काठमाडौं– नेकपा एमालेको नवौँ केन्द्रीय कमिटी बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा फर्कन नमिल्ने निष्कर्ष निकालेको छ ।
राष्ट्रपति जस्तो राष्ट्रको अभिभावकीय पदमा पुगेको व्यक्ति पुनः सक्रिय राजनीतिमा फर्कन नहुने निष्कर्ष निकालेकाे एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द गाैतमले बताए । राष्ट्रपति पद राष्ट्रको अभिभावकीय भूमिका बोकेको संवैधानिक ओहदा भएकाले त्यसपछिको राजनितिक पुन:सक्रियता संस्थागत मर्यादा विपरीत हुने निष्कर्षमा बैठक पुगेको हो। उनले भने- `’राष्ट्र अध्यक्ष जस्ताे उच्च पदमा पुगेकाे व्यक्तिलाई तल ल्याएर काम लगाउने कुरा उहाँ प्रतिकाे पनि अपमान हुनसक्छ भन्ने भावना बैठकमा व्यक्त भयाे ।´
पूर्वराष्ट्रपतिको हकमा भने भोलि जनताले उठाउन सक्ने प्रश्न, प्रणाली माथि उठ्न सक्ने प्रश्नलाई रोक्न पार्टीको सक्रिय राजनीतिमा आउन हुँदैन भन्ने निष्कर्षमा पुगेको उनले बताए । `राष्ट्रपति जस्तो गरिमामय पदमा पुगेको व्यक्ति कुनै पार्टीको झण्डा बोकेर हिँड्नु हुँदैन भन्ने निर्णयमा पुगिएको हो । यो एमालेको मात्र विषय नभएर सबै पार्टीको लागि गम्भीरताको विषय हो । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी प्रति पार्टीले गर्ने सम्मानमा कुनै कमी हुँदैन´ उनले भने । विद्या भण्डारी अब कमरेड विद्या भण्डारी नभएर सम्माननीय पूर्वराष्ट्रपति रहेकाले यो गरिमामय जोगाइराख्नु पर्ने धारणा व्यक्त गरे ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भने आफू सक्रिय राजनीतिमा आइसकेकाले अब नरोकिने बताएकी छिन् । एमाले केन्द्रीय कमिटीका अधिकांश सदस्यले पूर्वराष्ट्रपति राजनीतिमा आउनै नहुने तर्क गरिरहेका बेला उनले राजनीतिमा आउन नरोकिने बताएकी हुन् ।
पुर्व राष्ट्रपति विद्यादेवी भण्डारीले पार्टीको सक्रिय राजनीतिमा फर्कने निर्णय गरेपछि यो विषयमा बहस सुरु भएको थियो । बैठकले ७० वर्षको उमेर हद र दुई कार्यकालको सीमालाई पनि हटाएर ओलीलाई पार्टी अध्यक्ष बन्ने बाटो खुल्ला गरिदिएको छ । यो निर्णय भदौमा हुने विधान अधिवेशनले पास गरेपछि वैधता पाउने छ ।
पार्टीको सचिवालय, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठकमा बोल्ने अधिकांश नेताहरूले पार्टीको अबको ध्यान मिसन २०८४ मा जानु पर्ने बताएका छन् । पार्टी केन्द्रीय कमिटीको औपचारिक निर्णय सार्वजनिक हुन भने बाँकी रहेको छ ।
`७० वर्षको उमेरहद र दुई कार्यकाल हटाएर एमालेका वर्तमान अध्यक्ष केपी शर्मा ओलीलाई पुनः अध्यक्ष हुनबाट रोक्न नचाहेको हो । तर योग्यता पुगेका पार्टीका नेताहरू अध्यक्षको प्रतिस्पर्धामा आउन सक्ने छन्´ उनले भने ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप