काठमाडौं– धादिङको ज्वालामुखी गाउँपालिका–४ का १२ वर्षीय अंकित श्रेष्ठ साउन २५ गते आइतबारदेखि वेपत्ता भएका छन् । धादिङबेसीस्थित अरुङ खोलामा पौडी खेल्ने क्रममा वेपत्ता भएका अंकितको खोजी कार्य भइ रहेपनि अझै पत्ता लागेको छैन । उनका परिवार र आफन्तहरुले विजुलीको तारमा करेन्ट लागेपछि खोलामा खसेर वेपत्ता भएको दाबी गरेका छन् ।
विद्युत प्राधिकरणको लापरवाहीले करेन्ट लागेर छोरा वेपत्ता बन्न पुगेको अंकितका बुबा शिव श्रेष्ठले बताए । ‘खोला किनारमै तार खोलाको ढुंगालाई छुने गरि लत्रिएको थियो । घटना घटुन्जलेपनि विजुलीको तार लत्रिरहेको थियो । अहिले तार उचालिएको छ । विद्युत प्राधिकरणको लापरवाहिले नै घटना घटेको हो’ उनले भने ।
छोरासँगै खोलामा गएको उनका साथीहरुसँग सोध्दा करेन्ट लागेर अंकित खोलामा ढलेको साथीहरुले बताएको शिवले बताए । उनले भने– ‘करेन्टले छोरा खोलामा ढलेको उनका साथीहरुले बताएका छन् । अहिले माग र क्षतिपूर्तिको कुरा उठिरहेको छ । मेरो पहिलो माग मेरो छोरा अंकित हो । मेरो छोराको सकुशल उद्धार गर्न सकुँ । भगवानसँग मेरो प्रार्थना छ ।’
विद्युतको लापरबाहिले करेन्ट लागेर अंकित वेपत्ता भएको स्थानीय सुर्य श्रेष्ठले दावी गरे । ‘ठूलो क्षति नभई विद्युत प्राधिकरणले सामान्य मर्मत समेत नगर्दा निम्त्याएको यो ठूलो क्षति हो । प्राधिकरणको लापरबाहिले यस्ता थुप्रै घटनाहरु घटिरहेका छन् । विद्युत प्राधिकरणको आडैमा रहेको खोलाको ढुंगामा छुने गरि तार लत्रिदा पनि प्राधिकरणले देख्दैन’ उनले भने– ‘करेन्ट लागेर खोलामा खसेपछि अंकित वेपत्ता भयो । खोजी कार्य हुन थालेपछि प्राधिकरणले आएर तार तन्कायो । पहिले नै किन देखेन र गरेन । आगामी दिनमा यस्तो गल्ति कहीकतै देख्न नपरोस्, प्राधिकरणलाई हामी पीडितको सुझाव छ ।’
घटनापछि आफन्त र छिमेकीहरूले नेपाल विद्युत प्राधिकरणको कारणले बालकको ज्यान संकटमा परेको भन्दै आक्रोश व्यक्त गरेका छन् । ठूलो भीड घटनास्थल पुगेका पीडितले विद्युत प्राधिकरणलाई क्षतिपूर्तिको मागसँगै आगामी दिनमा यस्ता घटना नदोहोरिउन भनेर सुझाव दिएका छन् ।
वेपत्ता भएका अंकितको खोजी कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक सुवास हमालले बताए । गोताखोरसहितको टोलीले अरुङ खोला र थोपल खोला पुरै खोजी गर्याैं । तर अहिलेसम्म पत्ता लागेको छैन’ उनले भने– ‘अब फेरी एक पटक दोहो¥याएर अरुङ खोला र थोपल खोलामा खोजी कार्य गर्छाैं । तिव्र रुपमा खोजी कार्य भई रहेको छ ।’
‘अंकितसँगै पौडी खेल्न गएका सात जना साथीहरुसँग सोधपुछ गरेका थियौं । उनीहरुले पनि करेन्टको झट्काले अंकित खोलामा खसेको बताएका छन् । साना बालबालिकाले त नभेट्नु पर्ने हो । तर १०/१२ वर्षमा अलि हाइट भएकाहरुले चाँहि भट्ने गरि नै लत्रिएको थियो । अनुसन्धान र खोजी कार्य दुवै भई रहेको छ’ प्रहरी नायव उपरीक्षक हमालले भने ।
घटनापछि विद्युत प्राधिकरणले लत्रिएको तार तन्काएको छ । शुक्रबार आएको बाढीले पोल नजिकै राखिएको स्टे सेट बगाएर तार झोल्लिएको धादिङ वितरण केन्द्र नेपाल विद्युत प्राधिकरणका प्रमुख सुधिर रायले बताए । ‘हामीले मर्मतका कामहरु त गरिरहेका छौं । शुक्रबारको बाढीले पु¥याएको क्षतिले झोल्लिएको तार मर्मत गर्न भ्याएका थिएनौं । घटना बारे माथिल्लो निकायमा जानकारी गरिसकेका छौं । प्रहरीको मुचुल्का र खोज अनुसन्धानपछि मात्रै थप कुराहरु अघि बढ्नेछन्’ उनले भने ।
ज्वालामुखी गाउँपालिका–४ स्थायी घर भएका अंकित नीलकण्ठ नगरपालिका–३ पहरेचौतारामा बुबा आमासँग बस्दै आएका थिए । आइतबार गाइजात्राको सार्वजनिक बिदाको दिन साथीहरूसँग नुहाउन गएका बेलादेखि वेपत्ता भएका हुन् ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप