काठमाडौं- जिल्ला सदरमुकाम धादिङबेसीबाट साउन २५ गते आइतबारदेखि हराइरहेका ज्वालामुखी गाउँपालिका–४ का १२ बर्षिय बालक अंकित श्रेष्ठ अझै वेपत्ता छन् ।
करिव दिउँसो २ वजे पौडी खेल्ने क्रममा अंकितलाई अरुङ खोलाले बगाएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक सुवास हमालले बताए । ‘वेपत्ता भएको खवर पाउने वित्तिकै खोजी कार्य सुरु गरिएको छ । नेपाल प्रहरी, शसस्त्र प्रहरी, जनपथ प्रहरी, स्थानीयको सहयोगमा खोजी कार्य भइ रहेको छ’ उनले भने– ‘बगाएको आशंका भएको अरुङ खोला आसपासदेखि थोपलको बुङचुङसम्म खोजी कार्य गरि सकेका छौं । आज वुङचुङबाट त्रिशुली जोडिएको ठाउँसम्म खोजी कार्य गर्दैछौं ।’
अंकितसँगै पौडी खेल्न गएका उनका ७ जना साथीहरुसँग सोधपुछ भइ रहेको प्रहरी नायव उपरीक्षक हमालले बताए । हमालका अनुसार सँगै गएका साथीहरुसँग सोधपुछ गरिरहेका छौं । उनका साथीहरुले पौडी खेल्न गएको समयमा विजुलीको झट्का लागेर खोलामा खसेर बगाएको बताएका छन् । ठूला मानिसहरुले भेट्ने गरि झोलिएको भएपनि साना ती बालकहरुले विजुलीको तार भेट्ने अवस्थामा छैन । तर उनका साथीहरुका भनाई अनुसार विजुलीको झट्का लागेपछि खोलाले बगाएको हुन सक्ने आशंका रहेको उनले बताए ।
ज्वालामुखी स्थायी घर भएका अंकित नीलकण्ठ नगरपालिका–३ पहरेचौतारामा बस्दै आएका थिए । आइतबार गाइजात्राको सार्वजनिक विदा भएको र साथीहरुसंग अरुङ खोलामा नुहाउन गएको बेला त्यहीबाट हराएको उनका आफन्तले जनाएको छ । साँझसम्म अंकित परिवारको सम्पर्कमा नआएपछि परिवारले खोजी गरेको थियो । धादिङवेशी बजारको सीसीटिभी फुटेजमा अंकित बीचबजार चोकतिर साथीहरुसंग हिडिरहेको देखिएको थियो ।
थोपालखोला हुदै त्रिशुली किनारका सवै प्रहरी युनिटहरुमा पनि बालकको हुलिया सहित खोजी कार्यको लागि सूचना जारी गरिएको र घटनाको विषयमा अनुसन्धान समेत सुरु गरिएको प्रहरी नायव उपरीक्षक हमालले जानकारी दिए ।
अंकित र उनीहरुका साथीहरुले पौडी खेलेको ठाउँ हालको जिल्ला कारागार भवन पछाडी अरुङ खोलाछेउमा विद्युतको तार झोल्लिएको अवस्थामा रहेको छ ।
साथीहरुको भनाईलाई कोड गर्दै छिमेकी तथा आफन्तहरुले विद्युत प्राधिकरणको लापरबाहीका कारण अंकित वेपत्ता भएको आरोप लगाएका छन् । खोला छेउमा लत्रिएको तारबाट करेन्ट लागेर अंकित खोलामा ढलेपछि मात्रै खोलाले बगाएको उनीहरुको दावी छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप