काठमाडौं– बागमती प्रदेश सरकारको मूख्यमन्त्रीमा इन्द्रबहादुर बानियाँ नियुक्त भएका छन् । प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले बानियाँलाई आज मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
नेपाली कांग्रेस बागमती प्रदेश समिति सभापतिसमेत रहेका बानियाँ बागमती प्रदेशको छैठौं मुख्यमन्त्री हुन् । नवनियुक्त मूख्यमन्त्रीको सपथ ग्रहण कार्यक्रम आज अपरान्ह ४ वजे तय भएको छ । मूख्यमन्त्रीको सपथ ग्रहण कार्यक्रमपछि मात्रै अन्य विभागीय मन्त्रीहरुको प्रक्रिया अघि बढ्ने मन्त्रालयले जनाएको छ ।
बानियाँ भन्दा अगाडि पाँच जना डोरमणि पौडेल, अष्टलक्ष्मी शाक्य, राजेन्द्रप्रसाद पाण्डे, शालिकराम जम्कट्टेल र बहादुरसिंह लामा बागमती प्रदेशको मुख्यमन्त्री बनिसकेका छन् ।
बानियाँ ११० सदस्यीय प्रदेशसभामा नेपाली कांग्रेसको ३७ र नेकपा एमालेको २७ गरी कुल ६४ जना सांसदको समर्थनमा मुख्यमन्त्री बनेका छन् । साउन १३ गते अविश्वासको प्रस्तावमाथि मतविभाजन हुँदा अविश्वास प्रस्तावको पक्षमा २२ र विपक्षमा १५ मत परेपछि बहादुर सिं लामाले दल नेताको हैसियत गुमाएका थिए । साउन १४ गते दलको नेता चयनका लागि भएको निर्वाचनमा लामालाई हराएपछि बानियाँको मुख्यमन्त्रीको बाटो खुलेको थियो ।
कुनै पनि दलले बहुमत नपाएका कारण धारा १६८ को उपधारा २ बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त गर्नुपर्ने संवैधानिक व्यवस्था छ । बागमती प्रदेशमा एक वर्षअघि सरकार गठन हुँदा एमाले र कांग्रेसबीच २०–२० महिना सरकारको नेतृत्व गर्ने सहमति भएको थियो । अब बानियाँको ८ महिना सरकारको नेतृत्वपछि एमालेलाई हस्तान्तरण गर्नुपर्नेछ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप