले जुन काम गर्न हामी हिच्किचाउँछौं, त्यही काम विदेशमा आत्मसम्मानका साथ गर्छौं । होटल, रेस्टुरेन्ट, क्लिनिङ, वा स्टोरमा काम गर्दा हामी गर्व गर्छौं, किनभने “यहाँ पैसा छ, कसैले देख्दैन” भन्ने सोच हावी हुन्छ । तर के पैसा नै सबैथोक हो?
दोष नेतामात्र होइन, सोचमा छ

हामी नेताहरूलाई गाली गर्छौं, देशलाई दोष दिन्छौं । तर चुनाव आउँदा चाहिँ विचार होइन, पार्टी हेर्छौं, पैसा हेर्छौं । जनताले राजनीति विचारभन्दा पार्टी र पैसाको आधारमा मतदान गर्दा सच्चा परिवर्तनको सम्भावना हराएको छ, विचार गुमेको छ ।
राजनीतिक दलले पनि विचारको मूल्यांकनभन्दा पैसावालालाई अघि बढाउँछन् । यस्तो अवस्थाले इमानदार, लगनशील, र देशप्रेमी युवाको स्थान कहिल्यै सुनिश्चित हुँदैन । सुधारको बाटोमा हिँड्न खोज्ने धेरै युवा निराश हुँदै विदेशिन्छन् ।

फर्कौं, तर दोष होइन, दिशा लिएर

कोही विदेश नगएकै राम्रो भन्ने होइन । तर विदेश जानुअघि वा गईसकेपछि आत्ममूल्यांकन आवश्यक छ । मैले जे मेहनत विदेशमा गरिरहेको छु, त्यही मेहनत देशमै गरेको भए के हुँदैनथ्यो?

विदेशमा बस्ने धेरैले मनमनै महसुस गर्छन् । यत्तिको लगानी, दुःख र समर्पण यदि देशमै गरेको भए, बाआमा अनि परिवारको साथमा रमाइन्थ्यो, गाउँको घर रित्तिंदैनथ्यो, पुर्खाको थलो बच्थ्यो । सँगै हुर्केका साथीभाई अनि ति डाँडा पाखा कति रमाउथिए होलान् ।

हामीले देशको दोष मात्रै होइन, समाधान पनि खोज्नुपर्छ । गाउँ फर्कौं । देशमै लगानी गरेर कृषि, पशुपालन, पर्यटन वा साना व्यवसाय गर्न सकिन्छ । अप्ठ्यारो छ, तर सम्भव छ ।

अब समय आयो—देश छोड्ने भीड होइन, देश बनाउने भीड बनौं । गाउँ फर्कौं, विश्वास फर्काऔं, बढ्दै गएको निराशालाई आशामा बदलौं अनि भविष्य फर्काऔं ।आफ्नै भूमि, आफ्नै माटोमा केही गरौँ ।

स्थानीय सरकारको भूमिका

संघीयतामा स्थानीय सरकार निर्णय सामथ्र्ययुक्त बलियो संरचना हो । अब उपलब्धिहीन, कार्यकर्ता केन्द्रित, टुक्रे बजेट र पहुँचमुखि अनुदानको अन्त्य गर्दै स्थायी रोजगारी सिर्जना गर्ने स्थानीय उद्योग सञ्चालनमा अघि बढ्न आवश्यक छ । प्रत्येक वर्ष “रोजगारी” र “सीप”का नाममा खर्च हुने बजेट कागज र फोटोमा सीमित रहँदै आएको अवस्थामा अब वास्तविक समाधान खोजिनुपर्छ।

गाउँ रित्तिंदै छन्, खेत बाँझिँदै छन्, र युवा विदेश पलायन भइरहेका छन् । यस्तो संकटको घडीमा पालिकाले आफ्ना स्रोत, सीप र साधनको प्रयोग गरी स्थानीय उत्पादनमा आधारित उद्योगहरू सुरु गर्नुपर्छ । जसमा बजेट व्यवस्थापन, कार्यान्वयन र विस्तारको जिम्मा स्थानीय तहले लिने र प्रत्येक बर्ष यसको दायरालाई फराकिलो बनाउदै जानुपर्छ । यसरी गाउँमै रोजगारी सिर्जना गरेर विदेश पलायन रोक्न सकिन्छ ।

विदेश रहरको शहर होइन, बाध्यताको पहाड हो । विदेशिएका युवाहरु पनि देशमै फर्कन चाहन्छन् । विकास गाउँ पुग्दा रोजगारी पनि सँगै पुगेको भए हामी स्वदेशमै फुल्न र फल्न पाउने थियौं । विदेशमा सिकेको सिप र कमाएका केही पैसा लिएर अझै नेपाल फर्कन चाहन्छौं, देशले वातावरण बनाइदियोस् भन्ने लाखौं युवा पर्खाईमा छौं । विदेशिएका लाखौं युवाका चाहना र सपनालाई सम्मान गर्दै योजना अघि सार्न सकोस्, हामी पनि देशमै मर्न चाहन्छौं ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट