





























काठमाडौं- अस्पतालको भिडभाड अनि होहल्ला । विरामीहरुको पीडा र ऐँठनले वार्ड गुञ्जिएको छ । डाक्टर तथा नर्सहरु विरामीको उपचारमा व्यस्त छन् । विरामी कुरुवा तथा भेटघाटका लागि आएका आफन्तहरुरुको उस्तै भिड छ । तर यही भीडभाडको बीचमा, अस्पतालको एउटा वेडको कुनामा टोलाइरहेका चितवनको राप्ती नगरपालिका–१२ की सानीमाया चेपाङ र उनकी माइली छोरी रस्मिताको पीडा भने मौन छ । भारी वेदना बोकेको त्यो सन्नाटा, गरिबी, बेवास्ता र नागरिकताविहिन बन्द राज्यबाट छुटिएको सेवा सुविधा जस्ता पीडाको कथा निकै गहिरो छ ।



१४ वर्षमा विहे गरेर १५ वर्षकै कलिलो उमेरमा आमा बनेकी सानीमायाँले स्कुलको अनुभव गर्न पाइनन् । हजुरआमा–हजुरबुबाको दबाबमा १४ वर्षमै विवाह भएको उनी बताउँछिन् । एक वर्षपछि सानीमायाँले १५ वर्षको उमेरमा जेठी छोरी सुस्मिता चेपाङलाई जन्म दिइन् । ३० वर्षको उमेरमा उनले ४ सन्तानलाई जन्म दिइ सकेकी छिन् । विवाह भइ सकेकी १५ वर्षिय जेठी छोरी र १४ वर्षिय विरामी माइली छोरी रस्मिताले पनि अहिलेसम्म स्कुल टेकेकी छैनन् ।
१० वर्षीय छोरा प्रेम र ७ वर्षीया छोरी पबिना स्कुल त जान थालेका छन् । तर जन्मदर्ता नभएका कारण उनीहरुको विद्यालयको ढोका कहिलेबाट बन्द हुने हो थाहा छैन । यि चार बालबालिकाको जन्मदर्ता मात्र होइन, सानीमायाँको नागरिकता र विवाह दर्ता समेत छैन । सानैदेखि जिम्मेवारीको गह्रौं भारी बोकेकी सानीमायाको जीवन निरन्तर संघर्षमै बितिरहेको छ ।

‘बुबाको मृत्यु भयो, मृत्यु दर्ता पनि हरायो । गाउँमा बस्दा भाइहरुले नागरिकता बनाएपनि मेरो छुट्यो’ उनी भन्छिन्– ‘श्रीमान बुद्धिलाल चेपाङको नागरिकता छ । मेरो पनि नागरिकता बनाउन मिल्छ भन्ने सुनेको छु । मेरो नागरिकता बने छोरा छोरीको जन्मदर्ता पनि बन्ने थियो । तर नागरिकता बनाउन लाग्ने खर्च समेत नहुदा समस्यामा परेको छु ।’
अहिले नागरिकता बनाउन लाग्ने खर्चसमेत जुटाउन नसक्दा उनी राज्यका सबै सेवाबाट वञ्चित छिन् । नागरिकता बनाउन नसक्दा उनीलाई मात्र होइन, उनको परिवारमा ठूलो समस्या परेको छ । छोराछोरीको जन्मदर्ता बनाउन विद्यालयका शिक्षकहरूले पटक–पटक आग्रह गरे पनि आमाकै नागरिकता नभएकाले प्रक्रिया रोकिएको छ । उनी भन्छिन्– ‘परिवारका दुई सन्तान अहिले विद्यालय जान थालेका छन् । तर कागजात अभावले उनीहरूको भविष्य अनिश्चित बन्दै गएको छ । सर मिसले छिटो जन्मदर्ता लिएर आउनु भन्नु हुन्छ । तर मेरो नागरिकता बनाउने पैसा छैन । पैसाकै कारण नागरिकता बनाउन सकिएको छैन । मेरो नागरिकता नहुँदा छोराछोरीको पढ्ने सपना पनि अधुरै हुने भयो ।’
पाउने राज्यका आधारभूत सेवा उनीहरूका लागि सपना मात्रै बनेका छन् । रस्मिताको खुट्टामा घाउ भएर धादिङ अस्पताल आएको सानीमायाँ बताउँछिन् । उनीहरुसँग न कागजपत्र छ, न त उपचार गर्ने पैसा नै । अपरेशन गरेकी रस्मितालाई अझै केही दिन अस्पतालमै भर्ना भएर बस्नु पर्ने डाक्टरले सुझाव दिएका छन् । गरिबीका कारण धादिङ अस्पतालले पनि निशुल्क उपचारसँगै खाने सुविधा दिएको अस्पतालले जनाएको छ । ‘वेडमा उपचार गरिरहेको छोरी हेर्छु, पोल्टामा पैसा छैन । धन्न अस्पतालले अपरेसन समेत निशुल्क गरिदियो । नत्र मेरो छोरीको खुट्टा कुहिने रहेछ’ आँखा रसिलो पार्दै उनले भनिन् ।
सानीमायाँलाई नागरिकता बनाउने ठूलो रहर छ । तर नागरिकता बनाउन आउने जाने र लाग्ने खर्च अभावले उनको सपनाहरु तुहिएका छन् । उनीको परिवार ३ वर्षदेखि धादिङको मलुखेस्थित साहुको घरमा बसेर काम गर्छन् । गाँस, बास, र कपास साँहुले नै हेरिदिएको उनी बताउँछिन् । ‘साँहुसँग मागौं भने घर बनाइराख्नुभएको छ । उहाँलाई पनि कति दुख दिनु । हातमा एक रुपियाँ छैन । कसैसँग सरसापट मागौं भने पनि कसरी तिर्ने भन्ने चिन्ताले पिरोल्छ । मैले त पढ्न पाइँन्, नागरिकता नभएकै कारण सरकारी सेवा तथा सुविधाबाट समेत बञ्चित बनेँ । तर छोराछोरीको भविष्यले सताइरहन्छ । एउटा नागरिकता चाँहि बनाउन पाए हुन्थ्यो, सहयोगको अपेक्षा छ ।’
नागरिकता, जन्मदर्ता र सरकारी सेवा सुविधा सबै उनका लागि आज जीवन–मरणसँग जोडिएका विषय बनेका छन् । तर न उनी सेवा प्रदायकसम्म पुग्न सकेकी छिन् । न त सरोकारवाला निकायले उनीहरुको समस्या समाधानमा चासो देखाएको छ ।
सानीमायाँ गरिबी, बालविवाह र कागजात अभावले राज्यका सेवाबाट बञ्चित रहेका थुप्रै विपन्न चेपाङ समुदायको प्रतिनिधि पात्र हुन् । धादिङको बेनीघाट रोराङ गाउँपालिकाको तथ्याङ्कलाई मात्रै हेर्ने हो भने ३० प्रतिशत महिलाहरु २० वर्षमुनि नै आमा बनेका छन् । नागरिकता र जन्मदर्ता जस्ता कागजपत्र अभावका कारण पालिकाले दिने पोषण खर्च समेत ३७० जनामध्ये १९८ जनाले मात्रै लगेको बेनीघाट रोराङ गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख रमेश अर्यालले जानकारी दिए ।
नेपालमा चेपाङ जातिको जनसंख्या ८४ हजार ३ सय ६४ रहेको नेपाल चेपाङ संघ बागमती प्रदेश समितिको कोषाध्यक्ष उद्धव चेपाङले बताए । मूख्यतः, चितवन, धादिङ, मकवानपुर र गोर्खामा बसोबास रहेका छन् । ‘उमेर पुगेका झण्डै ३० प्रतिशत चेपाङ समुदायसँग नागरिकता छैन । नागरिकता नभएकै कारण उनीहरु सरकारी सेवा तथा सुविधाबाट बञ्चित छन् । करिव ७० प्रतिशत चेपाङ समुदायले अझै पनि बालविवाह गरेको तथ्याङ्क छ । सरकारी तथा गैर सरकारी संघ संस्थाले चेपाङ समुदाय लक्षित विविध कार्यक्रम गरेपनि लक्ष्य अनुरुप चेपाङ समुदायको विकास र परिवर्तन अझै हुन सकेको छैन’ उनले भने ।
पछाडि पारिएको चेपाङ समुदायको अवस्था आज पनि राज्यका नीति, योजना र सेवाको पहुँचभन्दा धेरै टाढा छ । विकासको मूलधारमा जोडिनु त परै जाओस्, जन्मदर्ता र नागरिकताजस्ता कागजपत्र नहुदा शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा र रोजगारीका अवसर तथा सिमान्तकृत समुदाय भएकै कारण पाइने अवसरबाट समेत उनीहरु बञ्चित छन् । सामान्य कागजपत्र समेत बनाउन नसक्ने अवस्थाका चेपाङ समुदायको पीडाले तिनै तहको सरकार तथा सरोकारवाला निकायहरुलाई गिज्याई रहेको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप
