धादिङ– धादिङको रुवीभ्याली गाउँपालिका १ लिन्जोमा उत्तरी हिमाली क्षेत्रमा खर्क व्यवस्थापनसम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम शुरु भएको छ । उत्तरी धादिङको खर्क व्यवस्थापन गरी किसानको जीवनस्तर सुधार गर्ने उद्देश्यले तालिम दिएर तालिम दिन सक्ने जनशक्ति उत्पादन गर्न तालिमको आयोजना गरिएको हो ।
डिभिजन वन कार्यालय, धादिङको आयोजना र राष्ट्रिय प्रकृति संरक्षण कोष, गण्डकी जलाधार जलवायु उत्थानशील आयोजनाको सहयोगमा तालिम सुरु गरिएको हो । Green climate fund, IUCN, NTNC लगायत सहयोगी संस्थाहरु रहेका छन् । विज्ञान र परम्परागत स्थानीय ज्ञानको सम्मिलन–स्थानीय जलवायु उत्थानशील कार्यको सुदृढिकरण भन्ने नारा सहित शुरु गरिएको तालिमबाट आगामी दिनहरूमा अन्य हिमाली गाउँ–बस्तीतर्फ विस्तार गर्दै लैजाने योजना रहेको डिभिजन वन कार्यालय धादिङका प्रमुख विष्णु प्रसाद आचार्यले बताए ।
‘तालिममा विभिन्न सामुदायिक वन, उपभोक्ता समूह, गोठाला समुदाय, स्थानीय सरकारका प्रतिनिधि तथा सरोकारवालाहरूको सहभागिता रहेको छ । प्रशिक्षार्थीहरूलाई खर्क क्षेत्रको वैज्ञानिक व्यवस्थापन, वातावरणीय सन्तुलन, चरन व्यवस्थापन, जैविक विविधताको संरक्षण, जल स्रोत संरक्षण तथा हिमाली जीवनशैलीसँग जोडिएको परम्परागत ज्ञान र आधुनिक तालिमले हिमाली क्षेत्रमा रहेको खर्क अर्थात घाँसे मैदानको दीगो व्यवस्थापन, संरक्षण तथा उपयोगका विषयमा स्थानीय स्तरमै दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्य हो ।’
‘हिमाली क्षेत्रका खर्कहरू केवल घाँसे मैदान मात्र होइनन्, यी स्थानीय समुदायको जिविकोपार्जन, पशुपालन र परम्परागत जीवनशैलीसँग गहिरो रूपमा गाँसिएका छन् । तालिममार्फत समुदायमा प्रशिक्षक तयार पारेर दीर्घकालीन संरक्षणमा योगदान पुर्याउने लक्ष्य राखिएको छ’ उनले भने ।
५ गतेदेखि सुरु भएको तालिम ९ गतेसम्म चल्ने आयोजकले जानकारी दिएको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप