धादिङ– नेपाल शिक्षक महासंघले देशव्यापी आन्दोलन सुरु गरेको छ । विद्यालय शिक्षा विधेयक २०८० मा आफ्ना मागहरू सम्बोधन नभएको भन्दै महासंघले धादिङको १३ वटै स्थानीय तहमा ध्यानाकषर्ण पत्र बुझाएको हो ।
सरकारले आफ्ना मागहरु सम्बोधन नगरेको भन्दै शिक्षकहरुले आन्दोलन अन्तर्गत धर्ना अभियान समेत संचालन गरेका छन् । नेपाल शिक्षक महासंघले विद्यालय शिक्षा विधेयकले शिक्षकको सेवा–सुविधा, स्थायित्व र अधिकार कमजोर बनाएको जनाएको छ । गत वैशाखमा एक महिनासम्म चलेको शिक्षक आन्दोलन ९ बुँदे सहमतिपछि स्थगित भएको थियो । तर भदौ ६ मा प्रतिनिधिसभामा पेस भएको विधेयकमा ती सहमति कार्यान्वयन नभएको भन्दै महासंघ पुनः आन्दोलनमा होमिएको नेपाल शिक्षक संघ धादिङको सहसचिव नवराज सापकोटाले बताउनुभयो ।
महासंघले २०७५, २०७८, २०८० र २०८१/८२ मा सरकारसँग भएका सहमति लागू गर्न, अस्थायी शिक्षकका लागि ७५ प्रतिशत आन्तरिक र २५ प्रतिशत खुला पदपूर्ति (हालको ६०%–४०% को सट्टा), आवधिक बढुवा, म्याद सकिएको अध्यापन अनुमतिपत्र नवीकरण, विद्यालय कर्मचारीको तलब र पद, बालकक्षा शिक्षकको सेवा, संस्थागत विद्यालयका शिक्षकको सुरक्षा, द्वन्द्वपीडित शिक्षकको उपदान र शिक्षक दरबन्दी स्थानीय तहमा हस्तान्तरणको विरोध गरेका छन् ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप