मिडिया जागरण राष्ट्रिय अभियान धादिङबाट सुरु

  • २०८२ माघ १९, सोमबार (४ महिना अघि)
  • ११४ पटक पढिएको
मिडिया जागरण राष्ट्रिय अभियान धादिङबाट सुरु

काठमाडौं– आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन लक्षित गर्दै प्रेस काउन्सिल नेपालले निर्वाचन आचारसंहिता तथा मिडिया जागरण अभियान धादिङबाट सुरु गरेको छ। निर्वाचनका क्रममा राजनीतिक दल तथा सञ्चारमाध्यमबाट हुनसक्ने आचारसंहिता उल्लङ्घनका घटनालाई न्यूनिकरण  गरी निर्वाचन आचारसंहिता पालनालाई प्रभावकारी बनाउने उद्देश्यले अभियानको सुरुवात गरिएको हो ।

प्रेस काउन्सिल नेपालको आयोजनामा नेपाल पत्रकार महासंघ, धादिङको संयोजनमा निर्वाचन आचार संहिता र मिडिया विषयमा अन्तरक्रिया गरिएको हो । कार्यक्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष डाक्टर कुमार शर्मा आचार्यले निर्वाचनका समयमा पत्रकार तथा सञ्चार माध्यमले विशेष ध्यान दिनुपर्ने बताए । अनलाइन, रेडियो, टेलिभिजन र मुद्रित माध्यमले निष्पक्ष, सन्तुलित र तथ्यमा आधारित समाचार सम्प्रेषण गर्नुपर्ने भन्दै निर्वाचनको समयमा जिम्मेवार मिडियाले लोकतन्त्र सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए ।

नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले विगतका निर्वाचनलाई स्मरण गर्दै हरेक निर्वाचनमा पत्रकार तथा सञ्चार माध्यमले आचारसंहिता पालना गर्दै आफ्नो भूमिका निर्वाह गरेको बताइन्। स्वच्छ, निष्पक्ष र भयमुक्त वातावरणमा निर्वाचन सम्पन्न गर्न आसन निर्वाचनमा पनि जिम्मेवार बनेर पत्रकारिताको धर्म निर्वाह गर्न सबैमा अनुरोध गरिन्। । ‘निर्वाचन आचारसंहिता तथा मिडिया जागरण अभियान धादिङबाट सुरु गरिएको हो । पत्रकार आचारसंहिता छँदैछ, यसका साथै निर्वाचन आचार संहिता पनि पालना गर्न गराउन प्रतिबद्ध छौं’ उनले भनिन् ।

कार्यक्रममा सूचना विभागका महानिर्देशक छविन्द्र पराजुली, प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदी तथा प्रेस काउन्सिल नेपालका बोर्ड सदस्यहरूले निर्वाचन अवधिमा सञ्चारमाध्यम र सञ्चारकर्मीले पालना गर्नुपर्ने निर्वाचन आचारसंहिता, विगतको इतिहास, सम्भावित जोखिम लगायतका विषयमा आफ्नो धारणा राखेका थिए।  कार्यक्रममा सहभागीहरुले र विगतका निर्वाचन शान्तिपूर्ण रहेको र आसन्न निर्वाचन पनि शान्तिपूर्ण रहने विश्वास व्यक्त गरेका छन्।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट