धादिङ– लायन्स क्लब अफ धादिङ नीलकण्ठद्वारा पशुपति माध्यामिक विद्यालयमा तीन दिने हस्तलेखन प्रशिक्षण तालिम गरिएको छ । शिक्षा क्षेत्रमा सशक्त भूमिका निर्वाह गर्दै आइरहेको लायन्स क्लब अफ धादिङ नीलकण्ठले विद्यार्थीको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको हो ।
धादिङको नीलकण्ठ नगरपालिका–१२ मा अवस्थित पशुपति माध्यामिक विद्यालयमा सञ्चालित प्रशिक्षण तालिम आज एक कार्यक्रमका विच सम्पन्न भएको हो । क्लवका अध्यक्ष नारायणकुमार श्रेष्ठले विद्यार्थीहरुको क्षमता अभिवृद्धि गर्न तालिम आयोजना गरिएको बताए । क्लवले विभिन्न खालका सामाजिक कार्य गर्दै आएको उनको भनाई छ ।
नीलकण्ठ नगरपालिका-१२ का वडा अध्यक्ष धर्मराज भण्डारी(राजकुमार)ले यस्ता तालिमले शिक्षा सुधारमा सकारात्मक प्रभाव पार्ने बताए । “विद्यालयमा यति महत्त्वपूर्ण तालिम सञ्चालन गर्नु क्लबको सामाजिक उत्तरदायित्वप्रति जागरूकता र शिक्षा प्रतिको समर्पणको स्पष्ट उदाहरण हो” उनले भने ।
विद्यालयका प्रधानाध्यापक नारायण भण्डारीले शिक्षा क्षेत्रमा टेवा र्पुयाउने यस्ता कार्यक्रमले विद्यालयलाई मात्र होइन, विद्यार्थीको भविष्यलाई सकारात्मक प्रभाव पार्ने बताए । उनले भने- `क्लबले यो कार्यक्रम विद्यालयलाई दिएर हाम्रो शैक्षिक यात्रामा साथ दिएको छ, जुन हामीलाई सदैव सम्झना रहनेछ ।”
लायन ईश्वर कुमार श्रेष्ठले हस्तलेखन जस्तो आधारभूत तर महत्त्वपूर्ण पक्षप्रति ध्यान दिनु अत्यावश्यक रहेको बताए । विद्यार्थीमा अनुशासन, ध्यान केन्द्रित गर्ने क्षमता र शैक्षिक गुणस्तर विकासमा सहयोगसङ्गै क्लब र विद्यालयबीचको सहकार्यलाई सकारात्मक शिक्षाशैलीको सुरुवात हुने बताए ।
तालिम समापन समारोहकै बिच क्लवका उपाध्यक्ष पोषनाथ अधिकारीले लायन्स क्लबको उद्देश्य, विश्वव्यापी सेवा अभियान, र समुदायमा शिक्षा, स्वास्थ्य तथा सामाजिक चेतनाका क्षेत्रमा निरन्तर भइरहेको योगदानबारे प्रकाश पारे । उनले लायन्स क्लब एक अन्तर्राष्ट्रिय सेवा संस्था भएको र सेवा गर्ने मूल मन्त्रका साथ विश्वभर लाखौं स्वयंसेवक मार्फत समाज सेवामा समर्पित रहेको उल्लेख गर्दै नेपालमा पनि यस क्लबको विभिन्न शाखाहरूले शिक्षा, स्वास्थ्य, दृष्टि सुधार, वातावरण संरक्षण, युवा विकास लगायतका क्षेत्रमा उल्लेखनीय काम गर्दै आएको बताए । “हामी केवल सेवा गर्दैछौं भन्ने होइन, समाजलाई सकारात्मक दिशातर्फ उन्मुख बनाउने प्रयास गर्दैछौं,” उनले भने ।
लायन्स क्लव अफ धादिङ नीलकण्ठले विगतदेखि नै रक्तदान, आँखा परीक्षण, शिक्षा सामग्री वितरण, वृक्षारोपण, नेतृत्व विकास तालिमजस्ता विविध कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
कार्यक्रममा क्लबका सचिव सरणकुमार श्रेष्ठ, सदस्य जीवन श्रेष्ठ, विद्यालयका शिक्षक, कर्मचारी, तथा विद्यार्थीहरुको सक्रिय सहभागीता रहेको थियो ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप