राजनीतिक गठबन्धनले महिला प्रतिनिधित्व खुम्चियाे : पूर्वराष्ट्रपति भण्डारी

  • २०८२ पौष ३०, बुधबार (४ मिनेट अघि)
  • ७ पटक पढिएको
राजनीतिक गठबन्धनले महिला प्रतिनिधित्व खुम्चियाे : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौँ–  पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलहरूबीच हुने गठबन्धनकै कारण महिलाहरू राजनीतिक प्रतिनिधित्वबाट पछाडि पर्दै गएको बताएकी छिन् । संविधानले सुनिश्चित गरेको महिला सहभागिताको अधिकार समेत व्यवहारमा प्रभावकारी रूपमा कार्यान्वयन हुन नसक्नु चिन्ताको विषय रहेको उनले बताइन् ।

धादिङको बेनिघाट रोराङ गाउँपालिकामा आयोजित पालिकास्तरीय सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन समारोहको सम्बोधन गर्दै पूर्वराष्ट्रपति भण्डारीले संविधानले एक तिहाइ महिला सहभागिताको व्यवस्था गरे पनि राजनीतिक दलहरूले त्यसलाई व्यवस्था गरेको बताइन्।

संविधान र कानुन बनेपनि महिलालाई सहभागिता नगराइएको उनले बताइन् ।“राजनीतिक दलहरूको गठबन्धनले महिलाहरूलाई पछाडि पार्यो । संघीय संसददेखि स्थानीय तहसम्म महिलाको उपस्थिति क्रमशः घट्दै जानु गम्भीर चिन्ताको विषय हो । तर कसैको ध्यान पुग्न सकेको छैन” उनले भनिन् ।

“गठबन्धनको नाममा हुने भागबण्डाले महिलालाई उम्मेदवार बन्ने अवसरबाट वञ्चित गरेको छ,” भण्डारीले भनिन्,- “यसले संविधानको मर्म र भावनालाई कमजोर बनाएको छ।

स्थानीय तहका पालिकाहरूमा समेत गठबन्धनकै कारण महिलाको अपेक्षित सहभागिता हुन सकेको छैन । संविधान कार्यान्वयन गर्ने मुख्य जिम्मेवारी राजनीतिक दलकै हो । गठबन्धन केन्द्रित राजनीतिले महिलालाई निर्णय प्रक्रियाबाट बाहिर राख्ने प्रवृत्ति बढाएको देखिन्छ ।”

पूर्वराष्ट्रपति भण्डारीले सामाजिक न्याय र समावेशिताका लागि जनप्रतिनिधिहरूलाई सकारात्मक सोचका साथ अघि बढ्न आग्रह गरिन् । साथै, राष्ट्रपति रनिङ शिल्डजस्ता खेलकुद कार्यक्रमलाई राजनीतिक विवादभन्दा माथि राखेर हेर्नुपर्नेमा उनले जोड दिइन् ।

कार्यक्रममा बेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर थपलिया (विवेक)ले खेलकुद कार्यक्रम स्वस्थ, अनुशासित र सक्षम पुस्ता निर्माणको आधार भएको बताए । पालिकाले यसको प्रवर्द्धनका लागि प्राथमिकताका साथ लगानी गरिरहेको उनको भनाई छ ।

कार्यक्रममा बागमती प्रदेशका पूर्व मुख्यमन्त्री शालिकराम जमकट्टेल, बागमती प्रदेशसभा सदस्य मायादेवी शर्मा लगायतले स्थानीय सरकारले खेलकुद क्षेत्रमा देखाएको चासो उदारणीय रहेको बताएका छन्। पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा गाउँपालिकाभित्रका १२ वटा माध्यमिक विद्यालय सहभागी रहेका छन् ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट