काठमाडौं– काठमाडौंमा राष्ट्रिय युवा महोत्सव हुने भएको छ । १२ कक्षा पास गरेका युवाहरुलाई लक्षित गरी आगामी असार २८ गते काठमाडौंको नेपाल एकेडेमी हल, कमलादीमा महोत्सव आयोजना गरिएको हो ।
विदेशतर्फ आकर्षित भइरहेका युवाहरूलाई स्वदेशमै अवसर र सम्भावनाको पहिचान गराउँदै उद्यमशीलता, नेतृत्व विकास र आत्मनिर्भर भविष्यको बाटो देखाउने उद्देश्यले परिवर्तनका लागि युवा नामक संस्थाले महोत्सव आयोजना हो । संस्थामा धादिङको बेनिघाट रोराङ गाउँपालिकाका विशेष सिलवाल लगायतको युवाहरु सक्रिय छन् ।
सिलवालका अनुसार कार्यक्रममा सहभागी विद्यार्थीहरूका लागि प्रवेश निःशुल्क गरिएको छ। उनीहरूले प्रेरणादायी सत्रहरू, कार्यशाला, अन्तरक्रिया कार्यक्रम र सांगीतिक प्रस्तुतिहरू अनुभव गर्न सक्नेछन् । महोत्सवमा मानवअधिकारकर्मी अनुराधा कोइराला, व्यवसायी चन्द्र ढकाल, मुटु रोग विशेषज्ञ डा. भगवान कोइराला, अभिनेत्री सुरक्षा पन्त लगायत देशका ख्यातिप्राप्त व्यक्तित्वहरूको प्रस्तुती रहनेछ ।
सांगीतिक तर्फबाट The Elements र Sabin Rai & The Pharaoh ब्यान्डले विशेष प्रस्तुति दिनेछन् । कार्यक्रम बिहान १० बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुनेछ । महोत्सवले युवाहरूलाई विदेशिनुको सट्टा देशमै केही गर्ने आत्मविश्वास दिलाउनेछ । राष्ट्र निर्माणमा सशक्त योगदान गर्न प्रेरित गर्ने आयोजकले विश्वास लिएको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप