काठमाडौं– सरकारले नेपालमा वृक्षारोपणको २० वर्षे महाअभियान शुरु गर्ने भएको छ । अन्तर्राष्ट्रिय वृक्षारोपण दिवसका अवसर पारेर ‘सगरमाथा वृक्षारोपण महाअभियान २०२५–२०४५’ शुरु हुन लागेको हो ।
महाअभियान अन्तर्गत संघ, प्रदेश र ७५३ वटा स्थानीय तहमा एकै साथ वृक्षारोपण हुने छ । त्यसका लागि सम्बन्धित प्रदेश तथा स्थानीय तहस्थित जिल्ला वन कार्यालयका नर्सरीमा निःशुल्क बिरुवा प्रदान गरिने छ । संघ, प्रदेश र स्थानीय तहका सरकारी तथा सार्वजनिक, सामुदायिक तथा निजी खाली जग्गाहरूमा वृक्षरोपण गर्ने लक्ष्य रहेको वन तथा वातावरण मन्त्रालयले जनाएको छ । भिरालो तथा नदी किनारका खाली जग्गामा पनि वृक्षारोपण हुनेछ ।
महाअभियानका क्रममा नेपालको पूर्ण जनसंख्या अनुसार ‘एक व्यक्ति एक बिरुवा पर्नेगरी हरेक वर्ष तीन करोड बिरुवा रोप्ने लक्ष्य राखिएको छ । यो हिसाबले २० वर्षमा ६० करोड बिरुवा रोपिने जनाइएको छ ।
यसले नेपाल सरकारले लिएको जैविक विविधता संरक्षण, हिमाल संरक्षण र कार्बन उत्सर्जन कम गर्ने नीतिलाई सघाउने बताइएको छ । सरकारले वैश्विक रूपमा जलवायु परिवर्तनको असर कम गर्न सन् २०२५ सम्म शून्य कार्बन उत्सर्जनको लक्ष्य लिएको छ । यो लक्ष्य प्राप्त गर्न यस महाअभियानले सघाउने अपेक्षा गरिएको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप