काठमाडौँ– दक्षिणी धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० को कोट थाप्केमा आजदेखि शैक्षिक सुधारका लागि सुझाव सङ्कलन सम्बन्धी गोष्ठी सुरु भएको छ । शैक्षिक सुधार र गुणस्तरीय शिक्षामा जोड दिने उद्देश्यले गोष्ठीको आयोजना गरिएको हो ।
गोष्ठीमा अभिभावक तथा शिक्षकहरूले विद्यालय शिक्षाको सुधारका लागि विभिन्न सुझावहरू दिएका छन् । अभिभावकहरूले विद्यालयमा विद्यार्थीहरूको नियमित उपस्थितिमा ध्यान दिनुपर्ने, पढाइसँगै अनुशासन र संस्कारमा पनि जोड दिनुपर्ने, विद्यालय र घरबीचको समन्वय अझ प्रगाढ बनाउनुपर्ने सुझाव दिएका छन् । त्यस्तै, शिक्षकहरूले पाठ्यक्रम परिमार्जनका साथसाथै सिकाइमा सहजीकरण गर्न आवश्यक स्रोत साधन उपलब्ध गराउनुपर्ने, विषयगत तालिम र प्राविधिक सहयोग निरन्तर रूपमा पाउनुपर्ने, विद्यालयमा वैज्ञानिक मूल्याङ्कन प्रणाली लागू गर्नुपर्ने, स्थानीय तहले विद्यालयको भौतिक संरचना तथा सिकाइ वातावरणमा विशेष ध्यान दिनुपर्ने लगायतका सुझावहरू दिएका छन् ।
कार्यक्रममा विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालयमा ल्याउने र उनीहरूलाई शिक्षामा निरन्तरता दिन अभिभावक, शिक्षक र समुदायबीच सहकार्यको आवश्यकता औल्याएका छन् । समुदायमा अझै पनि बालविवाह रहिआएको र बालविवाहले शैक्षिक क्षेत्रमा ठूलो प्रभाव परेको उनीहरूले बताएका छन् ।
बेनीघाट रोराङ गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर थपलिया (विवेक)ले शिक्षालाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए । “शिक्षा सुधारका लागि यो गोष्ठी एउटा अभियान हो । गत वर्षदेखि यस्ता अभियानहरू सञ्चालन गर्दै आएका छौं । यहाँबाट प्राप्त भएका सुझावहरूलाई कार्ययोजनामा परिणत गरेर विद्यालयको गुणस्तर सुधारमा गाउँपालिका अग्रसर हुनेछ” उनले भने ।
गोष्ठीमा सहभागी सरोकारवालाहरूले आगामी दिनमा विद्यार्थीको सिकाइ उपलब्धि मापन, शिक्षक अभिवृद्धि तालिम, र विद्यालय–समुदाय सहकार्य कार्यक्रम सञ्चालन गर्ने प्रतिवद्धता समेत जनाएका छन् ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप