काठमाडौं– धादिङको गङ्गाजमुना गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ६२ करोड ११ लाख ६६ हजार बजेट प्रस्तुत गरेको छ ।
सोमबार गाउँसभाको १७ औं अधिवेशनमा गाउँपालिकाका उपाध्यक्ष रामेश्वर सिम्खडाले आगामी आर्थिक वर्षको लागि बजेट प्रस्तुत गरेका हुन् । जसमा संघिय समानिकरण अनुदान ११ करोड ८४ लाख, सर्शत अनुदान २२ करोड ६७ लाख, विशेष अनुदान १ करोड ६५ लाख, समपुरक अनुदान २ करोड २५ लाख र राजश्व बाँडफाँड ८ करोड ७९ लाख रहेको छ ।
यस्तै प्रदेश तर्फ समानिकरण अनुदान १ करोड २३ लाख ८९ हजार, सर्शत अनुदान १ करोड ९५ लाख ८३ हजार, विशेष अनुदान ६५ लाख, समपुरक अनुदान ३ करोड ४२ लाख र राजश्व बाँडफाँड ३ करोड १४ लाख २३ हजार ७९६ रहेको छ ।
समग्रमा संघिय सरकारबाट ४७ करोड २० लाख ७० हजार ५६१ र प्रदेश सरकारबाट १० करोड ४० लाख ९५ हजार ७९६ गरी ५७ करोड ६१ लाख ६६ हजार ३५७ र गाउँपालिकाको आन्तरिक आयबाट १ करोड र मौज्दात संचित कोषमा ३ करोड ५० लाख गरी ६२ करोड ११ लाख ६६ हजार ३५७ बजेट प्रस्तुत गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्जय बहादुर स्याङतानले जानकारी दिए ।
गाउँसभामा गाउँपालिकाका अध्यक्ष भक्त बहादुर लामाले आगामी आर्थिक बर्ष २०८२÷०८३ को नीति तथा कार्यक्रम प्रस्तुत गरे ।
नीति तथा कार्यक्रममा आधारभुत तहको अनिवार्य तथा निशुल्क र माध्यमिक तह निशुल्क शिक्षा पूर्णरुपमा कार्यान्वयन गरिने, आयुर्वेद स्वास्थ्य केन्द्र स्थापना पर्ने, बाह्य उत्पादित पेय पदार्थ निरुस्ताहित गरी घरेलु पेय पदार्थ दही,मही लस्सीहरु भोज भतेर र अन्य कार्यक्रममा प्रयोग गर्न प्रोत्साहन गर्ने, कृषि उत्पादनलाई प्रविधिमैत्री बनाई कृषकहरुको लागि आधुनिक कृषि यन्त्र उपलब्ध गराउने, खानेपानी, सरसफाई तथा स्वच्छता व्यवस्थापन, आन्तरिक रोजगार प्रवद्र्धनमा जोड जस्ता कार्यक्रम समावेश रहेका छन् ।
गाउँसभाकै अवसरमा गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवन गाउँपालिका अध्यक्ष लामाले उदघाटन गरेका छन् ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप