





























धादिङ- तमु गुरुङ समुदायको महान चाड तमु ल्होसार त–ल्हो (घोडा वर्ष) २०८२ को अवसरमा धादिङ जिल्लाका विभिन्न स्थानमा धार्मिक, सांस्कृतिक तथा परम्परागत कार्यक्रम आयोजना गरी भव्य रूपमा मनाइएको छ ।



जिल्लाको सदरमुकाम धादिङबेसीमा शुभकामना आदान–प्रदान कार्यक्रमसहित बृहत् सांस्कृतिक कार्यक्रम गरिएको छ । तमु ह्युला छोज धी गुरुङ राष्ट्रिय परिषद, तमुस्यो ह्युला छोज धी गुरुङ महिला राष्ट्रिय परिषद, नेपाल तमु गुरुङ विद्यार्थी छोज धी तथा धादिङबेसी तमु समाजको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा तमु गुरुङ समुदायका अगुवा, बुद्धिजीवी, महिला, विद्यार्थी तथा स्थानीयहरूको उल्लेख्य सहभागिता रहेको थियो।
कार्यक्रममा परम्परागत गुरुङ भेषभूषा, घाटु, सोरठी लगायतका मौलिक नृत्य तथा सांस्कृतिक प्रस्तुतीहरू प्रदर्शन गरिएको थियो । वक्ताहरूले तमु ल्होसारले गुरुङ समुदायको ऐतिहासिक पहिचान, भाषा, संस्कृति र परम्पराको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्दै आएको बताएका छन् । साथै, नयाँ वर्ष त–ल्हो (घोडा वर्ष) ले सम्पूर्ण समुदायमा सुख, शान्ति, समृद्धि र आपसी सद्भाव ल्याओस् भन्ने शुभकामना व्यक्त गरिएको थियो।
नीलकण्ठ नगरपालिका–१३ काप्रे गाउँमा पनि विभिन्न सांस्कृतिक कार्यक्रम गरि मनाइएको छ । सांस्कृतिक कार्यक्रमसहित विभिन्न प्रकारका खेलहरुको प्रतिस्पर्धा गरिएको थियो । ल्होसारले मनोरञ्जनमा मात्र नभई कला संस्कृतिको जगेर्णा र संस्कृति पुस्तान्तरणमा पनि ठूलो योगदान पुग्ने आयोजकले जनाएको छ ।
यसैगरी, गंगाजमुना गाउँपालिका–३ गुम्दीमा तमु ल्होसार विशेष मेला आयोजना गरिएको छ। मेलाअन्तर्गत परम्परागत गोरु जुधाइ, स्थानीय खेलकुद प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रम सञ्चालन गरिएका थिए। मेलामा स्थानीय कलाकारहरूको प्रस्तुतीसँगै समुदायको मौलिक संस्कृतिलाई जगेर्ना गर्ने उद्देश्यले विभिन्न गतिविधि समेटिएको थियो। मेलाले गाउँमा चाडपर्वको उत्साह थप्दै सामाजिक मेलमिलाप र आपसी सम्बन्ध सुदृढ बनाएको स्थानीयवासीहरूले बताएका छन् ।
यस्तै, नीलकण्ठ नगरपालिका–१ धुसेनीमा धुसेनी गोरु जुधाइ तथा विविध सांस्कृतिक कार्यक्रम गरि ल्होसार मनाइएको छ । धुसेनी गोरु जुधाइ समितिको आयोजनामा सम्पन्न कार्यक्रममा परम्परागत गोरु जुधाइसँगै सांस्कृतिक कार्यक्रम, लोकनृत्य र मनोरञ्जनात्मक कार्यक्रम प्रस्तुत गरिएको थियो । यस्ता कार्यक्रमले परम्परागत संस्कृतिको संरक्षणसँगै नयाँ पुस्तालाई आफ्नो मौलिक पहिचानबारे पुस्तान्तरण हुने आयोजकले जानकारी दिएको छ ।
यसैगरी, गङ्गाजमुना गाउँपालिका–३ गुम्दीमा पनि तमु ल्होसार विशेष मेला गरि ल्होसार मनाइएको छ । मेला अन्तर्गत परम्परागत गोरु जुधाइ सहित विभिन्न खेलकुद प्रतियोगिता सञ्चालन गरिएको थियो । मेलाले स्थानीय संस्कृतिको संरक्षणसँगै पर्यटन प्रवद्र्धनमा समेत टेवा पु¥याएको आयोजकले जनाएको छ ।
तमु ल्होसार गुरुङ समुदायले नयाँ वर्षको रूपमा मनाउँदै आएको प्रमुख सांस्कृतिक पर्व हो। यस अवसरमा कुलदेवता र प्रकृतिप्रति सम्मान व्यक्त गर्दै आपसी सद्भाव, एकता र सांस्कृतिक पहिचान सुदृढ गर्ने परम्परा रहिआएको छ । धादिङमा मनाइएका ल्होसार कार्यक्रमहरूले जिल्लाको बहुसांस्कृतिक पहिचानलाई थप उजागर गरेको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप
