काठमाडौं– भारतको ओडिशास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत अर्की एक नेपाली छात्रा मृत अवस्थामा फेला परेकी छन् । ओडिशाको स्थानीय सञ्चारमाध्यम ओटीभी अनुसार बिहीबार केआईआईटीको होस्टेलभित्र झुन्डिएको अवस्थामा नेपाली छात्राको शव फेला परेको हो ।
विश्वविद्यालय प्रशासनलाई उद्धृत गर्दै नयाँदिल्लीस्थित नेपाली दूतावासले घटनाको पुष्टि गरेको छ । वीरगन्जकी छात्रा बिहीबार साँझ केआईआईटीको छात्रावास ‘क्विन्स क्यासल–४’ (क्यूसी–४) को चौथो तलामा रहेको आफ्नै कोठामा मृत फेला परेकी हुन् । विश्वविद्यालयले नेपाली दूतावासलाई दिएको जानकारीअनुसार प्रहरीले घटनास्थल नियन्त्रणमा लिएको छ ।
‘बिहीबार करिब साढे ७ बजे नियमित जाँचका क्रममा उनले ढोका नखुलेपछि बलपूर्वक भित्र पसेर हेर्दा उनी मृत भेटिएकी बताइएको छ ।
दुई महिनाअघि केआईआईटीकै होस्टेलमा नेपाली छात्रा प्रकृति लम्सालको शव फेला परेको थियो । लम्सालको निधन रहस्यमयी भएको भन्दै कलेजमा अध्ययनरत विद्यार्थीहरूले प्रदर्शन गरेका थिए ।
विरोध प्रदर्शनका क्रममा नेपाली विद्यार्थीले आफूहरूमाथि जातीय तथा राष्ट्रिय पहिचानका आधारमा दुर्व्यवहार भएको र मानसिक त्रासदी र असुरक्षा महसुस गरिरहेको जनाएका थिए ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप