धादिङ– धादिङको गङ्गाजमुना गाउँपालिका–२ रिमा महिलाहरुलाई उद्घोेषण तालिमको शुभारम्भ गरिएको छ । गङ्गाजमुना गाउँपालिकाले महिलाहरुको नेतृत्व तथा क्षमता विकास गर्ने उद्देश्यले एक साताको उद्घोषण तालिमको आयोजना गरेको हो ।
गङ्गाजमुना गाउँपालिकाका–२ का अध्यक्ष बलबहादुर तामाङले महिलाको सक्रिय सहभागिता भएमात्रै विकास संभव रहेको बताए । तर दिदिबहिनीहरु आफ्ना कुरा राख्न सक्ने अवस्थामा हुनुहुन्न’ उनले भने– ‘वडा तथा पालिकाबाट विभिन्न खालका सेवाहरु प्रवाह भइ रहेका छन् । विकास निर्माण लगायतका काम भइ रहेका छन् । विभिन्न सहकारी तथा समूहमा उहाँहरु आवद्ध पनि छन् । तर ति कुराहरु खोजी गर्ने, प्रश्न गर्ने, कार्यक्रम सञ्चालन गर्ने, वडा तथा पालिकाको हरेक काम र गतिविधिको खोजी र चासो गर्ने यो तालिमले बनाउने छ ।’
अबको नेतृत्वमा महिलाको सहभागिता बढाउन यस तालिमले ठूलो सहयोग पुग्ने उनले बताए । ‘अब ०८४ मा महिला दिदिबहिनीहरु नेतृत्व तहमा पुग्नु पर्छ । घर भित्र चुलो र चौकोमा मात्र सिमित होइन अब महिलाहरु हरेक क्षेत्रमा अगाडी बढ्नु पर्छ । यो तालिमले नेतृत्व तहमा महिलाको सहभागिता बढाउन पनि भूमिका खेल्नेछ’ उनले भने ।
आफ्नो कुरा राख्न र कार्यक्रम सञ्चालन गर्न सक्ने बनाउन महिला दिदिबहिनीहरुलाई उद्घोषण तालिमको आयोजना गरिएको गङ्गाजमुना गाउँपालिकाका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाका प्रमुख इन्द्रकुमारी श्रेष्ठले बताइन् । ‘वडा नम्बर २ का ३० जना महिला दिदिबहिनीहरु तालिममा सहभागी रहेका छन् । तालिम पश्चात उहाँहरुकोे क्षमता विकासपछि गाउँको विकासमा चासो दिने र जुनकुनै ठाउँमा आफ्ना कुरा राख्न सक्ने छन्’ उनले भने– ‘यो तालिमले महिला दिदिबहिनीले आफ्ना कुरा र महिलाका सवालका विषयमा बोल्न सक्ने हुने छन् । महिला दिदिबहिनहरु अबको नेतृत्व लिन सक्ने गरी अघि बढ्न आवश्यक छ ।’
एक सातासम्म चल्ने उद्घोषण तालिममा पत्रकारहरु अर्जुन श्रेष्ठ र सन्तोष श्रेष्ठले सहजीकरण गरिरहेका छन् । एक सातासम्म चल्ने तालिममा उद्घोषण, भाषण कला, माइन्यूट लेखन लगायतका विषयमा सहजीकरण गर्ने आयोजकले जनाएको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप