काठमाडौं– धादिङको गङ्गाजमुना गाउँपालिका–२ का सुन कुमारी तामाङले काखीमा सानी नानी च्यापेर एक सातासम्म उद्घोषण तालिम लिइन् । अहिले उनी कार्यक्रमको उद्घोषण र कार्यक्रममा भाषण गर्न सक्ने बनेकी छिन् ।
गाउँमा उद्घोषण तालिम आउदैछ भन्ने थाहा पाएर तालिममा सहभागी भएकी सुन कुमारी तामाङ भन्छिन्– ‘कार्यक्रम सञ्चालन गर्ने तरिका र तयारी लगायतका विषयमा जानकारी भयो । बोल्न थालेपछि आउने रहेछ । अब विना डर र लाज कार्यक्रम चलाउन र आफ्ना कुरा राख्न सक्छौं ।’
धादिङको गङ्गाजमुना गाउँपालिकाले दुर्गम गाउँका महिलाहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरेको उद्घोषण तालिमपछि उनीहरु कार्यक्रम सञ्चालन र भाषण गर्न सक्ने भएका हुन् । सुन कुमारी जस्तै युना मायाँ तामाङ घले पनि कार्यक्रम सञ्चालन गर्न सक्ने बताउँछिन् । सुरुका दिनमा परिचय राख्न डराउने उनी अहिले मञ्चमा ढुक्कले भाषण गर्न सक्ने भएकी छिन् ।‘आज तालिम समापन समारोह कार्यक्रम सञ्चालन गरेँ । अब गाउँमा हुने कार्यक्रम सञ्चालन गर्दै अनुभव बटुल्ने छौं । ८/१० वटा कार्यक्रम सञ्चालन गरेपछि राम्रो बोल्न सक्ने अपेक्षा छ’ उनले भनिन् ।
‘यो तालिम लिएपछि निर्धक्क बोल्न सक्ने भएको छु । आफुले जानेको ज्ञान गाउँमा अरुलाई पनि बाड्नेछु । यो तालिम हाम्रो लागि निकै प्रभावकारी बनेको छ । आगामी दिनमा यस्तै तालिम भए अगाडी बढ्न सहज हुनेछ । तालिम आयोजक, प्रशिक्षक तथा सबैप्रति हार्दिक आभार व्यक्त गर्दछौं’ तालिममा सहभागी सेतीमायाँ तामाङले बताईन् ।
सृष्टि तामाङले आफ्नो कुरा निर्धक्कसंग राख्न सहज भएको बताइन् । ‘उद्घोषकले के–कस्ता कुरामा ध्यान दिनुपर्छ, कसरी तयारी गर्ने, उद्घोषकले गर्न हुने र नहुने कामहरु के–के हुन्, कार्यक्रमको ढांचा र मोडेल, मिटिङको माईन्युट लगायतका विषयमा सिक्यौं’ उनले भनिन् ।
उद्घोषण तालिम प्रभावकारी बनेको गङ्गाजमुना गाउँपालिकाका उपाध्यक्ष रामेश्वर सिंखडाले बताए । ‘एक सातामा महिला दिदिबहिनीहरुले धेरै कुराहरु सिक्नु भएको अनुभूति गरेँ । कार्यक्रम सञ्चालन गर्नु भयो । अनुभव सुनाउनु भयो । तपाईहरु निर्धक्क साथ बोल्नु भएको देख्दा तालिमको उद्देश्य पुरा भएको महसुस गरेका छौं । आगामी दिनमा यहाँहरुको सुन्दर भविष्यको शुभकामना’ उनले भने ।
गङ्गाजमुना गाउँपालिका–२ का वडा अध्यक्ष बलबहादुर तामाङ एक साताको तालिमबाट धेरै कुरा सिकेको भन्दै व्यवहारमा लागु गर्न आग्रह गरे । ‘नाम भन्न नसक्ने दिदिबहिनीहरु मञ्चमा आएर कार्यक्रम चलाउने र भाषण गरेको देख्दा म आफै दंग परे । तपाईहरुको यो प्रगति देखेर खुसी लाग्यो । थप कार्यक्रम आवश्यक परे माग गर्नुहोला । तपाईहरुको क्षमता विकास लगायतका हरेक क्षेत्रमा वडाले योजना ल्याउन तयार छ’ उनले भने ।
गाउँपालिकाको शिक्षा प्रमुख मान बहादुर बोहोरा, महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख ईन्द्रकुमारी श्रेष्ठ, रोजगार शाखाका प्रमुख प्रमिता भट्ट, तालिमका प्रशिक्षक एवम पत्रकार अर्जुन श्रेष्ठ, सन्तोष श्रेष्ठ लगायतले तालिममा लिएका ज्ञानहरु व्यवहारमा लागु गर्दै सुन्दर भविष्यको शुभकामना दिएका छन् ।
धादिङको गङ्गाजमुना गाउँपालिकाले गृहणी महिला सशक्तिकरण कार्यक्रम अन्तर्गत महिलाहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले वडा नम्बर २ मा आयोजना गरेको उद्घोषण तालिममा गङ्गाजमुना गाउँपालिका–२ का १७ जना महिलाहरु सहभागी रहेका थिए । १६ जेठदेखि सुरु भएको तालिम २२ गते एक कार्यक्रमकाविच समापन गरिएको छ । यस अघि ५ जेठ देखि एक साता गङ्गाजमुना गाउँपालिका–३ मा वडा नम्बर ३ र ४ का महिला दिदिबहिनीहरुलाई उद्घोषण तालिम दिइएको थियो ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप