काठमाडौं– सूचीकरणका लागि सम्पर्कमा नआएका सामाजिक सञ्जालमाथि सरकारले प्रतिबन्ध लगाउने भएको छ । आज राती १२ वजे सात दिनको समयसिमा सकिनेछ । तर फेसबुक, युट्युब, ह्वाट्सएप, इन्स्टा, लिंक्डइन लगायतका प्लेटफर्म सूचीकरण भएको छैन ।
बुधबारसम्म पाँच ओटा सामाजिक सञ्जाल मात्रै सूचीकृत भएका छन् । अहिलेसम्म टिकटक, भाइबर, निम्बज, विटक र पोपो लाइभ मात्रै सूचीकृत भएका छन् । टिकटकमाथि सरकारले प्रतिबन्ध लगाएपछि मात्रै सूचीकरण गर्न आएको थियो । यस्तै, टेलिग्राममाथि प्रतिबन्ध लागेपछि उसले पनि सूचीकरणका लागि ईमेलमार्फत सञ्चार मन्त्रालयमा निवेदन दर्ता गराइसकेको छ । टेलिग्रामले बुझाएका कागजात अध्ययनकै क्रममा रहेको छ ।
सूचीकरण नगर्ने सामाजिक सञ्जाललाई कसरी बन्द गराउने भन्ने विषयमा अहिले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा मन्त्रीस्तरीय छलफल चलिरहेको छ ।
फेसबुक सञ्चालक संस्था मेटाले नेपालको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग कम्पनी दर्ताका लागि आवश्यक कागजातको विवरण माग गरेको छ । मन्त्रालयका सहसचिव एवं प्रवक्ता गजेन्द्रकुमार ठाकुरका अनुसार मेटाका प्रतिनिधिले सञ्चार तथा सूचना प्रविधि मन्त्रीका विज्ञ सल्लाहकार शालिकराम पराजुलीलाई इमेल गरेर कागजातको विवरण माग गरेका हुन् ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप