





























धादिङ- कारागार कार्यालय धादिङमा ७१ जना कैदीबन्दीले मतदान गरेका छन्। मतदान अधिकृत टेकप्रसाद कँडुवालका अनुसार ६८ पुरुष र ३ महिला गरी कुल ७१ जना कैदीबन्दीले आफ्नो मताधिकार प्रयोग गरेका हुन्।
मतदाता नामावलीमा नाम सिफारिस गर्ने क्रममा छुटेका कारण मतदाता परिचयपत्र र नामावलीमा नाम भएका पाँच जना कैदीबन्दी भने मतदानबाट वञ्चित भएका छन्। मतदान गर्न नपाएको भन्दै उनीहरूले असन्तुष्टि व्यक्त गर्दै मतदानको व्यवस्था मिलाउन माग गरेका छन्।
प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीसहित २५ जना कर्मचारीहरूले अस्थायी मतदान केन्द्र कारागारमा मतदान गरेका छन् । यससँगै कारागारभित्र कुल ९६ जनाले मतदान गरेका हुन्। नाम सिफारिस गर्ने क्रममा कर्मचारीहरूको पनि छुटेको पाइएको छ। जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरिक्षक सुमित खड्काले पनि मताधिकार प्रयोग गर्न पाएनन् । त्यस्तै अन्य कर्मचारीहरूले पनि मताधिकार प्रयोग गर्न नपाएको गुनासो गरेका छन्। मतदान गर्न अस्थायी मतदान केन्द्र कारागारमा पुगेका कर्मचारीहरूले मतदान गर्न नपाएपछि गुनासो गरेका हुन् ।
५ जना कैदीबन्दीसहित अन्य कर्मचारीहरूले पनि मतदान गर्न नपाएको गुनासो गरेपछि निर्वाचन कार्यालयसँग समन्वय गरिएको मतदान अधिकृत कँडुवालले बताए। सिफारिस प्रक्रियामा नाम छुटेकाले सहजीकरणको प्रयास भए पनि तत्कालका लागि उनीहरूको मताधिकार सुनिश्चित गर्न नसकिएको उनले जानकारी दिए ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप
