पहिरोका कारण ३६ घण्टादेखि नारायणगढ मुग्लिन सडक ठप्प

पहिरोका कारण ३६ घण्टादेखि नारायणगढ मुग्लिन सडक ठप्प

काठमाडौं–  पहाडको खोच, अनकन्टार भिरबाट निरन्तर खसिरहरेको डरलाग्दो सुख्खा पहिरो । पहिरो पन्छाइ रहेका एक्साभेटर तथा पहिरो छिचोल्न कुरिरहेका हजारौं यात्रु तथा सवारी साधनको लर्काे । यो दृश्य चितवनको इच्छाकामना गाउँपालिका–६ तुईन खोला पुल नजिकै हो । लामो जाम निकै सास्ती खेपेका यात्रुहरु भन्छन्– ‘जोखिममा सडकको बास, पखाईमै बित्यो सडक खुल्ने आश ।’

शुक्रबार साँझ ६ः२५ वजेबाट निरन्तर झरेको पहिरोले अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडक अझै ठप्प छ । हजारौ यात्रुहरुको अवस्था सडकमा विजोक छन् । न गन्तव्यमा पुग्ने ठेगान छ, न गाँस र बास । धेरैलाई यो सास्तीबाट ज्यान जोगाउन ठूलै युद्ध जित्नु पर्ने बराबर बनेको छ । शुक्रबार करिव ८ वजे ग१३प २१६० नम्बरको स्कुटर लिएर चितवनबाट दमौली हिडेका रविन पहिरोमा परे । उनको स्कुटर पहिरोले पुरिएपनि भाग्यवश लड्दैपड्दै उनीले ज्यान जोगाउन सफल भए ।  निरन्तर खसिरहेको पहिरोबाट मुस्किलले ज्यान जोगाएका रविन भन्छन्– ‘अरुको कुरा सुन्दा कस्सो ज्यान गएन । धन्न बाँचियो ।’

रविन जस्तै नारायणगढ–मुग्लिन सडक भएर यात्रा गर्ने हजारौं यात्रुहरु सडकमै छन् । पहिरो पन्छाउन नसकेपछि अलपत्र परेका यात्रुहरु चिसो पिचमा कष्टकर दैनिकी गुजारिरहेका छन् । मुग्लिनका जेनिश श्रेष्ठ घर नजिकै पहिरोमा थुनिए । विरगञ्जबाट मुग्लिन आउदै गरेका उनलाई न फर्कनु न त पहिरो पन्छिने समय कुनु बनेको छ । ‘एकैछिनमा घर पुग्ने थिएँ । तर पहिरोका कारण दुई दिनदेखि जाममा परेँ । थुप्रै यात्रुहरु गाँस, बास विना बाटो खुल्ने दिनको पर्खाइमा चिसो सडकमा रात विताउन बाध्य छन् । पहिरोबाट बचेको ज्यान चिसो पिच र भोकले नलैजाओस्’ उनले भने ।

शुक्रबारदेखि जाममा परेर पोखराको बाटो हुदै दाङबाट आएका सागर तामाङ मुग्लिनमा भेटिए । दुई दिन देखि पहिरोले अवरुद्ध सडक खुलाउन नसकेकोमा उनले आक्रोस व्यक्त गरे । ‘आन्दोलनका समयमा एकाएक मानिसहरु थुप्रिन्छन् । तर हजारौ यात्रु समस्याको महासागरमा हुदाँ समेत खै त जुटेको । अझै हजारौ यात्रु जाममै छन् । कतिदिनसम्म जाममा बस्ने, यस्तो कुरामा कसले चासो दिन्छ?’ उनले प्रश्न ते¥र्याए ।

शुक्रबार साँझ ६ः१५ वजेदेखि निरन्तर पहिरो झरेका कारण अवरुद्ध सडक खुलाउन समस्या भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक रविन्द्र खनाल बताउँछन् । ‘पहिरो रोकिएको समयमा सडकमा झरेको पहिरो पन्छाउने काम भइ रहेको छ । तर सडक माथिबाट पहिरिने क्रम नरोकिदा अवरुद्ध राजमार्ग खुलाउन सकिएको छैन’ उनले भने– ‘शुक्रबार पहिरो खसेदेखि हामी बाटो खुलाउने प्रयासमा जुटेका छौं । एक्सभेटरहरुको प्रयोग गरिरहेका छौं । तर शनिबार पनि अवरुद्ध सडक सुचारु गर्न सकिएन ।’

‘पहिरो खसेर नारायणगढ मुग्लिन सडक अवरुद्ध बनेपछि हजारौं यात्रुहरु सडक र आसपास होटलहरुमा बसेका छन् । सकेसम्म छिटो बाटा खुलाउने हाम्रो प्रयास हो’ उनले भने– ‘पहिरो निरन्तर खसिरहेका कारण बाटो खुलाउन सकिएन । सुरक्षा र बासस्थानको जोहो गर्न हामीले सबैलाई आग्रह गरेका छौं ।’

जाममा परेका यात्रुहरुलाई विभिन्न संघ संस्था होटल व्यवसायीहरुले खाजा स्वरुप विस्कुट, फ्रुटी, चाउचाउ, पानी लगायत खाद्यान्न सामाग्रीहरु दिएर सहयोग गरेका छन् । दिनमा चर्काे घाम, रातमा चिसो पिच सडकमा रहेका यात्रुहरुलाई स्थानीय तथा व्यवसायीहरुले सहयोग गरेका हुन् ।

 

पहिरो थप नथपिए आज दिउँसो सडक सूचारु हुन्छ– योजना प्रमुख नेपाल

पहिरो थप नथपिए आज आइतबार दिउँसोसम्म अवरुद्ध सडक सूचारु हुने नागढुंगा मुग्लिन सडक योजना (पश्चिम खण्ड) का योजना प्रमुख केदार नेपालले बताए । ‘निरन्तर खसेको पहिरोले अवरुद्ध सडक खुलाउने निरन्तर प्रयासमा छौं । पहिरो खसिरहेका कारण एक्साभेटरले पनि निरन्तर रुपमा काम गर्न सकेको छैन’ उनले भने– ‘शनिवार साँझ करिव ७ वजेसम्मै काम ग¥यौ । रातको समयमा काम गर्दा एक्साभेटरमा ढुंगा खस्न थालेपछि काम रोकेका हौं । आइतबार विहानैबाट पहिरो पन्छाउने काम सुरु गर्छाै । दुई तिहार्ई पहिरो हटाइ सकिएको छ । थप पहिरो थपियो भने भन्न सकिन्न । तर थप पहिरो खसेर समस्या भएन भने आइतबार दिउँसोबाट अवरुद्ध सडक सुचारु हुन्छ ।’

Advertisement

 

यस्तो छ वैकल्पिक बाटो

पहिरोले नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएपछि यात्रुहरुले वैकल्पिक बाटोको खोजी गर्न थालेका छन् । नागढुंगा मुग्लिन सडक योजना (पश्चिम खण्ड) का योजना प्रमुख केदार नेपालले लामो दुरिको यात्रा गर्दै गरेका यात्रुहरुलाई वैकल्पिक बाटोको प्रयोग गर्न आग्रह गरेका छन् ।

प्रदेश राजधानी हेटौडा र चितवन भएर संघीय राजधानी काठमाडौं आवतजावत गर्ने यात्रुहरुले नौविसेबाट दामन हुदैँ त्रिभुवन राजपथ प्रयोग गर्न सक्नेछन् । अर्काे दक्षिणकाली र कुलेखानीको बाटो प्रयोग गर्न सकिने पनि योजना प्रमुख नेपालले बताए ।

त्यस्तै, नारायणघाटबाट पश्चिम, तराई, बुटवल जाने सवारीहरु तनहुँको भिमाद हुदैं कालीगण्डकी करिडोर हुदै गैडाकोटको बाटो प्रयोग गर्न सकिने उनले बताए । तनहुँ १/२ घण्टामै पुग्न सकिने हुँदा यो बाटो पनि उत्तम रहेको उनको भनाई छ ।

पश्चिमबाट आउने अधिकाशं सवारी साधनहरु बुटवल पाल्पा पोखरा हुदैँ काठमाडौं आवतजावत गरिरहेको प्रहरीले जानकारी दिएको छ ।

लेखकको बारेमा

  • ,

    स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट