काठमाडौं– सशस्त्र प्रहरी बल नेपाल, आश्रित गुल्म धादिङले स्थानीय तथा घरायसी सामाग्रीको प्रयोगबाट विपद् उद्धारको सामाग्री निर्माण गरि प्रदर्शनीमा राखेका छन् । पानीको खाली बोतल, चामलको रित्तो बोरा र घरी निकालिसकेको केराको थम्बाको प्रयोग गरि जीवनरक्षक सामाग्री निर्माण गरेका हुन् ।
धादिङको नीलकण्ठ नगरपालिकाले आयोजना गरेको ‘दोस्रो युवा सीप, तालिम तथा रोजगार मेला २०८२’ मा स्थानिय तथा घरायसी उद्धार सामाग्री प्रदर्शनीमा राखेका हुन् । बर्षातको समयमा विपत्तिमा फसेकाहरुको उद्दारका लागि स्थानीय सामाग्रीको प्रयोग प्रदर्शन गरिएको हो । प्रदर्शनमा पानीको बोतलबाट र केराको थम्बाबाट तयार गरिएका डुंगा, चामलको खाली बोरा र मिनिरल वाटर बोतलको लाइफ ज्याकेट र डोरीको प्रदर्शन गरेका हुन् । यी उपकरणहरू विशेषगरी बाढी, डुबान, नदी पार गर्नुपर्ने अवस्था वा आकस्मिक उद्दारमा अत्यन्त उपयोगी हुनेगरी निर्माण गरिएको हो । जुन उपस्थित भीड केवल हेर्न होइन, सिक्न र बुझ्न हतारिएको दृश्य आफैंमा प्रेरणादायी बनेको थियो ।
सशस्त्र प्रहरी बल नेपाल,आश्रित गुल्म धादिङले विपद् व्यवस्थापनमा स्थानीय स्रोतसाधनको अधिकतम उपयोग गर्ने लक्ष्यसहित उद्दार सामग्रीहरूको प्रदर्शन र व्यवहारिक तालिम कार्यक्रम सञ्चालन गरिएको सशस्त्र प्रहरी वल नेपाल नं. १७ गण चितवनका प्रहरी सहायक निरीक्षक एवं विपद उद्दार तालिम प्रशिक्षक रोशन पौडेलले बताए । प्रदर्शनीमा उपस्थित स्थानीयवासी, विद्यार्थी तथा सरोकारवाला निकायका प्रतिनिधिहरूले प्रत्यक्ष रूपमा भाग लिँदै यस्तो अभ्यास पहिलोपटक देखेको अनुभव सुनाएका छन् ।
‘पानीको बोतल र बोरा यस्तो काम लाग्छ भनेर हामीले कहिल्यै सोचेका थिएनौं’, प्रदर्शनीमा राखिएको सामाग्री अवलोकन गर्दै धादिङको नीलकण्ठ नगरपालिका–९ का पुजा बराइलीले भनिन्– ‘यो अभ्यासले समुदायमा आत्मबल र सीप दुवै अभिवृद्धि गराएको छ । हामीले जानौं गाउँम अरुलाई पनि सिकाउछौं ।’
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप