कुनै पनि पार्टीलाई एकल बहुमत ल्याउन गाह्रो छ: कांग्रेस सभापति देउवा

  • २०८२ श्रावण ८, बिहिबार (१ दिन अघि)
  • १०० पटक पढिएको
कुनै पनि पार्टीलाई एकल बहुमत ल्याउन गाह्रो छ: कांग्रेस सभापति देउवा

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचनसम्बन्धी व्यवस्थाका कारण नेपालका कुनै पनि पार्टीले एकल बहुमत ल्याउन मुस्किल रहेको बताएका छन् ।

संविधानमा भएको समावेशी र समानुपातिक प्रणालीकै कारण कुनै पनि पार्टीले एकल बहुमत ल्याउन नसक्ने बताएका हुन् ।

नेपाली कांग्रेस धादिङका पुर्व सभापति स्वर्गीय भरत प्रसाद उप्रेतीको १३औं दिनको तिथिमा धादिङको धुनिवेशी नगरपालिका–७ नौविसेमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै देउवाले यस्तो बताएका हुन् ।

‘अहिलेको संविधान राम्रो, समावेशी र समानुपातिक छ । संविधानमा सबै जातिहरूको प्रतिनिधत्व भएको छ । एक्लै कुनै पनि पार्टीले बहुमत ल्याउन निकै गाह्रो छ । बहुमत ल्याउने वातावरण बनाउनका निम्ति गुटको अन्त्य गरि पार्टी एकता जरुरी छ’ उनले भने ।

नेपाली कांग्रेसले केही सुधार र प्रयास गर्ने हो भने बहुमत ल्याउन सकिने उनले बताए ।  ‘जनताका हितमा काम गर्नुपर्छ । गुटको अन्त्य गरि पार्टी एक हुनु पर्छ । त्यति गरे नेपाली कांग्रेसले बहुमत ल्याउन सक्छ’ उनले भने ।

त्यस्तै, कांग्रेसका उपसभापति धनराज गुरुङले निर्वाचनमा टिकट नपाए आफ्नै नेतालाई हराइदिने पार्टीभित्रको रोगको अन्त्य गर्न जरूरी रहेको बताएका छन् ।  स्वच्छ प्रतिस्पर्धा हुनुपर्नेमा प्रतिशोधको भावनाले पार्टी कमजोर मात्रै बन्ने उनको भनाई छ ।

कांग्रेस केन्द्रीय सदस्य गोपालमान श्रेष्ठ, सशांक कोइराला लगायत केन्द्रिय नेताहरु र धादिङ जिल्ला सभापति एवं कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी, पुर्व सभापति रमेश धमलासहित नेताहरुले श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै स्वर्गीय नेता उप्रेतीका विगतका संघर्ष तथा त्यागको स्मरण गर्दै प्रशंसा गरेका थिए ।

वि.स.१९८५ सालमा धादिङको नौबिसेमा जन्मिनुभएका कांग्रेस नेता उप्रेतीको ९७ वर्षको उमेरमा २०८२ असार २८ गते काठमाडौको सिभिल अस्पतालमा उपचारको क्रममा निधन भएको थियो । धादिङको धुनिवेशी नगरपालिका–७ नौविसेमा उप्रेतीको विहीबार श्रद्धाञ्जली सभा गरिएको हो ।

 

Advertisement

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट