वन डढेलो सचेतना सप्ताह: धादिङमा सरोकारवालासँग अन्तरक्रिया 

वन डढेलो सचेतना सप्ताह: धादिङमा सरोकारवालासँग अन्तरक्रिया 

काठमाडौं– डिभिजन वन कार्यालय धादिङले वन डढेलो सचेतना सप्ताह सुरु गरेको छ। हिउँदको समयमा डढेलो लाग्ने क्रम बढ्ने हुनाले न्यूनीकरण गर्ने उद्देश्यले वन डढेलो सचेतना सप्ताह सुरु गरिएको हो ।

सचेतना नै सुरक्षा वन डढेलो विरुद्ध हाम्रो प्रतिबद्धता भन्ने मूल मर्मका साथ अभियान सुरु गरिएको हो। राष्ट्रिय वन संरक्षण तथा व्यवस्थापन कार्यक्रम अन्तर्गत डिभिजन वन कार्यालय धादिङले वन डढेलो नियन्त्रण सम्बन्धी सरोकारवालासँग अन्तरक्रिया तथा अनुभव आदानप्रदान गरी सप्ताहको सुरु गरेको हो।

यो आर्थिक वर्षमा ५ ठाउँमा २५.६३ हेक्टर क्षेत्रफलमा डढेलोले क्षति पुर्याएको डिभिजन वन प्रमुख रोशना पोखरेलले बताइन् । गत आर्थिक वर्षमा २३ ठाउँमा लागेको डडेलोले ३ सय १७ हेक्टर क्षेत्रफलमा क्षति पुगेको थियो । विशेषगरी फागुनदेखि असारसम्म डढेलोको जोखिम रहने गर्दछ । उनले भनिन्- डडेलोबाट सम्भावित जोखिमलाई कम गर्न सचेतना कार्यक्रमदेखि विभिन्न खालका आवश्यक सामग्रीहरु वितरण गर्दै आएका छौं । उपभोक्ता समिति, स्थानीय, स्थानीय सरकार, सञ्चार जगत तथा सरोकारवाला निकाय सबैको पहल हुन सके डढेलो न्यूनीकरण गर्न सकिन्छ ।

छलफल कार्यक्रममा उत्तरी धादिङको रुबीहाली गाउँपालिका देखि दक्षिणी धादिङको बेनीघाट गाउँपालिकासम्मका उपभोक्ता समितिका पदाधिकारीहरु, सरोकारवाला निकाय, सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो। नेपाल पत्रकार महासङ्घ धादिङका अध्यक्ष सीताराम अधिकारीले नागरिकलाई डडेलोबाट हुने नोक्सान र डढेलो लगाउनेहरूलाई हुने कानुनी कारबाहीको बारेमा जानकारी दिनुपर्ने बताएका छन्।

बाँदर भगाउन, बाघ स्याल लगायतका वन्यजन्तु भगाउन, बारीमा मल आउने आश, बालबालिकाको रमाइलो लगायतका कारणले डढेलो लाग्ने गरेको छलफलमा उपस्थित भएकाहरुले बताएका छन्। डडेलो नियन्त्रणमा सरोकारवाला निकायले चासो दिनुपर्ने उनीहरूको भनाइ छ।

लामो समयदेखि वृक्षारोपण अभियानमा सक्रिय भूमिरमण नेपालले डढेलो लागिसकेपछि त्यसको क्षति र पुरानै अवस्थामा फर्काउन भन्दा डढेलो लाग्नै नदिन र वृक्षारोपणमा जोड दिनुपर्ने बताएका छन्। २०४२ सालमा आफूले नाङ्गो डाँडालाई हरियाली बनाउने अभियानमा लाग्दाका अनुभवहरू बाँड्दै उनले वनजङ्गल नेपालको ठूलो सम्पत्ति रहेको बताउँदै यसलाई संरक्षण गर्न सबै सरोकारवाला निकाय लाग्नुपर्ने बताएका हुन्।

आज आइतबारदेखि सुरु भएको वन डढेलो सचेतना सप्ताहमा धादिङमा विभिन्न कार्यक्रमको तयारी गरिएको छ। सातै दिन फरकफरक कार्यक्रम गरी सचेतना फैलाउने र डढेलो नियन्त्रणमा योगदान पुर्याउने उद्देश्यले कार्यक्रमको तय गरिएको डिभिजन वन कार्यालय धादिङले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

खोजी गर्नुहोस

ताजा अपडेट