काठमाडौं- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी शनिबारबाट १० दिने चीन भ्रमणमा जाने भएकी छिन् । भण्डारी औपचारिक द्विपक्षीय भ्रमणमा नभई बेइजिङ र गान्सु प्रान्तमा आयोजित दुईवटा कार्यक्रमको मुख्य अतिथिका रूपमा चीन जान लागेकी हुन् ।
पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री केपी ओलीबिच छलफलपछि भ्रमण तय भएको हो । भ्रमणको स्वामित्व सरकार र एमाले दुवैले लिने गृहकार्य गरिएको एमालेले जनाएको छ ।
उनको भ्रमण दलमा एमाले सचिव तथा परराष्ट्र विभाग प्रमुख रहेका पूर्वउपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री रघुवीर महासेठ, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, एमाले नेता एवं पूर्वमन्त्री कर्णबहादुर थापा, एमाले नेतृ एवं पूर्वसांसद गोमा देवकोटा, स्वर्गीय मदन भण्डारीका भाइ डा. कैलाश भण्डारी, भण्डारी राष्ट्रपति हुँदाका प्रमुख स्वकीय सचिव डा. भेषराज अधिकारी र सार्वजनिक प्रसारण संस्थानका अध्यक्ष डा. महेन्द्र विष्ट हुनेछन् ।
भण्डारी, अधिकारी र विष्ट मदन भण्डारी फाउन्डेशनका सदस्यसमेत हुन् । भ्रमण दलमा बेइजिङमा चीनका लागि नेपाली राजदूत डा. कृष्णप्रसाद ओली पनि सहभागी हुनेछन् । सगरमाथा संवादका लागि काठमाडौं आएका ओली मंगलबार बेइजिङ फर्केका थिए ।
भण्डारी सुरुमा बेइजिङ, त्यसपछि गान्सु प्रान्त हुँदै सिचुआनको छेन्दु भएर स्वदेश फर्किने गरी दश दिनको भ्रमण–तालिका तय भएको छ । एमाले सचिव एवं भ्रमण दलका सदस्य महासेठले पूर्वराष्ट्रपतिको भ्रमण १० देखि १९ जेठसम्मका लागि तय भएको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप