धादिङ– धादिङको श्रोत परिचालन बचत तथा ऋण सहकारी संस्था लिमिटेड सम्मानित भएको छ । नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लिमिटेड (नेफ्स्कुन) को ३८औं स्थापना दिवसको अवसरमा उत्कृष्ट साकोसको रुपमा सम्मानित भएको हो ।
कर्मचारी, शेयर सदस्य तथा बोर्डका सम्पूर्ण टिमको साथ सहयोगले सहकारीलाई यो सम्मान मिलेको श्रोत परिचालन बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष रुद्र बहादुर खत्रीले बताए । ‘यो सहकारी संस्थाले सदस्यहरूलाई बचत गर्न प्रेरित गर्ने र संकलित बचतलाई उत्पादनशील क्षेत्रमा लगानी गर्दै ऋण सुविधा उपलब्ध गराउदै आएको छ । यसरी सदस्यहरूको जीवनस्तर उकास्न, आत्मनिर्भर बनाउन र आर्थिक गतिविधिलाई सबल बनाउन सहकारीले गरेको योगदानको यो प्रतिफल हो’ उनले भने ।
नेपालको उत्कृष्ट सहकारी बन्ने परिकल्पना सहित विक्रम संम्बत् २०५४ साल कार्तिक १२ गते २६ जना सस्थापक सदस्यहरुद्वारा स्थापना भएको उनले बताए । श्रोत परिचालन साकोस ७६७४ जना शेयर सदस्यलाई २ वटा सेवा केन्द्र मार्फत वित्तिय तथा गैर वित्तिय सेवा प्रदान गर्दै ७० करोड ८२ लाख कुल वासलात सहित संचालित धादिङ जिल्लाको अब्बल र सुरक्षित बचत तथा ऋण सहकारी संस्था रहेको उनको भनाई छ ।
श्रोत परिचालन बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ग्रामीणदेखि शहरी स्तरसम्म सदस्यहरूलाई आर्थिक रूपले सबल बनाउने, बैंकिङ पहुँच नपुगेका स्थानमा वित्तीय सेवा पुर्याउने, आपसी सहयोग तथा साझेदारीको भावनालाई मजबुत बनाउने काम गर्दै आएको प्रमुख कार्यकारी अधिकृत दयानिधि नेपालले बताए । त्यस्तै, सदस्यहरूको साना–ठूला बचत संकलन गर्ने, आवश्यकता अनुसार ऋण प्रवाह गरी तिनलाई व्यवसाय, शिक्षा, स्वास्थ्य वा व्यक्तिगत प्रयोजनमा उपयोग गर्ने वातावरण बनाउने, उत्पादनशील क्षेत्रमा लगानी गरी आयआर्जन गर्ने अवसर सिर्जना गर्ने, सहकारी मूल्य र सिद्धान्त अनुसार पारदर्शी व्यवस्थापन र साझा लाभमा जोड दिदै आएको उनले बताए ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप