उद्घोषण तालिम लिएका धादिङ गुम्दीका महिलाहरु भन्छन्– ‘अब कार्यक्रम चलाउँछौं’

उद्घोषण तालिम लिएका धादिङ गुम्दीका महिलाहरु भन्छन्– ‘अब कार्यक्रम चलाउँछौं’

काठमाडौं– धादिङको गङ्गाजमुना गाउँपालिका–३ गुम्दीका लालीमायाँ गुरुङले काखीमा सानी नानी च्यापेर एक सातासम्म उद्घोषण तालिम लिइन् । अहिले उनी कार्यक्रमको उद्घोषण र कार्यक्रममा भाषण गर्न सक्ने बनेकी छिन् ।

Advertisement

गाउँमा उद्घोषण तालिम आउदैछ भन्ने थाहा पाएर तालिममा सहभागी भएकी लालीमायाँ भन्छिन्– ‘कार्यक्रम सञ्चालन गर्ने तरिका र तयारी लगायतका विषयमा जानकारी भयो । बोल्न थालेपछि आउने रहेछ । अब विना डर र लाज कार्यक्रम चलाउन र आफ्ना कुरा राख्न सक्छौं ।’

धादिङको गङ्गाजमुना गाउँपालिकाले दुर्गम गाउँका महिलाहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरेको उद्घोषण तालिमपछि उनीहरु कार्यक्रम सञ्चालन र भाषण गर्न सक्ने भएका हुन् । लालीमायाँ जस्तै सोमती घले पनि काखीमा सानी नानी च्यापेरै तालिममा सहभागी भएकी थिइन् । सुरुका दिनमा परिचय राख्न डराउने उनी अहिले मञ्चमा ढुक्कले भाषण गर्न सक्ने भएकी छिन् । ‘गाउँमा हुने कार्यक्रम सञ्चालन गर्दै अनुभव बटुल्ने छौं । ८/१० वटा कार्यक्रम सञ्चालन गरेपछि राम्रो बोल्न सक्ने अपेक्षा छ’ उनले भनिन् ।

गाउँको एउटा कार्यक्रममा भाषण गर्न लगाउदा बोल्न नसकेर नाम मात्र भनेर विदा मागेको त्यो क्षण मंगली गुरुङले बिर्सन नसकेको बताउँछिन् । ‘त्यो दिन सम्झदा अहिले पनि मन आत्तिन्छ । तर यो तालिम लिएपछि निर्धक्क बोल्न सक्ने भएको छु । आफुले जानेको ज्ञान गाउँमा अरुलाई पनि बाड्नेछु’ उनले भनिन् ।

दुर्गा घलेले आफ्नो कुरा निर्धक्कसंग राख्न सहज भएको बताइन् । ‘उद्घोषकले के–कस्ता कुरामा ध्यान दिनुपर्छ, कसरी तयारी गर्ने, उद्घोषकले गर्न हुने र नहुने कामहरु के–के हुन्, कार्यक्रमको ढांचा र मोडेल, मिटिङको माईन्युट लगायतका विषयमा सिक्यौं ।’ उनले भनिन् ।

गङ्गाजमुना गाउँपालिका–३ का वडा अध्यक्ष राजकुमार गुरुङले एक साताको तालिमबाट धेरै कुरा सिकेको भन्दै व्यवहारमा लागु गर्न आग्रह गरे । ‘नाम भन्न नसक्ने दिदिबहिनीहरु मञ्चमा आएर कार्यक्रम चलाउने र भाषण गरेको देख्दा म आफै दंग परे । तपाईहरुको यो प्रगति देखेर खुसी लाग्यो । थप कार्यक्रम आवश्यक परे माग गर्नुहोला । तपाईहरुको क्षमता विकास लगायतका हरेक क्षेत्रमा वडाले योजना ल्याउन तयार छ’ उनले भने ।

गाउँपालिकाको कार्यपालिका सदस्य उजेलीमायाँ गुरुङ, आर्थिक तथा प्रशासन शाखा प्रमुख सुरेन्द्र ढुंगाना, महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख ईन्द्रकुमारी श्रेष्ठ, रोजगार शाखाका प्रमुख प्रमिता भट्ट, तालिमका प्रशिक्षक एवम पत्रकार अर्जुन श्रेष्ठ, सन्तोष श्रेष्ठ लगायतले तालिममा लिएका ज्ञानहरु व्यवहारमा लागु गर्दै सुन्दर भविष्यको शुभकामना दिएका छन् ।

धादिङको गङ्गाजमुना गाउँपालिकाले गृहणी महिला सशक्तिकरण कार्यक्रम अन्तर्गत महिलाहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले वडा नम्बर ३ मा आयोजना गरेको उद्घोषण तालिममा गङ्गाजमुना गाउँपालिका–३ र ४ का ३० जना महिलाहरु सहभागी रहेका थिए । ५ जेठदेखि सुरु भएको तालिम ११ गते एक कार्यक्रमकाविच समापन गरिएको छ ।

लेखकको बारेमा

  • ,

    स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%१%

    खोजी गर्नुहोस

    ताजा अपडेट